
बुटवल, बैशाख ।
तिलोत्तमा नगरपालिकाले वडा नम्वर १४ टिकुलीगढका किसानलाई अनुदानमा अत्याधुनिक स्प्रे टंकी र हजारी उपलब्ध गराएको छ ।
नगरपालिकाले व्यवसायीक कृषि उन्मूख टिकुलीगढका ५० किसानलाई ७५ प्रतिशत अनुदानमा स्प्रे टंकी र हजारी बितरण गरेको हो ।
नगर प्रमुख बासुदेव घिमिरेले टिकुलीगढमा आयोजित एक कार्यक्रममा किसानहरुलाई स्प्रे टंकी र हजारी हस्तान्तरण गर्नु भयो ।
त्यसअवसरमा बोल्दै उहाले तिलोत्तमालाई सबै किसिमको कृषिजन्य वस्तुमा आत्म निर्भर बनाई किसानलाई यसैका माध्यमबाट आत्मनिर्भर मात्र नभई आर्थिक आय आर्जन बढाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाले टिकुलीगढलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपश्चात किसानमा आएको उत्साहलाई देखेर नै नगरपालिकाले कृषि औजार, बिउ बिजन सहित कृषि उपज संकलन केन्द्रका लागि बजेट बिनीयोजन गरेको बताउनुभयो ।
नगरप्रमुख घिमिरेले तत्कालका लागि कृषि उपज संकलन केन्द्र नगरपालिकाले नै बनाउन लागेको र दीर्घकालका लागि ७० करोडको लागतमा कोल्डस्टोर सहितको कृषि उपज संकलन तथा प्रशोधन केन्द्र बनाउन संघीय सरकारसंग पहल गरीरहेको बताउनु भयो । प्रशोधन केन्द्र निर्माणका सम्वन्धमा लगानी सम्मेलनमा समेत परियोजना प्रस्तुत भएको र ललितपुरको एक सस्थाले काम गर्न इच्छा देखाएको बताउनु भयो ।
स्थानीय कृषक समूहका अध्यक्ष राम बिलास केवटको सभापतित्व, नगरपालिकाका कृषि अधिकृत जीवन आचार्यको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्वर १४ का अध्यक्ष साहेन थारु, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री,स्थानीय सामुदायिक वन तथा सहकारी सस्था सञ्जालका सचिव शालिकराम सुवेदी लगायतले बोल्नु भउको थियो ।
६ हजार रुपैया पर्ने अत्याधुनिक स्प्रे र हजारी २५ प्रतिशत अनुदानमा प्राप्त गरेपछी स्थानीय किसानहरु ह्रषित भएका छन । नगरपालिकाले तरकारी पकेट क्षेत्र घोषणा गरी तालिम गोष्ठि तथा औजार र बिउ बिजन सहयोग गरेर उत्पादनमा बृद्धि भएको बताउदै उनीहरुले अव बजारीकरणका लागि सहयोग गर्न आग्रह गरेका थिए । by:elogonnews.com