बुटवल चैत ।- सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका ४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी अभ्यास सुरु गरेको छ ।
यहाँका जेहेन्दार विद्यार्थीले पुरस्कारस्वरूप प्रमाणपत्र मात्र होइन, आर्थिक उपार्जनकालागि सहयोगि हुने भैँसी प्राप्त गर्छन् । यो सुन्दा सुरुमा अचम्म लाग्न सक्छ, तर विद्यालयको यो कार्यक्रमले विद्यार्थीको शैक्षिकस्तर सुधार्नुका साथै धेरै परिवारलाई आयको आधार बनेको छ । कक्षा ११ मा अध्ययनरत शिव कुमार यादव यस वर्ष भैँसी पुरस्कार पाउने विद्यार्थीमध्ये एक हुन् । उनका लागि यो भैँसी केवल उपहार मात्र होइन, उच्च शिक्षाका लागि खर्च जुटाउने एउटा भरपर्दो स्रोत बनेको छ । यो भैँसीबाट हुने आम्दानीले मेरो पढाइ खर्च धान्न ठूलो मद्दत पुग्नेछ, उत्साहित हुँदै शिवले भने । उनीजस्तै अन्य विद्यार्थीहरूमा पनि अहिले पढाइप्रतिको लगाव ह्वात्तै बढेको छ । विद्यालयको यो योजनाले विद्यार्थीमा जिम्मेवारीबोध मात्र गराएको छैन, भविष्यप्रति आशावादीसमेत बनाएको छ । किन रोजियो त भैँसी पुरस्कार ? दक्षिणी रुपन्देहीका अधिकांश परिवारको मुख्य पेसा कृषि र पशुपालन हो ।
आर्थिक अभावकै कारण बीचमै पढाइ छोड्ने दर यहाँको ठूलो चुनौती थियो । विद्यालयका अनुसार, विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान र प्रशंसा मात्र पर्याप्त थिएन, उनीहरूको पढाइलाई निरन्तरता दिने ठोस आधार चाहिएको थियो । हामीले शिक्षालाई जीवन र जीविकोपार्जनसँग जोड्न खोजेका हौँ, विद्यालयका प्रधानाध्यापक केशव पौडेल भन्छन्, भैँसी पुरस्कारले विद्यार्थीलाई पढाइमा टिकाउन र अभिभावकलाई शिक्षाप्रति सकारात्मक बनाउन राम्रो काम गरेको छ ।
यो कार्यक्रम सुरु भएपछि विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आएको छ । आर्थिक कारणले विद्यालय छोड्ने विद्यार्थीहरूको संख्या कम हुँदै गएको छ । भैँसी पाउने लक्ष्य सहित विद्यार्थीहरूबीच कक्षामा उपस्थित हुने र उत्कृष्ट नतिजा ल्याउने प्रतिस्पर्धा बढेको छ । पहिले छोराछोरीलाई खेतबारीको काममा लगाउने अभिभावकहरू अहिले उनीहरूको पढाइमा लगानी र समय दिन थालेका छन् ।
भैँसी पुरस्कार पाउनु त्यति सजिलो भने छैन । विद्यालयले हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्छ । विद्यार्थीहरू समूहगत रूपमा सहभागी हुन्छन् र आफ्नो विश्लेषणात्मक क्षमता प्रदर्शन गर्छन् । उत्कृष्ट हुने पहिलो र दोस्रो समूहका विद्यार्थीलाई भैँसी प्रदान गरिन्छ भने अन्य सहभागीलाई प्रोत्साहित गर्न नगद पुरस्कार दिने व्यवस्था छ ।
यो अभियानलाई सफल बनाउन दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनको संस्थाले सहयोग गर्दै आएको छ । उनको यो निरन्तर सहयोगले नै विद्यालयले अहिलेसम्म ५१ वटा भैँसी वितरण गरिसकेको छ, जसमध्ये यसै वर्ष मात्रै १० वटा वितरण गरिएको छ । यहीँ पुरस्कार वितरण गर्न हरेक वर्ष उम् होङ गिल दक्षिण कोरियाबाट आफ्ना सहयोगी सहित हरेक वर्ष आउने गरेका छन् ।
आफूले सहयोग गरेको पुरस्कार उपयोगी भएको देख्दा उनी दंग छन् । सुण्डी माध्यमिक विद्यालयको यो अभ्यासले एउटा महत्वपूर्ण पाठ सिकाएको छ, शिक्षा जब मानिसको आधारभूत आवश्यकता र आम्दानीसँग जोडिन्छ, तब मात्र त्यसले समाजमा दिगो परिवर्तन ल्याउन सक्छ । यो नमुना कार्यक्रम अन्य ग्रामीण क्षेत्रका विद्यालयहरूका लागि पनि एउटा उत्कृष्ट सिकाइ हुन सक्छ ।
















