बुटवलको कर्साघाटमा एकीकृत कृषि बजार

  • नेपालकै नमुना एकीकृत कृषि बजार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा बन्ने निश्चित भएको छ ।
  • बुटवल,  बैशाख । नेपालकै नमुना एकीकृत कृषि बजार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा बन्ने निश्चित भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र १६ र सैनामैना नगरपालिकाको वडा नम्बर १ मा संगमस्थल रहेको कर्साघाटमा रहेको नदी उकास ३० विघा जग्गालाई उपयोग गरि नमुना एकीकृत कृषि बजार निर्माण गर्न लागिएको हो । करिब २ अर्ब लागतमा निर्माण हुने बजारमा शुक्रबारबाट प्रारम्भिक डिपीआर बनाउने कार्य अगाडि बढाएको छ ।

    बिस्तृत परियोजना प्रतिवेदन बनाउनको लागि काठमाडौंबाट आएको कन्र्सल्ट्यान्टले सर्भेको काम समेत सुरुवात गरेको छ ।
    बुटवल उपमहानगरपालिकाको पहलमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सोही मातहतको संघीय मन्त्रालयको सहयोगमा ३० विघा क्षेत्रफलमा आधुनिक कृषि उपज केन्द्र निर्माण हुने भएको हो । नेपालकै नमुनाा एकीकृत कृषि बजार (ग्रीनपार्क) संघीय सरकारले को प्रस्तावमा बुटवल उपमहानगरपालिकाले कार्य आगाडि बढाएको हो ।

    शुक्रबार निर्माणस्थल बुटवल उपमहानगरपालिका वडा नम्बर १६ कर्साघाटको स्थलगत अध्ययन समेत गरिएको छ । योजनाको बिस्तृत सर्भेक्षण प्रतिवेदन निर्माणको लागि आमन्त्रण गरिएको कन्सल्ट्यान्ट कम्पले स्थान अवलोकनसँगै कार्य अगाडि बढाएको छ । बुटवल उप–महानगरपालिका वडा नं.१६ र सैनामैना नगरपालिका वडा नं.१ को संगम स्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको थियो ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तथा प्रवक्ता राम प्रसाद रेग्मीले नेपालकै नमुना एकीकृत कृषि विकास स्थापना हुने बताए । उनले निकट भविश्यमा सञ्चालनमा आउन लागेको उपज केन्द्रले प्रदेश नम्बर ५ को मात्रै नभएर नेपालकै प्रतिनिधित्व गर्ने जानकारी दिए ।
    उनले सरुवाती चरणमा २ सय वटा सटर (व्यवसायीक विक्रि केन्द्र), चिस्यान केन्द्र, कार्यालय भवन, बिक्री कक्ष लगायत पार्कीङ्ग, हरित सडक निर्माण गरिने छ ।

    दानव नदीको किनारमा रहेको नदी उकास जग्गा र वडा ले उपलब्ध गराएको गरि कुल ३० विघा क्षेत्रफलमा उक्त एकिकृत नमुना कृषि बजार निर्माण हुने छ ।
    प्रवक्ता रेग्मीले भने–‘रूपन्देही लगायत विभिन्न जिल्लाहरूबाट किसानले ल्याएको उपजलाई केही निश्चित समय सम्म राख्ने र मूल्य बढि भएको सिजनमा बिक्री गर्ने गरी आधुनिक ठूलो चिस्यान केन्द्र्र समेत निर्माण हुँदैछ । ’


    जसले किसानहरूलाई सबैभन्दा बढि फाईदा पुग्ने प्रवक्ता रेग्मीको भनाइ रहेको छ । बजार निर्माण गर्न कम्तीमा ३० बिघा आवश्यक पर्ने देखिएपछि वडाले उक्त जग्गा प्रदान गर्ने निर्णय गरेका थिए ।
    किसानले उत्पादन गरेका कृषि र पशुपंक्षीसम्बन्धी सम्पूर्ण उत्पादनको खरिदबिक्रीको व्यवस्था मिलाइने बुटवल उपमहानगरपालिकाका बरिष्ठ कृषि विज्ञ उप–सचिव भिमनाथ शर्माले जानकारी दिए । किसानले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बिक्री वितरण गर्नको लागि बजारले मुख्य भूमिका खेल्ने उपसचिव शर्माको भनाइ रहेको छ ।

    बजारमा १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदामसमेत रहने छ । ५० हजार टन क्षमताको तरकारी, पशुपंक्षी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बिउ भण्डार गृह निर्माण गरिने उपसचिव शर्माले जानकारी दिए । उत्पादन हुने वस्तुको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिनेछ । बजार मूल्य वृद्धि हुँदा मात्रै किसानले उक्त कृषि उपज गोदामबाट बाहिर निकालेर व्यापारीलाई बिक्री गर्न सक्ने गरी मन्त्रालयले नीति बनाईने जनाइएको छ । नमुना कृषि फार्मलाई केन्द्रमा राखेर वरिपरि करिडोरसमेत निर्माण गरिने छ । यस्ता करिडोरहरू किसानको उत्पादनको आधारमा निर्माण हुनेछन् । आर्थिक वर्ष २०७५÷७६ को बजेटमा पनि अत्याधुनिक बजार निर्माण गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

    कृषि क्षेत्रलाई ४० अर्ब १४ करोड ५ लाख रकम विनियोजन गरेको छ । कृषि उपजहरूको अग्र्यानिक उत्पादन गर्ने कार्यलाई प्राथमिकता दिँदै सरकारले सातै प्रदेशमा एकीकृत सामुदायिक÷सहकारी नमुना कृषि फार्म निर्माणको थालनी गरेको छ । अहिले अगाडि बढाइएको परियोजनामा यो वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण कार्य नै सुरु हुने छ । बुटवलमा निर्माण प्रस्ताव गरिएको प्रदेश स्तरको केन्द्रका लागि अहिलेलाई करिब दुई अर्ब बराबरको लगानी अनुमान गरिएको छ ।

    एकै थलोबाट कृषि उपजको कारोबार, प्रशोधन, भण्डारण र किसानलाई लागत मूल्य उपलब्ध गराउन अत्याधुनिक एकीकृत कृषि बजार परियोजनाको परिकल्पना गर्दै अहिले कार्यान्वयन गर्न बुटवल नगरपालिकाका प्रमुख मेयर, शिवराज सुवेदीले जानकारी दिए । बुटवलमा हाल सञ्चालनमा आएको कृषि उपज केन्द्रको वार्षिक ८५ हजार मेट्रिक टन बराबरको कृषि उपजको कारोबार भएको छ ।  
    व्यापारको अनुपात वर्षेनी बढ्दो क्रममा रहेकाले यो साँघुरो र अव्यवस्थित हुँदै गएको छ । यहाँ स्वदेशी उत्पादनका अतिरिक्त भारत र चीनलगायतका मुलुकबाट फलफुल र तरकारीको आयात हुँदै आएको छ ।
    यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिंदै किसानहरूलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी यसखालको परियोजनाको निर्माण हुने छ । रूपन्देहीमा मुलुककै नमुना कृषि बजारको सम्भावना रहेको भन्दै संघीय सरकारले नै यो कामलाई प्राथमिकता दिएको जनाइएको छ ।

    © 2025 krishipatra All right reserved