
बागलुङ पछिल्लो समय विदेश पलायन हुने युवाहरुको घुइँचो देखिन्छ । कतिपय युवाहरु विदेशमा गएर रामै्र कमाइ गर्न सकेका छन् भने कतिपय युवाहरु हण्डर खाएर स्वदेश फर्किएका छन् । केही युवाहरु विदेशमा हण्डर खाएर फर्किएपछि स्वदेशमै केही व्यवसाय गनुपर्छ भनेर व्यवसायमा लागेको र जम्दै गएको पाइन्छ ।
यस्तै बागलुङको निसीखोलाका ३ युवाले विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाए सुन फलाउन सकिन्छ भन्ने उद्देश्यले सामुहिक कृषि व्यवसाय गर्न थालेका छन् । निसीखोला गाउँपालिका–३ झिवाखोलामा राजमन बुढा मगर, बिमल शाही र श्याम शाहीले व्यवसायिक रुपमा कृषि व्यवसाय गर्न थालेका हुन् ।
स्थानीय स्तरका जनतालाई सेवा दिने, कृषिमा आत्मनिर्भर बन्ने चाहाना रहेको उनीहरु बताउँछन् ।
उनीहरुले निसीखोला कृषि फर्म दर्ता गरेर व्यवसाए सुरु गरेर विगत १ वर्षदेखि कृषि फर्म संचालनमा ल्याएका हुन् । साढे ४ लाख रुपैयाँको लगानीमा सुरु गरेको व्यवसायमा लगानी बढाएर हाल ७ लाख पु¥याएको व्यवसायी राजमन बुढा मगरले बताए ।
बुढा मगरले आफुहरुको फर्ममा सबै प्रकारका तरकारी, तरकारीका विरुवा उत्पादन गर्ने र बेच्दै आएको बताए ।
‘हामीले उत्पादन गरेको वस्तुहरुले हाम्रो बजार पाउँछ’ बुढा मगरले भने ‘व्यवसायलाई अलि बृहत तरिकाले संचालन गर्न स्थानीय सरकारदेखि केन्द्रीय सरकारले सहयोग र प्रोहोत्सान गर्नुपर्छ ।’
आफुहरुले सुरु गरेको व्यवसायबाट आम्दानी भएको सबै करम व्यवसायमै लागनी गरेको बताउँदै बुढा मगरले मासिक रुपमा १ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताए । उनीहरुले दिनानुदिन विदेश पलायन हुने युवालाई विदेश गएर गर्ने दुख आफ्नै माटोमा गरे स्वदेशमा पनि राम्रो कमाई गर्ने सक्ने बताउँदै युवाहरुलाई स्वदेशमै व्यवसायी बन्ने आग्रह गर्छन् ।
मध्य पहाडी लोक मार्गले गर्दा यहाँका अन्य कृषकहरुले उत्पादन गरेको वस्तुहरु बजारीकरणको लागि खासै समस्या छैन ।
स्थानीय सरकारले युवाहरुलाई कृषि लगायतका विषयमा विभिन्न खालका तालिम संचालन गर्ने, युवाहरुलाई व्यवसायिक तर्फ आकर्षण गर्न विभिन्न योजना बनाए लागे यस क्षेत्रका युवाहरु स्वरोजगार नबन्लान भन्न सकिन्न ।