कोल्डस्टोरमै कुहिए किसानले भण्डारण गरेका बीउ

 

शित भण्डारमा १ हजार ४ सय क्वीन्टल आलु राखिएको पाल्पाको रामपुरमा रहेको कोल्डस्टोर (चिस्यान केन्द्र्र) मा रहेका अधिकांश आलु उम्रिएका छन् । लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३ करोड २६ लाख ७६ हजार ५ सय ६६ रुपैयाँमा निर्माण गरिएको उक्त कोल्डस्टोरमा किसानले राखेको आलुको अधिकांश बिउ उम्रिएको हो ।

बुटवल, असोज ।

किसानबाट प्रति किलो ६ रुपैयाँ दस्तुर लिएर राखिएको आलु अधिकांस उम्रिएका हुन भने कतिपय आलु कुहिएका समेत छन् । स्थानिय किसान राजेश रेग्मीले आलु टुसा पलाएर लामा लामा हुँदा रोप्ने समय अझै नभएकाले उत्पादनमा ह«ास आउने चिन्ता व्यक्त गरे । खेतमा धान बाली थन्क्याएर मात्रै आलु लगाउने भएकाले धान नपसाउँदै टुसाएको, बिग्रिएको आलु भण्डारण गरेर राख्दा खाद्यतत्व नाश हुने किसानको गुनासो रहेको छ ।

शित भण्डार निर्माणको ढिलाईका कारण उपयुक्त समयमा आलु भण्डारण गर्न नसक्दा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयको भनाई छ । उनी भन्छन्–‘समयमा नै निर्माण नसक्दा समयमा नै राख्न नपाउँदा समस्या आएको हो ।’ कृषि ज्ञान केन्द्र पाल्पाका कृषि प्रसार अधिकृत तथा सूचना अधिकृत मुकेश कुमार राम्जालीले रामपुरमा रहेको कोल्डस्टोरमा आलु उम्रिएको विषयमा ठोस कारणबारे जानकारी लिन क्रममा रहेको जानकारी लिए ।

उनले प्रारम्भिक रुपमा कोल्ड स्टोरमा पहिला राख्नुपर्ने ह्युमिटी फायर नै नराखी आलु राखिएको र पछि मात्रै उक्त मेसिन राख्दा र राख्ने समय भन्दा २ महिना ढिला आलु राखिएको कारण आलु उम्रीएको उनले जानकारी दिए ।

प्रदेश सरकारले अनुदानमा निर्माण गरिएको उक्त कोल्ड स्टोर नगरपालिकाले एक कम्पनीलाई बार्षिक २ लाख ५० हजार रुपैयाँ भाडा पाउने गरी भाडामा दिएको छ ।

उक्त भाडामा लिएको कम्पनीमा प्राविधिकहरु राखेर विहान साँझको समयमा नियमित रुपमा निरिक्षण, विहानको समयमा घाम लाग्न भन्दा पहिला २ घण्टा सम्म कोल्डस्टोर भित्रको कार्वनाईअक्साईड बाहिर पठाउनुपर्नेमा त्यो समेत नगरिएको पाइएको छ । जसको कारण कोल्ड स्टोरमा राखिएका विउ कुहएका पाइएको छ ।

यता, प्यूठान जिल्लामा पनि सोही समस्या दोहोरिएको छ । प्रदेश सरकारबाट करिव डेढ करोड रुपैयाँ अनुदानमा प्युठानका दुईवटा पालिकाहरुले निर्माण गरेको कोल्डस्टोरमा राखिएका अधिकांस प्याज कुहिएका छन् ।

करोडौ रकम खचिएर बनाइएका कोल्ड स्टोरमा राखिएका कृषि जन्य उपजहरु नै कुहिएपछि किसानहरुले यसको आलोचन गरेका छन् भने क्षतीपुर्तीको समेत माग गरेका छन् । प्युठान नगरपालिका र माण्डवी गाउँपालिकाबाट किसानहरुले उक्त कोल्डस्टोरमा आलु, प्याज राखेका थिए ।

आलु राख्ने ठाउँमा प्याज राखेको कारण कुहीएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको एकिकृत पशुपंक्षी तथा कृषि कार्यालय का प्रमुख भाष्कर पौडेल बताउँछन् ।

प्याज राख्न नै नहुने कोल्ड स्टोरमा किसानले जबरजस्ती प्याज राखेको कार्यालय प्रमुख पौडेलको भनाई रहेको छ । उनी भन्छन्–‘प्राविधिक हिसावले आलु राख्ने कोल्डस्टोरमा प्याज राख्न नमिल्ने थियो, किसानले जबरजस्ती नै प्याज राखेको भन्ने मैले सुन्न आएको छ ।’

आलु नै कुहिने कोल्ड स्टोर फेल भएको हो त भन्ने बुटवल टुडेको प्रश्नमा उनले भने–‘सुरुवाती बर्ष भएको कारण स्थानिय पालिकाका प्राविधिहरुलाई जिम्मा दिएको तर उहाँहरुको पनि प्राविधिक कमी कमजोरीको कारण समस्या आएको हो ।’

अर्को बर्ष प्राविधिक सुधार गरी कोल्ड स्टोर सञ्चालनमा ल्याउने उनको भनाई रहेको छ । जसको लागि पुर्व तयारी स्वरुप विभिन्न प्राविधिक जाँच, सोही अनुसारको प्राविधि पक्ष र व्यवस्थापनमा सुधार ल्याउनुपर्ने एकिकृत कार्यालयका प्रमुख पौडेलको भनाई रहेको छ ।

भण्डारण गरिएका आलुका बोरालाई बेला बेलामा तलमाथी पारेर राख्नुपर्ने, पहिलो वर्ष सञ्चालनमा ल्याइएकाले पनि रेखदेख गर्ने नियमित दुई जना प्राबिधिक हुनुपर्ने, आलु भण्डारण गर्नु अगावैे सरसफाई नगरिकन आलु बोरामा राख्दा आलु उम्रने र कुहिने समस्या आएको प्राविधिहरुको भनाई छ । @butwaltoday_daily

© 2025 krishipatra All right reserved