
बुटवल मंसिर ।
रुपन्देही उद्योग संघ ४२ औं स्थापना दिवसमा विभिन्न व्याक्तिहरु पुरस्कृत भएका छन् ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पुरस्कार प्रदान गर्नुभएको हो । कृषि तर्फ सिद्धार्थ डेरी उद्योगका सञ्चालक गिता भट्टराई पुरस्कृत हुनुभएको छ । उहाँलाई प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम तथा संघका अध्यक्ष बाबुराम बोहोराले सम्मानपत्र सम्मान तथा पुरस्कारद्धारा पुरस्कृत गर्नुभएको हो ।
यस्तै रुपन्देही उद्योग संघले र स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार नरेश केशी पुरस्कृत हुनुभएको छ ।
यस्तै रुपन्देही उद्योग संघले विभिन्न विधाका ५ जना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरेको छ । संघले कृषि तथा पशुजन्य उद्योगतर्फ एनएस एग्रो एण्ड लाईफ स्टक, युवा उद्यमीतर्फ भुसाल केबल एण्ड वायर इण्डष्ट्रिजका अंमृत भुसाल, महिला उद्यमीतर्फ सिद्धार्थ डेरीका गिता भट्टराई, प्रविधि उद्योग तर्फ बुटवल रेडिमिक्स र पशुपालन तर्फ बस्नेत गाईभैंसी फर्मलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको हो ।
त्यस्तै स्थापना दिवसको अवसरमा २०३५ सालमा संघलाई स्थापना गर्ने संस्थापक सदस्य कालिप्रसाद चौधरी तथा संघका पुर्व कार्यालय सचिव टिकाराम शर्मालाई सम्मान गरिएको थियो ।
यसैगरी संघले उद्योगमा कार्यरत मजदुरका छोराछोरीमध्ये दुईजनालाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति प्राप्त गर्नेहरुमा दुर्गादत्त माविमा अध्ययनरत दिपीका गुरुङ र रामनगर माविमा अध्ययनरत लिल बहादुर गुरुङ रहेका छन् । दुवैजनालाई नगद १०१५५ हजार सँगै झोला तथा कापी कलम प्रदान गरिएको थियो ।
संघको स्थापना दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ११ गतेदेखि १५ गतेसम्म रु. १ मा ओपिडी टिकट, सुगर र युरिनरी सेवा तथा फुलबडी चेकअपमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराएको थियो ।