
बुटवल– देशभर किसानहरूले लगाएको खेतमा अहिले गहुँ लहलाएको छ । गहुँ उम्रीएर दुईपाते (दुईसेरो) भएपछि मा युरिया मल छर्नुपर्दछ । तर प्रदेश नम्बर ५, ६ र ७ मा समेत अनुदानको युरिया मल वितरण (सप्लाई) गर्ने कृषि सामग्री कम्पनी लिमिटेडमा ‘एक गेडा’ मल छैन । केन्द्रबाट मल आपूर्ति नभएको कारण अनुदानको वितरण गर्न नसकीएको कम्पनीले जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाका निम्त प्रमुख गणेश घिमिरेले कुनै अनुदानको युरिया मल एक गेडा पनि वितरण गर्न नसकीएको जानकारी दिए । कम्पनीको केन्द्रीय कार्यालयबाट मल खरिदको लागि बजेट अभाव भएकै कारण अहिले मल वितरण गर्न नसकीएको नि.प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार केही मात्रामा डिएपी र पोटास मल कम्पनीसँग रहेपनि युरिया मल एक किलो पनि छैन ।
प्रदेश नम्बर ५ का सबै जिल्ला, प्रदेश ६ र ७ का सबै जिल्लामा समेत अनुदानको मल वितरण गर्ने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाले वितरण गर्ने मल नभएको कारण हाईसञ्चो भएको छ । गत बर्ष पनि अभावै अभावको बीच केही मात्रा अनुदानको मलको बीउ वितरण गरेको कृषि समग्री कम्पनी लिमिटेडले यो सिजनमा एक किलो पनि मल वितरण गर्न सकेको छैन ।
रसायनीक मल अभाव भएको कारण किसानहरूले भारतबाट गुणस्तरहिन मल ल्याएर अहिले प्रयोग गरिरहेका छन् । रूपन्देहीको मायादेवी गाउँपालिका का किसान नारद प्रसाद केवटले स्थानीय सरकार आएपछि मल आउने आशा गरेको भएपनि मल अभावले भारतबाट मल ल्याउनुपरेको बताएका छन् । उनले उचित समयमा मल छर्न नपाउँदा गहुँको उत्पादन घट्ने निश्चित भएको बताए ।
कृषि सामग्री लिमिटेटले स्थानीय सहकारी मार्फत विगतका बर्षहरूमा मल उपलब्ध गराउँदै आएको थियो । प्राप्त मात्रमा नभएपनि केही मात्रामा किसानहरूले पाएका थिए । तर यस बर्ष गहुँमा टपड्रेस गर्ने बेलामा मलको चरम अभाव भएको हो ।
रूपन्देहीको भैरहवामा रहेको कृषि सामग्री कम्पनी लिमिटेडेले क्षेत्री वितरण केन्द्र बाँके र सुदुरपश्चिमलाई समेत यहाँबाट नै सप्लाई गर्दै आएको थियो । अहिले मल नभएको कारण कुनै पनि सप्लाई हुन सकेको छैन ।
नेपालभर यो सिजनमा कुल साढे ३ लाख मेट्रिक टन मल आवश्यक पर्दछ । तर सरकारले गत बर्षहरूमा करिव ४० देखि ५० प्रतिशत मात्रै मल आपुर्ती गर्दै आएको थियो । यसबर्ष भने झनै अभाव भएको हो ।
गहुँ उम्रीएपछि पोसाउने र बाला लाग्ने बेलामा मलको अति आवयकता पर्दछ । जसले गर्दा बाला (गहुँ) गुणस्तर हुनुको साथै उत्पादन मा समेत वृद्धि हुने गर्दछ । तर यस बर्ष भने उत्पादनमा कमी आउने निश्चित भएको हो ।
गत बर्ष साल्ट टे«ड्रीङ्ग कर्पोरेसन र कृषि समग्री कम्पनी लिमिटेडेले संयुक्त रूपमा मल आपूर्ति गर्दै आएका थिए । तर यस बर्ष समयमा नै मल खरिदको लागि बजेट उपलब्ध नहुनुको साथै समयमा नै खरिद टेण्डरमा जान नसकेको कारण मलको चरम अभाव भएको हो ।
यसरी अनुदानमा आएको मल कम्पनी लिमिटेडेले किसानालई प्रति बोरा (युरिया) ७ देखि ८ सय रूपैयाँमा प्रदान गर्दै आएको थियो । अहिले किसानहरूले भारतीय गुणस्तरहीन मल १२ सय देखि १४ सय रूपैयाँ प्रतिबोरा खरिद गरि गहुँमा प्रयोग गरिरहेका छन् ।
कृषकको सहजताका लागि वि.सं २०७० बाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो ।
गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालक दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन् । कार्यालयले सबै स्थानीय तहमा पु¥याउने उद्देश्यका साथ मल वितरण गरिरहेको भए पनि गोदाममै मल नभएपछि उनीहरू अलमलमा परेका छन् । (बुटवल टुडेबाट)