अवैध कुखुरा र माछाको आयात रोक्नुपर्नेमा जोड

बुटवल । मासु व्यवसायी संघ नेपाल, रुपन्देहीको २०औँ स्थापना दिवस तथा चौधौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले देशभित्रै उत्पादन भएको मासुजन्य पदार्थको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । भारतबाट कुखुरा र माछाको अवैध आयात हुँदा यहाँका व्यवसायी मारमा परेको भन्दै उनले सबै मिलेर अवैध आयात रोक्नुपर्नेमा जोड दिए । आधुनिक पशु बधशाला सञ्चालनका लागि उपमहानगरपालिका लचिलो बन्न तयार रहेको उनले बताए ।

नगर प्रमुख पाण्डेयले बंगुर पालनमा लागेका किसानहरुले बिभिन्न रोगका कारण नोक्सानी व्यहोरीरहेको अवस्थामा पशुबिमा जरुरी रहेको बताए । मासुजन्य व्यवसायलाई व्यवस्थित गर्ने स्पष्ट खाका ल्याउन आग्रह गर्दै उनले मासु व्यवसायीहरुका समस्या समाधानका लागि बुटवल उपमहानगर छलफलका लागि तयार रहेको बताए । मासु व्यवसायीहरुले उपभोक्ताको हितमा ध्यान दिन आग्रह गर्दै नगर प्रमुख पाण्डेयले साना मासु व्यवसायीहरुलाई संरक्षण गर्न उपमहानगरपालिकाले ३० लाख बजेट छुट्टाएको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा मासु व्यवसायी संघ रुपन्देहीका कानुनी सल्लाहकार यमलाल खनालले कानुन परिमार्जन गरी मासु व्यवसायीलाई सहभागी गराएर बधशाला सञ्चालनको वातावरण तयार गर्नुपर्ने बताए । साना व्यवसायीहरु पलायन भइरहेको अवस्थामा उपभोक्ता र व्यवसायीहरुको हितका लागि लागि आवश्यक सहजीकरण गर्न तयार रहेको उनले बताए ।

 

यस्तै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले उपभोक्तालाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउनुपर्ने बताउँदै खाद्य बस्तुमा हुने मिसावट रोक्नुपर्नेमा जोड दिए । बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराईले उपमहानगरपालिकाले आर्थिक ऐन विपरीत साइन बोर्ड करको नाममा गैर कानुनी आतंक मच्चाएको बताए ।

उपमहानगरको नेतृत्वले ठेकेदारलाई ६० स्क्वायर फुट सम्मको बोर्डको कर नलिन निर्देशन दिन आग्रह गरे । कार्यक्रममा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना र कार्यक्रमहरुबारे जानकारी गराए । खुला सीमानाबाट अवैधरुपमा भित्राइने कुखुरा, खसी बोका र माछालाई नियन्त्रण गर्न नसक्दा यहाँका मासु व्यवसायी र मासुजन्य कृषि उत्पादनमा लागेका किसानहरु मारमा परेको उनले बताए । बधशाला सञ्चालनको सन्दर्भमा देखिएको अन्योल र व्यवसायी तथा तथा बुटवल उपमहानगरपालिका बिच बढेको विवाद अन्त्य भई सकेको उनले बताए ।

सिमित व्यवसायीको संलग्तामा २० हजार संख्यामा बोइलर पालन व्यवसाय अघि बढेको बताउँदै अध्यक्ष थापाले आगामी दिनमा कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, भैसी पालन र माछा पालनमा आवद्ध व्यवसायीहरुलाई सहभागी गराई आयआर्जन सँगै राष्ट्रिय आयमा समेत टेवा पु¥याउने लक्ष्य लक्ष्य लिएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख झविन्द्र बन्जाडे, कुखुरा पालक किसान संघ रुपन्देहीका अध्यक्ष ऋषिराम काफ्ले, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा बिभिन्न व्यवसायीहरुलाई सम्मान गरीएको थियो । संघका उपाध्यक्ष गोपाल क्षेत्रीको स्वागत तथा महाससचिव थानिश्वर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2025 krishipatra All right reserved