बुटवल उपमहानगरका पशुमा कृत्रिम गर्भाधान बढ्दो

बुटवल, चैत ।
पछिल्लो समयमा पशुहरुमा नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराउने क्रम विस्तारै बढ्दै गएको छ । खासगरी सहज रुपमा पशु गर्भाधान गराउनको लागि (राँगा) उपलब्ध नहुने र झन्झटीलो भएको कारण तराईका अधिकांस जिल्लाहरुमा कृत्रिम गर्भाधान गराउने क्रम विस्तारै बढ्दै गएको छ ।
खासगरी तराईका जिल्लाहरुमा गाई, भैसी, बाखा्र का साथै बंगुर मा समेत सेक्स सीमोनको प्रयोग गरी कृत्रिम गर्भाधान गराउने क्रम बढ्दै गएको हो । ल्याबमा विशेष सुरक्षाको विचमा रहेको सेक्स सिमोनलाई प्राविधिकहरुले विशेष यन्त्र(गन)को सहायतले पशु चौपायहरुमा ग्रभ्रिणी गराउने गरिन्छ । जसको लागि स्थानिय तहरुले विशेष अनुदान समेत प्रदान गर्ने गरेका छन् ।
बुटवल उपमहानगरपालिकाकाले हाल सम्म नगर भित्र रहेका २ सय गाई र १ सय भैसीमा कृत्रिम गर्भाधान गराईसकेको छ । नगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीका अनुसार खासगरी सहरी क्षेत्रबाट बाहिर बुटवलका ग्रामिण क्षेत्रमा रहेका पशु चौपायहरुमा कृतिम गर्भाधान गराउने कार्य सम्पन्न भएको हो । यसको लागि नगरपालिकाले विशेष अनुदान समेत उपलब्ध गराएको छ ।
अन्य प्राकृतिक गर्भाधान भन्दा पनि कृत्रिम रुपमा गरिएको गर्भधानको सफलता बढि हुने भएको कारण पनि यो प्रति किसानहरु आर्कषित भएका छन् । यसरी कृत्रिम गर्भाधान गराएका पशु चौपायबाट जन्मीएको बच्चामा नश्ल सुधार हुने र बहुगुणी भालेको सिमोन सामान्य चौपायमा भएमा दुधको मात्रा बढ्ने समेत गर्दछन् । सामान्य प्रजातिका चौपायहरुमा मुर्रा वा विकसीत जातका साढेको सेक्स सिमोन प्रदान गरिने भएको कारण पनि नयाँ जन्मने प्रणीमा बहुगुणहरु सर्ने भएको कारण पनि यो प्रति विस्तारै आर्कषणा हुदै गएको हो ।

के हो कृत्रिम गार्भाधान ?
भाले पशुको शरीरमा पाइने पोथीलाई गर्भाधारण गराउन सक्ने तन्तुहरुलाई प्राकृतिक रुपमा बाली नलगाई यान्त्रिक रुपमा पोथीको गर्भाशयमा प्रतिस्थापन गरीने प्रविधिलाई कृत्रिम गर्भाधान प्रविधि भनिन्छ । यस प्रविधिको इतिहास केलाउने हो भने इटालीका वैज्ञानिक लाजानो स्पालजानीले प्रथम पटक भालेको झोल वीर्यमा विचरण गर्ने शुक्रकीटमा गर्भाधारण गराउने क्षमता तथ्य प्रथम पटक सार्वजनिक गरेपश्चात स्वस्थ्य प्रजनन क्षमता विकास भएका वयस्क भालेको वीर्य संकलन गरी तिनमा भएको शुक्रकीटको घनत्व एवं स्वास्थ्य स्थिति विश्लेषण गरी आवश्यक रसायन युक्त अवयवको मिश्रणमा शुक्रकीटको गर्भाधारण गराउने क्षमता तथा चाहिने आवश्यक घनत्व संतुलन गरी, प्राकृतिक रुपमा प्राप्त वीर्यको मात्रा वृद्धि गरी यस प्रविधिमा प्रयोग गराइएको पाइन्छ ।
यसरी संघोलित वीर्य तत्काल केही समय पश्चात स्वस्थ एवं पोथी जनावरले बाली खोजेको परिपक्व समयमा प्रयोग गरीन्छ । अर्को विधिअनुसार यसरी संघोलित तरल वीर्यलाई तरल नाइट्रोजन ग्यासको वाफमा संचय एवं संरक्षण गरी तरल नाइट्रोजन १९६ डिग्री सेन्टिग्रेडमा लामो समय संचय गर्न सकिन्छ । जसलाई आवश्यकवेलामा प्रयोग गर्न सकिन्छ र जुन प्रचलित पनि छ ।
अति हिमकृत विधिबाट जमाइएका वीर्य प्रविधिले राँगो साँढेका वीर्य लामो समयसम्म गर्भाधारण गराउन सक्ने शुक्रकीटको क्षमता संरक्षण सहित लामो समय संचय गर्न सकिन्छ । यस प्रयोजनका लागि अति उच्च उत्पादन दिन सक्ने माउबाट छनौट भएका उपयुक्त वंशानुगत गुण भएका राँगो साँढेबाट कृत्रिम तरिकाले अतिनिर्मलिकृत, संक्रमण रहित तरिकाले वीर्य संकलन गरीन्छ ।
यसरी संकलन गरीएको वीर्यको रङ्, निरन्तरता, मात्रा,गतिशिलता, शुक्रकीटको घनत्व, शुक्रकीटको भौतिक अवस्थाको विशलेषण गरी गुणस्तर मापन गरीनु आवश्यक हुन्छ । यसरी विश्लेषण गरीएको संकलित वीर्यलाई एक मात्रा कृत्रिम गर्भाधान गराउन चाहिने वीर्यमा २५ लाख सक्षम शुक्रकीट रहने गरी उपयुक्त रसायनिक अवयव मिश्रित रसायनको झोलमा संकलन गर्दाको वीर्य भएको शुक्रकीटको उपलब्ध संख्यालाई संघोलित गरीनु पर्छ । यसरी प्रशोधन गरीएको वीर्यलाई प्लाष्टिकको स्ट्रहरुमा भरी मेसिन तथा प्लाष्टिकको स्ट्रको मुख सुरक्षित रुपमा टाली यो स्ट्रलाई तरल नाइट्रोजन वाफ प्रयोग गरी जमाइन्छ ।
यी स्ट्रलाई त्यस पछि १९६ डिग्री से. तापक्रममा तरल नाइट्रोजन ग्यासमा डुबाएर संचित गरीन्छ । त्यसै पनि कृत्रिम गर्भाधान प्रविधिलाई अतिहिमकृत तरल नाइट्रोजनमा जमाइएको वीर्य तरल नाइट्रोजनमा संरक्षण गरी टाढा टाढा ठाउँसम्म वीर्य ओसार पसार गरी यस विधिबाट प्रभावशाली रुपमा गाईभैंसीको नश्लमा द्रुतरुपमा सुधार गर्न सकिने प्रविधि मानिन्छ । अझ यसरी संरक्षित संचय गरीएको वीर्यको प्रयोग उच्चकोटीमा छनौट गरीएका राँगा साँढेको मृत्यु पश्चात पनि प्रयोग गर्न सकिन्छ । यसले उच्चकोटीको अनुवांशिक क्षमता भएका वंशको संरक्षण लामो समयसम्म पनि गर्न सकिन्छ । यस प्रविधिको प्रयोगबाट यौनजन्य रोगको प्रसारमा नियन्त्रण एवं न्यूनीकरण तथा निसंक्रमण गरी प्रयोग गरीएका उपकरणको प्रयोग गरी कृत्रिम गर्भाधान प्रविधिमा दक्ष प्राविधिकबाट यो प्रविधिको प्रयोग गरीयो भने गर्भाधारण दर पनि उच्च हुने देखिन्छ । जसबाट हामीले पालेका गाईभैंसी प्रत्येक वर्ष गोठमा दुहुना भइरहन्छन् । (पशुप्राविधिकको सहयोगमा)

© 2025 krishipatra All right reserved