डिडिसिको प्रदेशकै पहिलो आउटलेट तिलोत्तमा शुभारभ्भ

दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादन अब तिलोत्तमाको चार नम्बरमा रहेको निजी आउटलेटबाट समेत उपभोक्ताले सहज रूपमा खरिद गर्न पाउने भएका छन । तिलोत्तमा नगरपालिका–८, चार नम्बरमा डिडिसीको अनुमतिमा निजी क्षेत्रको लगानीमा नयां आउटलेट सञ्चालनमा आएको हो ।
आउटलेटको उद्घाटन दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलका लुम्बिनी–गण्डकी प्रदेश बजार व्यवस्थापन प्रमुख अयुव अली खानले गर्नुभयो । आउटलेटमा दूध, दही, मही, आइसक्रिम, पनिर, चिज, घ्यू, रसबरी, नौनी, बटरलगायत विभिन्न दुग्धजन्य उत्पादन उपलब्ध हुनेछन ।
उद्घाटन कार्यक्रममा बजार व्यवस्थापन प्रमुख खानले लुम्बिनी प्रदेशमा निजी क्षेत्रको लगानीमा सञ्चालन भएको यो डिडिसीको पहिलो आउटलेट भएको बताउनुभयो । डिडिसीका उत्पादन ग्रामीण क्षेत्रसम्म पुराउने उद्देश्यले निजी क्षेत्रलाई आउटलेट सञ्चालनको अनुमति दिइएको उहांले बताउनुभयो ।
खानका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा तत्कालै थप आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । बर्दघाट, भूमही, चौराहा, सुख्खानगर, अमरपथ, तिलोत्तमा, योगिकुटी, बुटवल हाटबजार, चन्द्रौटा, लुम्बिनी र भैरहवालगायतका स्थानमा निजी क्षेत्रको लगानीमा आउटलेट विस्तार गरिने उहांले जानकारी दिनुभयो । स्थानीय बजारमा डिडिसीका उत्पादनको पहुंच बढेसंगै उपभोक्ताले सहज रूपमा गुणस्तरीय दुग्धजन्य सामग्री पाउने र किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्नसमेत सहयोग पुग्ने उहांको भनाइ छ ।
डिडिसीले निजी क्षेत्रसंग सहकार्य गरेर बजार विस्तार गर्न थालेपछि युवाहरूलाई समेत व्यवसायमा जोडिने अवसर सिर्जना भएको उहांको भनाइ छ । स्थानीयस्तरमा आउटलेट बढ्दा डिडिसीका उत्पादनको बिक्रीसंगै किसानबाट खरिद हुने दूधको परिमाणसमेत बढाउन सकिने संस्थाको अपेक्षा छ । तिलोत्तमा–८ को चार नम्बरमा सञ्चालनमा आएको आउटलेटमा सञ्चालक सरोज अर्यालले करिब पांच लाख रुपैयां लगानी गर्नुभएको छ ।
आफ्नै ठाउंमा बसेर व्यवसाय गर्ने र युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले आउटलेट सञ्चालनमा ल्याएको अर्यालले बताउनुभयो ।
 डिडिसीका उत्पादनलाई उपभोक्तासम्म सहज रूपमा पुराउन निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने उहांको विश्वास छ । स्थानीय बजारमा गुणस्तरीय दुग्धजन्य पदार्थको माग रहेकाले आउटलेट सञ्चालनबाट उपभोक्ता र उत्पादक दुवैलाई लाभ पुग्ने उहांले बताउनुभयो । कार्यक्रममा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलकी बजार सहायक कल्पना आचार्य लगायतको सहभागिता रहेको थियो । डिडिसीले निजी क्षेत्रसंगको सहकार्यमा आउटलेट विस्तार गर्दै गएमा दुग्धजन्य पदार्थको बजार फराकिलो हुनुका साथै स्थानीय किसानले उत्पादन गरेको दूधको खपत बढ्ने अपेक्षा गरिएको छ ।

© 2026 krishipatra All right reserved