दुध उत्पादन बढाउने कि खपत ?

बुटवल, जेठ ।
लुम्बिनी प्रदेशमा दुध उत्पादन क्रमस बढ्दै गएको छ । दुधको उत्पादन बढ्दै गएपनि यसको विविधिकरण गर्ने तर्फ भने ठोस उपलब्धी हुन सकेको छैन । अधिकांस दुध अनौपचारिक क्षेत्रबाट संकलन हुने र खपत हुने गरेको पाइएको छ भने सहरी क्षेत्रमा भने दुधको खपत सेवनको लागि बढि मात्रामा प्रयोग हुदै आएको छ ।
लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेश २ लाख ४६ हजार ५ सय ७५ लिटर दुध उत्पादन हुदै आएको छ । यसरी उत्पादन भएको दुध पछिल्लो समयमा खुल्ला दुधको रुपमा सेवन, केही प्रतिशत पनिर बनाएर केही प्रतिशत दही त केही आईसक्रिम र क्रिम बनाउनेमा अन्य केही प्रयोजनको लागि मात्रै प्रयोग भएको पाईन्छ ।
तर प्रदेशमा हाल अधिकांस रुपमा डेरी तथा पसलहरुबाट खुल्ला दुध विक्रि हुदै आएको छ । तर संघीय सरकारले स्वाथ्यका हिसावले समेत खुल्ला दुध विक्रि वितरण गर्न नपाईने गरी नीति समेत ल्याएको छ । यद्यपी नीती पुर्णरुपमा कार्यान्वयनमा भने आएको छैन ।
संघिय सरकारद्वारा दुग्ध तथा दुग्ध जन्य पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धित निर्देशिका–२०७५ जारी गरेको छ । जस अनुसार खुल्ला दुध (प्लाष्टिकमा पोको पारेर) विक्रि गर्न पाईदैन । तर व्यवसायीहरुले भने उपभोक्ताको माग अनुसार सोही दुध नै उत्तम हुने भन्दै विक्रि गर्दै आएको पाईएको छ ।
नेपाल डेरी एशोसीयसनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश पुर्व संयोजक समेत रहेका कृष्ण प्रसाद भट्राईले अव दुधको विविधिकरण तथा प्याकेजिङ्ग प्रणालीमा जानुको विकल्प नभएको बताउँछन् । उनले दुध स्वाथ्यको दृष्टिकोणबाट अति संवेदशिल र जन्म देखि मरण सम्म प्रयोग हुने भएको कारण यसलाई उच्च प्रथमिकता दिएर विक्रि वितरण हुने पर्ने बताउँछन् ।
लुम्बिनी प्रदेशमा हाल प्रति व्यक्ति प्रति वर्ष ७८ लिटर दुध पर्दछ यद्यपी सबैले सहज रुपमा दुध सेवन गर्न पाएका भने छैनन । पशुपंछी तथा मत्स्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुशार यस प्रदेशमा दुध उत्पादनका संस्थागत संरचना हेर्दा गाई फार्म ३८१, भैसी फार्म ३३२ भन्दा वढी रहेका छन् भने व्यक्तिगतरुपमा पनि प्रसस्त मात्रामा किसानहरुले दुध उत्पादन गरि वजारमा ल्याउने गरेको अवस्था छ । यस प्रदेशमा दैनिक उत्पादन हुने दुध ८ लाख लिटर भन्दा वढी रहेकोछ । यसरी उत्पादित दुधको विक्रीका निम्ति साना ठुला गरि १०३ वटा भन्दा वढी डेरीहरु रहेका छन् किसान तथा व्यक्तिगत रुपमा व्यापारीहरुले पनि घरघर डुलाएर पनि प्रयाप्त मात्रामा विक्रि गर्ने गरेको देखिन्छ । तर पनि करिव २ लाख लिटर दुधले वजार पाउन सकेको छैनन ।
बजारको विकल्पमा प्लान्ट
रुपन्देहीमा हाल उत्पादन वृद्धि भएको दुधको विविधिकरणको लागि विशिष्टकृत उद्योग समेत दर्ता भएको छ । लुम्बिनी विशिष्टकृत दुग्ध सहकारी मार्फत उद्योग सञ्चालन गर्ने योजना अगाडी बढाएको छ । प्रदेशका विभिन्न स्थानमा साना तथा ठुला डेरीहरुले हाल दुध संकलन, प्रशोधन तथा बजारीकरण गरिरहेको बेलामा लुम्बिनी विशिष्टकृत दुग्ध सहकारी संस्थाले परियोजना सुरुवात गरेको हो । तरल दुधका अलावा प्राप्त दुधको करीब ४०÷५० प्रतिशत जति अन्य उत्पादनहरु जस्तै पनिर, घ्यु, वटर, कन्डेसनल दुध (बाक्लो दुध), कुराउनी, खुवा, चकलेटहरु, आईसक्रीम, पिजाका लागी प्रयोग हुने मोझरेला चिज, दही, मोही, लसी, नौनी, साल्टेड नौनी, पाउडर दुध, विभिन्न स्वादका मिठाईहरु आदी वजार माग अनुसार उत्पादन गरी बजारीकरण गर्ने परियोजनाको लक्ष्य रहेको अध्यक्ष सहकारी विज्ञ डा. खगराज शर्मा बताउँछन् ।
लुम्विनी प्रदेशको विभिन्न जिल्लामा रहेका ५ सय सहकारी संस्थाहरुलाई आवद्ध गरी परियोजना सुरुवात गर्ने लक्ष्य लिएको उनको भनाई छ । तिलोत्तमा न.पा.रुपन्देहीको वडा नं. ६, पश्चिम पहुनी भन्ने स्थानमा रहेको २ विगाहा १० कट्ठा जमिनमा भाडामा समेत लिइएको छ ।
सहकारीले छुट्टै ९ कठ्ठा ७ धुर जग्गा समेत किनेको छ । सहकारीका अध्यक्ष डा. खगराज शर्माका अनुसार पाउडर दुध सहितको परियोजना सञ्चालन गर्नको संघीय सरकारबाट ९९लाख, प्रदेश सरकारबाट २ करोड रुपैयाँ अनुदान प्राप्त भएको भएपनि हाल सम्म त्यो रकम कार्यान्वयन आएको छैन ।
प्रदेशका विभिन्न १ सय १४ वटा सहकारीले हाल सम्म ६ करोड रुपैयाँ पुजी विशिष्ठकृत सहकारीमा लगानी गरेका छन् । आगामी आर्थिक बर्षमा मिनी प्लान्टको रुपमा पाउडर प्लान्ट पछि सुरु गर्ने गरी करिव १२ करोड रुपैयाँ जतिमा परियोजना सुरु गर्ने, दुध प्रसोधन, विभिन्न दुग्धजन्य बस्तु उत्पादनको काम सुरुवात गरिने उनको भनाई छ ।
के हो प्रसोधन ?
पाश्चराईजेशन विधिवाट दुधलाई जीवाणु मुक्त वनाईन्छ जस्मा दुधलाई १५ सेकेण्ड सम्ममा न्यूनतम ७२ डिग्री सेण्टिग्रेड सम्मको ताापक्रममा तताइन्छ । यो तापक्रमवाट प्रायः धेरैजसो मानव प्रतिकुल एवं दुधलाई बिगार्ने जीवाणुहरु नष्ट हुन्छन् ।
पाश्चराईज दुधलाई वढिमा दुई हप्ता सम्म मात्र भण्डारण गरि प्रयोग गर्न सकिन्छ । दुधलाई २ देखि ५ सेकेण्ड भित्रमा १३८–१४० डिग्री से.ग्रेड तापक्रममा तताएर सम्पूर्ण रुपवाट व्याक्टेरीया फ्रि वनाए पछि केही सेकेण्डमा नै चिसो वनाएर प्याकेजिङ गर्नु पर्दछ । यसरी गरिने प्रशोधन नै युएचटी दुग्ध प्रशोधन विधि हो । यसरी प्रशोधित दुधलाई वजारको आवश्यकता अनुसारको आकार मा टेटाप्याक टेरा प्याकमा प्याकेजिङ गरिन्छ । जुन दुध प्याकेजिङ गरेको छ देखि आठ महिना सम्म शुद्ध र पिउन योग्य हुन्छ । यसरी तयार गरिने दुध वजार माग अनुरुप विभिन्न फेलेवरमा पनि तयार गर्न सकिन्छ । साथै तुरुन्त उपभोग गर्नका निम्ति भने टे«टाप्याक आवश्यक नपर्ने हुँदा प्रचलित प्याकेटहरुमा नै दुध प्याकेजिङ गर्न सकिन्छ ।
सरकारको टाउको दुखाई
दुग्ध तथा दुग्ध जन्य पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धित निर्देशिका–२०७५ अनुुसार खुल्ला पोकामा दुध विक्रि गर्न पाईदैन । तर देशभरका उपभोक्ताहरुले हाल डेरी पसलमा पाईने खुल्ला दुध नै रोजाईमा पार्ने गरेका छन् । दुध अति संवेदशिलभएको र छाटो समयमा नै यसले अन्य रारायनीक प्रतिक्रिया गरेर अखाद्य हुने भएकोले पनि सरकारले यसलाई रोक्न लागेको भएपनि हाल सम्म पुर्णरुपमा कार्यान्वयन आएको छैन । रुपन्देही डेरीव्यवसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीका अनुसार व्यवसायीहरुले प्याकेजिङ्गमा जान तयार रहेको बताउँछन् । तर उपभोक्ताको माग नै खुल्ला दुध भएको कारण व्यवसायीहरुको लागि केही समस्या रहेको उनको भनाई छ । उनले व्यवसायीक रुपमा दुध प्याकेजिङ्ग गर्ने, विक्रि वितरण गर्ने गरी विभिन्न डेरी उद्योगहरु पछिल्लो समयममा स्थापना हुने क्रम समेत बढ्दै गएको छ ।
देवदहमा शिवगंगा डेरी उद्योग, बुटवलमा पवित्रा डेरी उद्योग, कपिवस्तुमा ग्लोवल डेरी उद्योग, बुटवलमा विशेष डेरी उद्योगले समेत प्याकेजिङ्ग सहितको दुध बजारीकरण गर्ने लागेका छन् । कतिपयले भने सुरुवात समेत गरेका छन् ।
रुपन्देहीमा क्षेत्रीय कार्यालय रहेको दुग्ध विकास संस्थानले विगत लामो समय देखि दुध, दही, प्याकेजिङ्ग बोटल दुध, घिउ, पनिर, छुर्पी, मिठाई समेत बनाएर बजारीकरण गर्दै आएको छ । यद्यपी मानिसहरुले प्याकेजको दुध भन्दा पनि खुल्ल दुध नै बढि उपभोग गर्दै आएका छन् ।
विराटनगर दुग्ध वितरण आयोजना अन्तरगतका धुलो दूध कारखाना, चितवन धुलो दूध कारखाना, सुजल धुलो दूध कारखाना (पोखरा) तथा खरीपाटि धुलो दूध कारखाना सञ्चालनका लागि प्रयाप्त दूधको आवश्यकता पर्दछ । हेटौडा धुलो दूध कारखाना, सुनसरी धुलो दूध कारखाना तथा सूर्योदय मिल्क एण्ड विभरेज ईण्डष्ट्रि प्रा.लि.(विराटनगर) हाल निर्माणधिन अवस्थामा रहेको हुनाले ती उद्योगहरु सञ्चालन गर्न प्रयाप्त दूधको आवश्यकता देखिएको छ । कृषकले उत्पादन गर्ने दूध वाहेक ठुला ठुला व्यवसायिक डेरी फर्म सञ्चालन गरी दूधको माग तथा आपूर्तिमा सहज पुग्ने दुग्ध विकास बोर्डको भनाई छ । हाल नेपालमा प्रतिव्याक्ति ७ लिटर दुध अपुगरेको दुग्ध विकास बोर्डको भनाई छ ।
आ.व. २०७५÷०७६ तुलनामा आ.व. ०७६÷०७७ मा आयात २०.९७५ प्रतिशतले बढेको छ । त्यस्तै, आ.व. २०७६÷०७७ को तुलनामा २०७७÷०७८ मा आयात २१.७३ प्रतिशतले घटेको छ । निर्यातको सन्दर्भमा, आ.व. २०७५÷०७६ को तुलनामा ०७६÷०७७ निर्यात २४.२५५ ले, ०७६÷०७७ तुलनामा २०७७÷०७८ मा ३७.४८५ ले र २०७७÷०७८ को तुलनामा २०७८÷०७९ को चालु ८ महीनामा ०.२८ ५ ले बढेको उपरोक्त तथ्याँकबाट देखिन्छ ।
यता, प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पशुपंक्षि विकास महाशाखा प्रमुख बरिष्ठ पशु विकास अधिकृत तुलसीराम भण्डारीले किसानको दुध, समुह, सहकारी मार्फत उत्पादनमा आधारिक अनुदान सरकारले दिदै आएको बताउँछन् । उनले दुधको बजारीकरण, विविधकरणको विकल्प नभएको भन्दै प्रदेश सरकारले सहकारीबाट सञ्चालित विशिष्टीकृत सहकारीलाई अनुदान समेत प्रदान गरेको जानकारी दिए । उनले भने–‘ दुध उत्पादन बढि भएको बेलामा अन्य विविध परिकार बनाएर विक्रि वितरण गर्न सकिन्छ, माग बढि भएको बेला उपभोग गर्न सकिन्छ, यसमा ध्यान दिन आवश्यक छ । ’
कतिपय व्यवसायीहरुले रुपन्देहीमा दुधको खपत वृद्धिका लागि बदम जुुस, आईसक्रिम, क्रिम, नौनी, घीऊ, पनिर, मिठाई तथा अन्य दुग्धजन्य बस्तु बनाएर विक्री गर्दै आएका छन् ।

© 2025 krishipatra All right reserved