हेफरको सहयोगमा गाउँ–गाउँमा व्यवसायीक किसान अभियान

बुटवल – स्याङ्जा जिल्लाको कालिगण्डी गाउँपालिका कोटाकोटका किसान अर्जुन पाण्डे बैदेशिक रोजगारीबाट फर्केका युवा हुन । उनले सामान्य किसानको रुपमा दैनिकी गुजारा चलाउँदै आएका थिए । पारिवारिक संख्या समेत कमी भएको उनले आफु पशुपालन व्यवसायलाई व्यवसायीकीकरण गर्न सकेका थिएनन् । उनि जस्तै उक्त गाउँका ७ जना किसानहरु मिलेर एउटा समुह गठन भयो । शुभ ज्वोति कृषक समुह गठन भएपछि सुरुवाती समयमा ७ जना समुहमा आवद्ध भए र सुरुवात भयो व्यवसायीक पशु पालन अभियान ।


गत पुस महिनाबाट सुरुवता भएको यो अभियानमा अहिले १० जना व्यवसायीक किसान थपिएका छन् । ७ जनाबाट सुरुवात भएको समुहमा ८, ९ हुँदै १० जना किसान जोडीएका हुन । किसानले पहिला एउटा, बढिमा दुई वटा भैसी घरको उपभोगको लागि मात्रै पाल्दै आएकामा विक्रि गरेर आम्दानी गर्ने तर्फ ध्यान दिन सकेका थिएनन् । कालिगण्डकी गाउँपालिका र हेफरको सहयोगमा भएको सम्झौता अनुसार प्रति किसान प्रति भैसी ५० हजार रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराउने, पशु स्वाथ्य प्राविधिक समेत उपलब्ध गराउने, सहित च्याप कटर र भकारो सुधार सम्मका काम अगाडी बढाउने भएपछि समुहका किसानहरु व्यवसायीक पशुपालनमा हौसीएका हुन ।
शुभ ज्वोति कृषक समुहका सचिव समेत रहेका अर्जुन पाण्डे लामो समय विदेश बसेर फर्केका युवा हुन । उनले स्थानीय जातको १ वटा भैंसी पालन गर्दै आएका थिए । हाल पशुको संख्या थप गरी अहिले ३ वटा उन्नत भैंसी पालन गर्दै आएका छन । उनले विहानको मात्र दुध डेरीमा पठाउने गर्दछन । यसबाट अहिले मासिक ३५००० रुपैया आम्दानी गर्दछन । कालीगण्डकी गाउँपालिका र हेफरको सहयोगमा व्यवस्थित गोठ निर्माण गरेका छन । समुहमा आवद्ध भएका अधिकांस किसानहरुले न्युनतम ३ वटा र बढिमा ६ वटा सम्म भैसी पालन गरेका छन् । पालिकाले ३ वटा सम्म भैसीको लागि अनुदान उपलब्ध गराएको छ ।


सचिव पाण्डेका अनुसार गाउँ गाउँमा किसानहरुले एउटा बढिमा २ वटा मात्रै भैसी पाल्ने र व्यवसायीकीकरणमा नगैरहेको अवस्थामा किसानहरुमा पशु जागरण अभियान चलाउनको लागि व्यवसायीक किसान बन्न प्रेरणा प्रदान गर्ने खालको कार्यका लागि अभियान स्वरुप यो कार्यक्रम सुरुवात गरिएको जानकारी दिए ।
उनका अनुसार समुहमा आवद्ध किसानहरुको संख्या समेत विस्तारै बृद्धि गर्ने गरी कार्ययोजना समेत निर्माण गरिएको छ । किसानले उन्नत जातको मुर्रा भैसी किनेर पाल्दै आएका छन् भने स्थानीय जातमा पनि मुर्रा जातको क्रस गराइएको छ ।जसबाट दुध उत्पादन समेत बृद्धि भएको पाइएको हो ।


समुहका अध्यक्ष ओमकान्त पाण्डेका अनुसार किसानहरुको लागि जागरण पैदा गर्नको लागि यसरी अभियानको सुरुवात गरिएको हो । दुध विक्रीका लागि कालीगण्डकी गाउँपालिका र हेफरको सहयोगमा मिर्मि डेरी स्थापना भएको छ । स्थानीय कृषक समुहले उत्पादन गरेको भैसीको दुध मिर्मि डेरीमा जाने गरेको छ । यस समूहबाट प्रतिदिन ५० देखी ६० लिटर सम्म दुध डेरीमा पठाउदै आएका छौ, अध्यक्ष पाण्डेको भनाई छ । यो भन्दा पहिला दुध विक्री गरेर आम्दानी गर्ने किसानहरुको परिपाटी नभएपनि पछिल्लो समयमा व्यवसायीकरण बढ्दै जाँदा दुध विक्रिबाट राम्रो आम्दानी भएको उनको भनाई छ ।

 

 

© 2025 krishipatra All right reserved