प्राकृतिक विपदको चपेटामा कृषि

  • बाली पाक्ने र भित्राउने बेलामा एक्कासी पनि झरी र असिना पानीले वर्षेनी लाखौ मेट्रिक टन बालीनाली खेतमा नै नष्ट हुने गरेको छ । हिमाली क्षेत्रमा हुने अस्वाभाविक हिमपात, तराईंमा चल्ने सहित लहरले समेत नेपाली किसानहरूलाई बारम्बार पिडित बनाइरहेको छ ।
  • यस वर्ष मनसुन सक्रिय रहेको समयमा नेपालले ठुलो क्षति भोग्नुपर्यो । खासगरी मध्य र पूर्वी पहाडमा ठुलो वर्षा र बाढीले गर्दा अर्बौ रुपिया बराबरको भौतिक सम्पत्ति र मानवीय क्षती भयो । बाढी र पहिरोले सडक, वस्तीहरू ध्वस्त बनायो भने हजारौं हेक्टर खेतबारी नदीले पुर्दा कृषि क्षेत्रले समेत पाँच अर्ब रुपियाँ भन्दा बढिको क्षति भोग्नु पर्यो । मनसुन बाहिरिएपछी हिउँदे वर्षा हुनुपर्नेमा देशको कुनैकुनै स्थानमा छिटपुट बर्षा भएपनि अधिकांश स्थानहरू हिउदमा वर्षाबिहिन रहे । हिमाली क्षेत्रमा हिउँ नपरेकोले हिमालहरू काला देखिएका छन् । लामो समयसम्म हिमपात र वर्षा नभएकोले खेतीपातीमा समस्या देखिएको छ । नेपालमा प्राकृतिक विपत्तीको क्षति मृतक, घाइते र वेपत्ताको संख्या, भत्किएका घर र बिग्रिएका संरचनाको संख्याको आधारमा मुल्यांकन गर्ने गरिएकोले ति बाहेक कृषि क्षेत्रमा हुने गरेको क्षतिको खासै मतलव गर्ने चलन छैन् । तर विगत ५ वर्ष यताका अतिवृष्टि, अनावृष्टि र खडेरीले भविस्यमा नेपालको कृषि क्षेत्रले विपदबाट भोग्नुपर्ने समस्याको बारेमा संकेत गरिसकेको छ ।

    नेपालको करिब ८३ प्रतिशत भू–भाग हिमाल तथा पहाड र १७ प्रतिशत भू–भाग तराई प्रदेशमा पर्छ । नेपालको पुरै भूभाग १० सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । भौगर्भिक रुपमा गतिशील पर्वत शृंखला, अस्थिर तथा अति भिरालो जमिन र कमजोर भौगोलिक बनावट अनि ६००० भन्दा बढी नदीनाला भएकोले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । नेपाल विस्वमा भूकम्पबाट ११ औँ र बाढी पहिरोबाट ३० औं अति जोखिम देशको रुपमा रहेको छ । यी विविध कारणहरूले गर्दा नेपालमा हरेकवर्ष ५०० भन्दा बढी विविध किसिमका विपदका घटनाहरू हुने गर्छन् । भौगोलिक– भौगर्भिक कारण बाहेक हिमपात, हिमपहिरो, अतिबृष्टि, अनाबृष्टि, खडेरी, हुरी–बतास, शितलहर, लू , जस्ता जलवायु परिवर्तनजन्य विपद्को कारणले पनि नेपालले वर्षेनी ठुलो क्षति भोग्नु परिरहेको छ । यस्ता सबै मौसमजन्य र जलवायु परिवर्तनजन्य विपदहरूबाट कृषि क्षेत्रमा सबैभन्दा बढी नोक्सानी भएको देखिन्छ ।

    कृषि क्षेत्रमा बाढी र पहिरोबाट बढी नोक्सानी हुने गरेको छ । असार– श्रावण महिना नेपालीको मुख्य खेतीपाति लगाउने समय हो । यहि समयमा नेपालमा मनसुनको उच्च प्रभाव रहने भएकोले बाढी पहिरोका घटनाहरू धेरै हुने गरेको पाइन्छ । वर्षेनी दोहोरिने पहिरोले पहाडका खेत÷ बारीहरू मासिने क्रम बढेको छ । पहाडी क्षेत्रमा भैरहेका अव्यवस्थित पूर्वाधार निर्माण कार्यले गर्दा पहिरोको संख्या र क्षेत्रफल बढ्दै गएका छन् । नदि कटानले गर्दा खेतबारीहरू बगरमा परिणत हुने, बाढी र डुबान्ले गर्दा लगाएको बालि नष्ट हुने घटना वर्षेनी बढिरहेका छन् । समय समयमा आउने सानाठूला भूकम्पले गर्दा पहाडी क्षेत्रका खेतबारीहरू चिराचिरा परेर खेतीपातीको लागि जोखिमपूर्ण बन्दै गएका छन् । यस्ता विपदले खेतीपाती गर्ने जग्गाको क्षेत्रफल र उत्पादकत्व मात्र घटेको छैन, किसानहरूको ठुलो मेहनत र लगानी समेत खेर गैरहेको छ अनि नेपाली किसानहरूलाई झनझन गरिब र कृषि पेशाबाट नै विस्थापित गराउदैछ ।

    पछिल्ला वर्षहरूमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्दै गएका छन् । खासगरी बेमौसमी बर्षा, अतिबृष्टि र खडेरीका दिनहरू बढ्दै गएका छन् । बाली पाक्ने र भित्राउने बेलामा एक्कासी पनि झरी र असिना पानीले वर्षेनी लाखौ मेट्रिक टन बालीनाली खेतमा नै नष्ट हुने गरेको छ । हिमाली क्षेत्रमा हुने अस्वाभाविक हिमपात, तराईंमा चल्ने सहित लहरले समेत नेपाली किसानहरूलाई बारम्बार पिडित बनाइरहेको छ । नेपालको कूल २६ लाख ४१ हजार खेतीयोग्य जमिनमध्ये हालसम्म ५९ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा पुगेको छ ( आर्थिक सर्वेक्षण २०८०÷८१) । ४२ प्रतिशत भन्दा बढी खेतीबारी सिचाइको लागि आकाशे पानीमा नै निर्भर छन् भने खोला÷नदीमा आधारित सिचाई प्रणाली पनि आकाशे पानीमा नै निर्भर रहेको छ । वर्षाचक्रमा सानो परिवर्तन आउनासाथ सिचाईमा ठूलो समस्या आउने गरेको छ ।

    विस्वब्यापी उष्णिकरणको कारणले खडेरीका दिनहरू बढ्दै गएका छन् । जमिनमा सुख्खापन बढ्न थालेका विवरणहरू सार्वजनिक भैरहेका छन् । खडेरीले गर्दा समयमा धान रोप्न नपाएको, खडेरीले धानखेतमा धाँजा परेको, बालीहरू खेतमा डढेका दुखद् दृष्यहरू वर्षेनी देखिदैछन् । बाढी र पहिरोको पूर्वानुमान गरि रोकथामका प्रयासहरू गर्न सकिने भनेपनि अतिवृष्टि र खडेरीको सहज पूर्वानुमान गर्न नसकिने भएकोले यस्ता विपदबाट किसानले बढी मौसमी क्षती बेहोर्नुपरेको छ । खडेरीले सिचाइका परम्परागत प्रणाली बेकामे हुदै गएको र बालीनाली लगाउन मुस्किल भएकोले खेतीयोग्य जमिनहरू बाझो हुने क्रम बढिरहेको छ ।

    जलवायु परिवर्तनको प्रत्यक्ष असर जैविक प्रणालीमा समेत देखिएका छन् । तापक्रम बढ्दै जाँदा खेतबारीमा रोग र किराहरूको प्रकोप बढ्दै गएको किसानहरूले महसुस गर्न थालिसकेका छन् । बालीनालीमा पहिले कहिल्यै नदेखिएका किरा फट्यांग्राले दुख दिन थालेका छन् । मिचाहा प्रजातीका वनस्पतिहरू सबै भूगोलमा तिब्र गतिमा फैलिदै गएका छन् । रोग, किरा र झारपात नियन्त्रण गर्ने परम्परागत प्रविधिहरू बेकामे हुदा किसानहरूलाई बालीनाली जोगाउने मुस्किल परेको मात्र छैन बालीनालीमा आणुबंशिक परिवर्तन समेत देखिन थालेका छन् । झारपात र किराहरूको प्रकोप बढ्दै गएकोले चरिचरनमा समेत समस्या देखिन थालेको छ । जलवायु परिवर्तनले हिमाली खर्कहरू बढी प्रभावित भएका छन् । हिमपात र हिम गलनको परिमाण र समयमा परिवर्तन आउदा हिमाली क्षेत्रका पशुपालकले समस्या र क्षति भोग्नु परिरहेको छ ।
    नेपालका दुई तिहाई घर परिवार कृषि र पशुपालनमा संलग्न छन् भने कृषिले कुल ग्राहस्थ उत्पादनमा एक चौथाई स्थान ओगटेको छ । कृषि क्षेत्र खाद्यवस्तु उत्पादनमा मात्र सिमित छैन, सस्कृति र पर्यटन, जैविक विविधता संरक्षण र परिस्थितिक प्रणालीको संचालनसंग पनि यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । अहिले नै कृषिजन्य उत्पादनको लागि ठुलो धनराशी विदेशिएको छ । नेपालको कृषि क्षेत्रमा मौसमजन्य विपद र जलवायु परिवर्तनसिर्जित विपदहरू बढ्दै जादा कृषि र पशुपालन जटिल र उत्पादन कम हुदै जानेछ । यसले कृषिजन्य उत्पादनमा पर निर्भरता बढाउनेछ । कृषिमा विपदका असरहरू बढ्दै गएमा वन तथा भू–संरक्षण, जलाधार र जलश्रोत संरक्षण, पर्यटन र सास्कृतिक व्यवहारको निरन्तरतामा गम्भीर असर पर्ने निश्चित छ ।

    जलवायु परिवर्तनका केही असरहरू अहिले नेपालमा देखा परिसकेका छन् । विस्वब्यापी उष्णता बढ्दै जादा नेपालमा जलवायु परिवर्तन सृर्जित विपदहरू अझ बढ्ने निश्चित छ । विपदसंगजुध्न नेपाल सरकारले तयार गरेको राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ले जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गरि खाद्य सुरक्षा, पोषण र जीविकोपार्जनमा सुधार गर्ने नीति निर्धारण गरेको छ । यो नीति अनुसार स्थानीय कार्यक्रमहरू बनाएर लागु गर्नका लागि तिनै तहका सरकार इमान्दारिताका साथ लाग्नुपर्छ । विपदबाट कृषि क्षेत्रमा पर्ने नोक्सानी कम गर्नको लागि कृषि क्षेत्रमा अनुकूलनका कार्यक्रमहरू संचालन गर्नुपर्छ । प्राकृतिक बिपद् सहन सक्ने बालीनालीको विकास, प्रवद्र्धन र उपयोगमा जोड दिनुपर्छ । बालीनाली संरक्षण र पशुपालनका रैथाने सिपको प्रवर्द्धन गर्ने, सामुहिक खेतीपाती र पशुपालन गर्ने, व्यवसायिक कृषि प्रवद्र्धन गर्ने, खडेरीबाट जुध्नको लागि पानीका श्रोतहरूको संरक्षण गर्ने जस्ता कार्यले जोखिमलाई कम गर्न सकिन्छ । कतिपय स्थानमा विपद जोखिमयुक्त स्थानमा खेतीपाती र चरिचरन गर्नाले बाढी र भू–क्षय भैरहेको छ । यस्ता स्थानमा नियमित खनजोत गरेर खेतीपाती गर्नुको साटो व्यवसायिक फलफुल खेती, डालेघाँस विकास र कृषि वन विकास गरेर विपद कम गर्दै कृषि क्षेत्रबाट लाभ लिने योजना सरकारले किसानलाई दिनुपर्छ । सामान्य अवस्थामा समेत सचेतना र सुचनाको कमीले नेपाली कृषकहरूले प्राकृतिक प्रकोपबाट धेरै क्षती भोग्नु परिरहेको छ । मौसम सम्बन्धि सुचनाहरू ठिक समयमा सबैको माझमा पु¥याउने पालिका स्तरीय संयन्त्र बनाएर सबै किसानलाई विपद विरुद्धको पुर्व तयारि गर्नसक्ने बनाउनुपर्छ । विपदलाई रोक्न नसकिने भएकोले सम्भाव्य सबै पूर्वतयारी र अनुकूलन व्यवहार गर्दागर्दैपनि कृषि क्षेत्रलाई पूर्ण रुपमा विपद जोखिम मुक्त राख्न सकिदैन । यस्तो अवस्थामा कृषकलाइ नोक्सानी हुनबाट जोगाउन र कृषि क्षेत्रमा टिकाइराख्न राज्यले राहतको सुनिश्चित्ता र बिमाको व्यवस्था गर्नुपर्छ । कृषि क्षेत्रलाई विपदबाट जोगाउन सकिएन भने हाम्रो जीवन र जीविका पनि जोगिन सक्नेछैन । यी कुरा सबै सरोकारवालाहरूले बेलैमा बुझ्नु पर्छ ।  Email: yrkandel@gmail.com

     

     

    © 2025 krishipatra All right reserved