ग्लोबल डेरी उद्योग: किसानको सारथी बन्दै

असार ८, २०८२: कपिलवस्तुकाे इमलियामा अवस्थित ग्लोबल डेरी उद्योगले दैनिक ४० हजार लिटर दूध संकलन गरी बिक्री वितरण गर्दै यस क्षेत्रको दुग्ध उत्पादन र ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। अर्घाखाँची, दाङ, कपिलवस्तु, प्युठान, बाँके र बर्दियालगायतका जिल्लाहरूमा संकलन डिपो स्थापना गरी किसानहरूबाट दूध खरिद गर्दै आएको यो उद्योगले किसानहरूका लागि आयआर्जनको नयाँ सम्भावना सिर्जना गरेको छ।
२०७० सालदेखि सञ्चालनमा आएको यस उद्योगमा कुल १ अर्ब रुपैयाँको लगानी रहेको छ। थानेश्वर न्याैपाने,जनक न्यौपाने र कमल न्यौपाने प्रमुख लगानीकर्ताका रूपमा हुनुहुन्छ। अध्यक्ष थानेश्वर न्यौपानेको नेतृत्वमा सञ्चालित यस उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष गरी ५४० जनालाई रोजगारी प्रदान गरेको छ, जसले गर्दा यस क्षेत्रमा रोजगारीको अवसर सिर्जना भई आर्थिक गतिविधि समेत बढेको छ।
ग्लोबल डेरी उद्योगले संकलन गरेको दुध नेपालका अधिकाश सहरमा बिक्री वितरण गर्दै आएको छ भने छुर्पी र घिउजस्ता दुग्ध उत्पादनहरू जापान र अमेरिकासम्म लगायतका दर्जनाै देशमा निर्यात गरिरहेको छ, जसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन मद्धत गरेकाे छ।उद्योगले हाल ४० करोड रुपैयाँको लागतमा पाउडर प्लान्ट निर्माण गरिरहेको छ, जसले दूध खेर जाने समस्यालाई न्यूनीकरण गर्दै उत्पादनको आयु बढाउनेछ।


लामो समयदेखि दूध बिक्री नभएर चिन्तित रहेका किसानहरूका लागि ग्लोबल डेरी उद्योगले ठूलो राहत प्रदान गरेको छ। उद्योगले नियमित रूपमा दूध खरिद गर्न थालेपछि पशुपालनमा संलग्न किसानहरूले आफ्नो उत्पादनको उचित बजार मूल्य प्राप्त गर्न थालेका छन्, जसले पशुपालन व्यवसायलाई थप प्रोत्साहन मिलेको छ।

खुला सिमानाका कारण भारतीय उत्पादनसँगको प्रतिस्पर्धा उद्योगका लागि एउटा प्रमुख चुनौती हो। यसका साथै, नेपालमा बारम्बार हुने विद्युत कटौतीले उद्योगलाई ठूलो समस्यामा पारेको छ। विद्युत आपूर्तिको अनियमितताका कारण लाखौं मूल्य बराबरका उत्पादित सामान र दूध बिग्रने गरेको समेत अध्यक्ष थानेश्वर न्याैपानेले गुनासो गर्नुभयाे।
अध्यक्ष न्यौपाने आफू १० वर्ष कोरियामा काम गरेर स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ घरपरिवार मिलेर डेरी उद्योगमा लगानी गरेको बताउनुभयो। उहाँले कृषि तथा पशुपालनमा राज्य निरिहजस्तो देखिएको र कृषकसँग जोडिएका उद्योगहरूलाई प्रोत्साहन गर्ने सरकारी नीति भए तापनि अहिलेसम्म संघीय, प्रदेश तथा स्थानीय सरकारबाट कुनै ठोस सहयोग नपाएको गुनासो गर्नुभयो।

पछिल्लो समयमा कोल्ड ड्रिंक्सको विकल्पमा मोहीको बजारीकरण गर्दा उपभोक्ताहरू मोहीप्रति आकर्षित भएका छन्, जसले उद्योगका लागि नयाँ बजारकाे अवसर सिर्जना गरेको छ। यसले नेपाली उपभोक्ताको बदलिँदो स्वाद र स्वस्थ उत्पादनप्रतिको रुचिलाई पनि दर्शाउँछ।
समग्रमा, ग्लोबल डेरी उद्योगले लुम्बिनी प्रदेशमा दुग्ध उत्पादन र किसानको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। यद्यपि, सरकारी सहयोग र पूर्वाधारको विकासबिना यस्ता उद्योगहरूले पूर्ण क्षमतामा काम गर्न र देशको आर्थिक विकासमा अझ ठूलो योगदान पुर्याउन कठिन हुने देखिन्छ।

© 2025 krishipatra All right reserved