तिलोत्तमा वडा १२ मकै पकेट क्षेत्र

  • २५ विघा क्षेत्रफलमा मकै बाली लगाइने
  • बुटवल, फागुन । नगरलाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १२ लाई मकै पकेट क्षेत्र घोषणा गरेको छ । मकैं खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले यो वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको हो ।

    मकैमा आन्तनिर्भर बनाउने गरी वडा नम्बर १२ बाट अभियान सुरू गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्र झण्डै ७० प्रतिशत खेतीयोग्य जमिन छ । प्रमुख बासुदेव घिमिरेले वडा नम्बर १२ को विष्णुपुरामा कृषक समूहलाई प्रविधि हस्तान्तरण गरेर कार्यक्रमको सुरूवात गनुभएको हो ।

    सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले नगरलाई प्रमुख खाद्य र नगदेबालीमा आन्तनिर्भर बनाउने गरी काम अघि बढाइएको बताउनुभयो । यस अगाडि नगरपालिकाले वडा नम्बर १४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिसकेको छ । किसानको सहजीकरणका लागि नगरपालिकाले त्यहाँ एक जना प्राविधिकको छुट्टै व्यवस्थापन गरेको छ ।
    कृषि प्राविधिकहरु पकेट क्षेत्रमा वर्षायाममा धान काटेपछि दुई सिजन मकै लगाउन सकिने बताउँछन् । नगर प्रमुख घिमिरेले जमिनको राम्रो तयारी गरेर मात्र मकै लगाउन किसानहरूलाई आग्रह गरे । १२ नंबर वडाको कम्तीमा २५ विघा क्षेत्रफलमा पकेट क्षेत्रको रुपमा यस पटक मकै बाली लगाइनेछ ।

    यहाँ लगाइने मकै उन्ननत जातको हुने र उक्त मकैको हरेक बोटमा दुई वटा घोगा लाग्नेछन् । उक्त मकै ८० देखि ९० दिनसम्म तयार हुनेछ । सो अवसरमा कृषि सञ्जालका अध्यक्ष शारदा काफ्लेलाई कृषि प्रविधिहरू हाते १८ एचपी ट्रयाक्टर, सिट ड्रिलर, मकैको बीउ, मल र कर्न सिलर (मकै छोडाउने मेसिन) समेत हस्तान्तरण गरिएको छ ।

    नगरपालिकाले मकैको बिऊमा शतप्रतिशत र अन्य उपकरणमा ९० प्रतिशत अनुदान दिएको बताएको छ । साथै सोही क्षेत्रमा सिंचाईका लागि दुई वटा बोरिङ पनि जडान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख जीवन आचार्यले जानकारी दिनुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले किसानमैत्री कार्यक्रमहरु ल्याउँदै जाने बताउँदै उत्पादित कृषि बस्तुको बजारीकरणमा समेत नगरपालिकाले सघाउने जनाउनुभयो । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले सञ्चालन गरेको कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, कर्मचारी, किसानहरुको सहभागिता रहेको थियो ।

    © 2025 krishipatra All right reserved