Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बन्दाबन्दी: पाल्पाका मौरी व्यवसायी मारमा

रामपुर (पाल्पा)  वर्षेनी मह बेचेर राम्रो कमाई गर्ने पाल्पा बगनासकाली गाउँपालिका ८ बस्ने पशुपती बस्यालले यस पटक भने जारी बन्दाबन्दीका कारण मह बिक्रि गर्न पाउनुभएको छैन । उत्पादित करिव पाँच सय किलो मह फर्ममा नै रोकिए पछि कहिले बन्दाबन्दी खुल्छ भन्ने चिन्ताले उहाँलाई सताएको छ ।

हिमाली बि कन्ट्रक्सन फार्म दर्ता गरी विसं २०५२ सालदेखि बस्यालले व्यवसायीक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँको फार्ममा हाल तीन सय ८८ आधुनिक घार छ । यी घारबाट वर्षमा करिब आठदेखि दश क्वीन्टलसम्म मह उत्पादन हुन्छ ।

“उत्पादित मह बेच्न पाइएको छैन, बन्दाबन्दी कहिलेसम्म हुने हो निश्चित छैन, न घार बिक्छ न मह नै, हामी व्यवसायी मारमा परेका छौँ” – बस्यालले गुनासो पोख्नुभयो ।

बजारमा हाल प्रतिकिलो रु ८०० मा मह बिक्रि हुने गरेको छ । यहाँ उत्पादित मह र घार पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपुर, अर्घाखाँची, गुल्मी, रुपन्देही, सल्यान, रुकुम, गोरखा लगायतका जिल्लामा खपत हुदै आएको छ ।

बस्यालले वर्षमा खाली र गोलासहित दुई हजार पाँच सय घार बिक्रि गर्नुहुन्छ । बन्दाबन्दीले उत्पादित मह र गोला नबिक्दा व्यवसायीलाई फार्म सञ्चालन गर्न समस्या परेको उहाँको भनाई छ ।

“गाउँपालिकाले दिएको पासले सवारी साधनमा लिएर अन्यत्र बिक्रि गर्न जान पाइएन, राज्यले मुख्य स्रोत कृषि भन्ने तर कृषकलाई कृषि उत्पादन बिक्रि गर्न जाने सहज वातावरण नबनाउँदा समस्या परिरहेको छ” बस्यालले भन्नुभयो ।

सवारी साधनमा बिक्रिका लागि लगिएको मह बीच बाटोबाटै सुरक्षाकर्मीले जान नदिएपछि पुनः फार्ममा नै फर्काएर राख्नु परेको बस्यालको गुनासो छ ।

उहाँले दुई पटक सम्म गाउँपालिकाले उपलब्ध गराएको सवारी पास लिएर विभिन्न ठाउँमा मह लिएर जानुभयो तर सो पासले जान नदिएर फर्किनु परेको बताउनुभयो । बस्यालले चार जना कामदार राखेर व्यवसाय चलाउनुभएको छ ।

बगनासकाली गाउँपालिका क्षेत्रमा मात्र व्यवसायिक रुपमा मौरीपालन गर्ने कृषक २० जना छन् । गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने गरी ७५ प्रतिशत कृषकको घरमा कम्तिमा एक घार मौरीपालन गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ ।

यहाँको वडा नं १ चिर्तुङ्गधारा, ७ को खानिगाउँ, ८ को बराङ्गदी क्षेत्र मौरीको पकेट क्षेत्र हुन् । यसवर्ष गाउँ कार्यपालिकाको पाँचौ गाउँसभाबाट स्वीकृत कृषि कार्यक्रम अन्तर्गत मौरी गोला, खाली मौरीघार, मौरीजन्य सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । जसअन्तर्गत २३ वटा मौरी गोलाघार, ४२ वटा खाली घार लगायत मौरीजन्य सामग्री वितरण गरिएको हो ।

मागका आधारमा आएका निवेदनमध्ये विभिन्न मापदण्डका आधारमा कृषकलाई मौरीघार, घारसहित मौरीगोला लगायत अन्य मौरीजन्य सामग्री वितरण गरिएको छ । मौरीजन्य सामग्रीमा मह प्रशोधन गर्ने महमदानी, आधार चाका वितरण गरिएको छ ।

बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन विगतका वर्षदेखि नै मौरी सम्बन्धि विभिन्न अनुदानका कार्यक्रम मार्फत कृषकलाई मौरी पेशाप्रति ंसंलग्न हुन प्रेरित गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउनुहुन्छ ।

मौरीघार बिक्रि गरेर वर्षमा रु दश लाख बराबरको कमाई गर्ने रामपुर नगरपालिका ६ स्थित न्यौपाने मौरी उद्योगमा यसवर्ष बिक्रि गर्न तयारी अवस्थामा रहेका गोलासहित ६० घार र खाली घार एक सय ५० छन् । बन्दाबन्दीको असरले बिक्रि नहुदा करिव दश लाख जति नोक्सान हुने अनुमान गरिएको सञ्चालक हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

“गोलासहित घार बेच्ने भनेर मह उत्पादन कम गरियो, गोला छुट्टाएर अन्यत्र घारमा सारेपछि मह लाग्दैन, गोला सहितको घार बन्दाबन्दीले खरिद गर्न कोही आउँदैनन्” न्यौपानेले भन्नुभयो ।

गोलासहित र खाली घारमा मात्र करिव १२ लाखको लगानी परेको छ । गोलासहित आठ हजार तीन सय र खाली घार चार हजार पाँच सयमा बिक्रि हुने गरेको छ । यस उद्योगमा पाँच जनाले रोजगार पाएका थिए तर अहिले बन्दाबन्दी भएपछि उनीहरु घर फर्किएका छन् ।

रामपुर नगरपालिका क्षेत्रमा हाल व्यवसायीक तवरले मौरीपालन गर्ने कृषक २० जना रहेकामध्ये कम्तिमा पाँच देखि बढीमा ५० घार सम्म व्यवसाय गर्ने रहेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

यसवर्ष शाखा कार्यालयबाट मौरीपालन सम्बन्धि कार्यक्रम समेटिएको छैन । तर वडा नं १ मा वडाको वजेटमा अनुदानमा मौरीघार वितरण गर्ने कार्यक्रम भने तय गरिएको छ । नगरको वडा नं १, २ र ७ को माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त क्षेत्र हुन् ।

जिल्लाकै निस्दी गाउँपालिकामा पनि पछिल्लो समय मौरीपालन व्यवसायमा कृषक आकर्षित हुदै गएका छन् । मौरीपालन व्यवसायमा आकर्षित हुदै गरेका यहाँका कृषक घार खरिद गर्ने वातावरण नभएपछि व्यवसायमा निरासिएका छन् ।

तीन वर्ष देखि यस व्यवसायमा लाग्नुभएका निस्दी गाउँपालिका ६ अर्चलेका कृषक ठाकुर सिङ्जालीले व्यवसाय बिस्तार गर्न २० घार थप्ने योजना बनाउनुभएको छ । तर घार खरिद गरेर ल्याउन नपाएको गुनासो गर्नुहुन्छ । उहाँको फार्ममा हाल २२ आधुनिक घार छन् । वर्षमा ६० हजारको मह बिक्रि गर्नुहुन्छ ।

गाउँपालिकाको वडा नं २ सहलकोटमा १३, वडा नं ३ को झिरुवासमा सात जना, ५ को गल्धामा पाँच र ६ को अर्चलेमा दुई जना कृषकले व्यवसायिक तवरबाट मौरीपालनमा लागेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउनुहुन्छ ।

डाँडाभेग क्षेत्र मौरीपालनका लागि सम्भावना बोकेको हुदा पछिल्लो समय यहाँका कृषक उत्साहका साथ व्यवसायमा लागेको अवस्थामा घार खरिद गरेर घरमा ल्याउन नपाएपछि चिन्तामा रहेको कोइरालाको भनाई छ ।

मह र घार बिक्रि गरेर कृषकले राम्रो कमाउन सकिने र स्थानीय तहले अनुदानमा घार उपलब्ध गराउन थालेपछि जिल्लामा मौरीपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

मह र घार बिक्रिको समस्याका सम्बन्धमा भने आफुसँग जानकारी नआएको उहाँले बताउनुभयो । मह झट्ट नबिग्रने हुदा केही समय फार्ममा नै रहेपनि आत्तिनु नपर्ने र गोला बिक्रिका लागि मौरी घारमा छुट्टाएका व्यवसायीलाई भने न मह उत्पादन न घार बिक्रि हुने चिन्ताले पिरोलेको छ ।

© 2026 krishipatra All right reserved