बुटवल, रुपन्देही। नेपाल डेरी एसोसिएसनको तेस्रो केन्द्रीय समिति बैठक लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय सार्वजनिक गरिएको छ।
केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष मेघराज भण्डारी, सल्लाहकार हिरा बहादुर केसी, वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमला, उपाध्यक्षहरू मनोजकुमार घिमिरे, मनोजकुमार यादव र कर्ण बहादुर हमाल दयाराम भण्डारी, महासचिव हेमचन्द्र खनाल, सचिव शिवहरि आचार्य, कोषाध्यक्ष शिव भुसाल, सहसचिव रमेश सन्जेल, लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरे, सुदूरपश्चिम प्रदेश अध्यक्ष भूपेन्द्र थापा, कर्णाली प्रदेश अध्यक्ष प्रेम डीसी, केन्द्रीय सदस्यहरू, लुम्बिनी प्रदेशका पदाधिकारी, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव हेमचन्द्र खनालले गर्नुभएको थियो भने स्वागत मन्तव्य लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले व्यक्त गर्नुभएको थियो। सचिव शिवहरि आचार्यले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो। खुला छलफलमा उठेका जिज्ञासाको जवाफ केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष मनोजकुमार यादव, सल्लाहकार हिरा बहादुर केसी तथा लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले दिनुभएको थियो।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले नेपालको डेरी क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र दीर्घकालीन रूपमा सक्षम बनाउन एसोसिएसनले आगामी पाँच वर्षका लागि स्पष्ट रणनीतिक मार्गचित्र तयार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले डेरी उद्योगलाई उत्पादनमूलक उद्योगका रूपमा स्थापित गर्न विद्युत् महसुलमा सहुलियत, दुग्धजन्य पदार्थमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (VAT) हटाउने, डेरी उद्योगलाई परियोजना (Project) का रूपमा मान्यता दिई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने, स्टकलाई धितो मानी कर्जा उपलब्ध गराउने, उद्योग दर्ता प्रक्रियामा एकरूपता ल्याउने तथा उद्योगी व्यवसायीको मनोबल बढाउने नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाल डेरी एसोसिएसनले अब सातै प्रदेशमा घुम्ती शैलीमा केन्द्रीय समिति बैठक आयोजना गरी स्थानीय स्तरका समस्या प्रत्यक्ष रूपमा बुझ्ने, सम्बन्धित सरोकारवालासँग छलफल गर्ने र समाधानका लागि प्रभावकारी पहल गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो।
सल्लाहकार हिरा बहादुर केसी र पूर्व अध्यक्ष मेघराज भण्डारीले एसोसिएसनले प्रदेशमै पुगेर उद्योगी तथा किसानका समस्या सुन्ने र त्यसका आधारमा साझा धारणा निर्माण गर्ने निर्णय अत्यन्तै सकारात्मक र प्रशंसनीय भएको बताउनुभयो।
महासचिव हेमचन्द्र खनालले नेपाल डेरी एसोसिएसनले हालसम्म सातै प्रदेशअन्तर्गत २८ जिल्लामा संगठन विस्तार गरिसकेको र आगामी दिनमा थप जिल्लाहरूमा संगठन विस्तार गर्दै देशव्यापी सशक्त संगठन निर्माण गरिने जानकारी दिनुभयो।
सचिव शिवहरि आचार्यले तेस्रो केन्द्रीय समिति बैठकबाट पारित निर्णयहरू सार्वजनिक गर्दै आगामी केन्द्रीय समिति बैठक कर्णाली प्रदेशको रारामा आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्तिअनुसार नेपालमा करिब ६ हजार हाराहारी डेरी व्यवसाय सञ्चालनमा रहेका छन्। जसमध्ये करिब ४०० उद्योग औपचारिक रूपमा दर्ता भई लेबलिङ तथा प्याकेजिङसहित सञ्चालनमा छन्। डेरी क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार जनाले रोजगारी पाएका छन् भने करिब ६ लाख किसान परिवार यस व्यवसायमा निर्भर छन्। निजी क्षेत्रबाट ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ भने राज्यलाई वार्षिक करिब २ अर्ब रुपैयाँ राजस्व प्राप्त भइरहेको छ। दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने अनुमान गरिएको छ, जसबाट ग्रामीण अर्थतन्त्रमा दैनिक करिब १० करोड रुपैयाँ नगद प्रवाह भइरहेको एसोसिएसनले जनाएको छ।
एसोसिएसनले दुग्ध क्षेत्रमा पशु बीमाको प्रभावकारी व्यवस्था, औद्योगिक ग्राम स्थापना, चिस्यान तथा संकलन प्रणालीको सुदृढीकरण, विद्युत् महसुलमा सहुलियत, दुग्धजन्य पदार्थमा लाग्दै आएको भ्याट हटाउने, डेरी मेसिन तथा उपकरणमा भन्सार छुट, निर्यात प्रवर्द्धन, उद्योगमैत्री कानुन, एकद्वार दर्ता प्रणाली तथा उत्पादनमुखी अनुदान नीति लागू गर्न सरकारसँग माग गरेको छ।
बैठकले आगामी पाँच वर्षको रणनीतिक योजना निर्माण, नेपाली डेरी उद्योगको गुणस्तर अभिवृद्धि, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमण, संगठन विस्तार र संस्थागत सुदृढीकरण सम्बन्धी विभिन्न निर्णयहरू समेत पारित गरेको छ।
नेपाल डेरी एसोसिएसनले सरकार, किसान, उद्योगी, सहकारी, उपभोक्ता तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै नेपालको दुग्ध क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी उद्योगका रूपमा विकास गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।


















