रुपन्देही- रुपन्देही मा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत देशभरका २५ जना किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइँदैछ । तालिम ११ गतेसम्म सञ्चालन हुनेछ ।
विकास गरिएका नयाँ गहुँका जात र आधुनिक खेती प्रविधिबारे किसानलाई जानकारी दिने उद्देश्यकासाथ तालिम आयोजना गरिएको हो । प्रचार प्रसारको अभावले धेरै किसान अझै पनि पुरानै जात प्रयोग गरिरहेका छन् जसले गर्दा उत्पादन उल्लेख्य रूपमा बढ्न सकेको छैन । तालिममा जलवायु परिवर्तन सहन सक्ने गहुँका जातबारे जानकारी दिने, भौगोलिक क्षेत्रअनुसार उपयुक्त जात छनोट गर्ने तरिका, उत्पादन वृद्धि गर्ने प्रभावकारी उपाय अभ्यासमार्फत सिकाइदै छ । बीउ व्यवस्थापन, मलखाद प्रयोग र सिँचाइ व्यवस्थापनबारे पनि किसानहरुलाई सिकाइने छ ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक रोशन बस्नेतका अनुसार नेपालमा खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकता दिँदै पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरिएको बताउनुभयो । केही जात सिफारिसको चरणमा छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएका छन् । तर, प्रचार–प्रसार अभावले किसानसम्म नयाँ जातको जानकारी नपुग्नु र पुराना जातको बीउ प्रयोग गर्दा उत्पादन घट्नुका साथै रोग र किराको प्रकोप बढेको वैज्ञानिकहरूको भनाइ छ । नयाँ जात भने रोग, किरा तथा जलवायु परिवर्तनको असर सहन सक्ने गरी विकास गरिएका छन् । यसले संक्रमण दर कम गर्ने अपेक्षा गरिएको छ । हाल नेपालमा वार्षिक २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन गहुँ उत्पादन हुन्छ ।
करिब ४ लाख मेट्रिक टन गहुँ अझै आयात भइरहेको छ । वैज्ञानिकहरूका अनुसार नयाँ जात प्रभावकारी रूपमा किसानसम्म पु¥याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्था मिलाउन सके नेपाल गहुँमा आत्मनिर्भर बन्न सक्छ । तालिमपछि सहभागी किसानले आफ्ना समुदायमा समेत सिकेका प्रविधि विस्तार गर्ने अपेक्षा गरिएको छ ।
















