नवलपरासीमा धान जोन सञ्चालन हुने

बुटवल असोज-नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा जिल्लामा यस वर्ष देखी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत धान जोन कार्यक्रम संचालन हुने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा यस वर्षवाट धान वालीको जोन कार्यक्रम संचालन हुने छ ।

सुनवल नगरपालिकाको नगर प्रमुख बिमला अर्यालको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको प्रमुख आतिथ्यता र रामग्राम नगरपालिकाको नगर उपप्रमुख सम्झना चौधरी समेतको उपस्थितीमा सुनवल नगरपालिकाको सभाहलमा सम्पन्न धान जोन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रुपन्देहीका प्रमुख नारायण काफ्लेले यस वर्षदेखी सुनवल नगरापालिकाका २, ३ र ९ नं वडाहरु र रामग्राम नगरपालिकाको १४ नं वडामा धान जोन कार्यक्रम लागु हुने जानकारी दिए ।

यस वर्ष देखी जोन कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा कृषकहरुलाई कृषि यान्त्रिकरण, सिचाँई पुर्वाधार निर्माण, तालिम तथा प्रदर्शनी मार्फत कृषकहरुको क्षमता विकास कार्यक्रम, धान वीउ उत्पादन भण्डारण तथा प्रशोधन लगायतका कार्यक्रम हरु संचालन गरिने छ ।
उक्त कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले कृषकहरुको माग र नगरपालिकाको समेत विशेष पहलमा यस नगरपालिकाको वडा २, ३ र ९ तथा रामग्राम नगरपलिकाको वडा १४ मा धान को जोन कार्यक्रम यस वर्ष देखी संचालनमा आउनु खुशीको विषय रहेको जनाउदै आगामी दिनमा नगरपालिकावाट समेत यस परियोजनासंगको सहकार्यमा कृषि क्षेत्रमा विशेष कार्यक्रमहरु संचालन गर्न योजनावद्ध तरिकाले अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो ।


कार्यक्रममा रामग्राम नगरपालिकाका नगर उप प्रमुख सम्झना चौधरीले कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै राज्यले लिएको आत्मनिर्भरताको लक्ष्य हासिल गर्न यस परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले परियोजनामार्फत यस क्षेत्रका कृषकहरुको उच्च उत्पादन लागतलाई न्युनीकरण गर्न कृषि यान्त्रिकरण तथा उन्नत वीउ विजन तथा उन्नत प्रविधिको प्रयोग महत्वपुर्ण रहने हुँदा परियोजनाले त्यस तर्फ विशेष ध्यान दिनुपर्ने विषय राख्नुभएको थियो। कार्यक्रम लागु हुने क्षेत्रका जनप्रतिनिधीहरु तथा कृषक समुह तथा सहकारीका प्रतिनिधीहरुको समेत उपस्थितीमा सम्पन्न उक्त अभिमुखिकरण गोष्ठीमा परियोजनाको समग्र उपलव्धी र आगामी दिनहरुमा यस क्षेत्रमा संचालन हुने कार्यक्रमहरुको सम्बन्धमा जानकारी गराउनुको साथै कृषकहरुसंग अन्तरक्रिया समेत गरिएको थियो ।

© 2025 krishipatra All right reserved