
बुटवल, चैत । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको हो । बहुउद्देश्य कार्यक्रम अन्तरगत इभि चार्जिङ स्टेशन संचालन गरेको सहकारीले सोमबारदेखि दुग्द्य जन्य पदार्थको विक्रि वितरण थालेको छ । सहकारीले सोमबारदेखि बुटवल धर्मपथमा रहेको आफ्नै भवनबाट तिलोत्तमामा रहेको लुम्विनी विशिष्टिकृत सहकारी संघका उत्पादनहरु विक्रि गर्ने गरि दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरण थालेको हो ।
दुध तथा दुधजन्य पदार्थ विक्रि कक्षको जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले उद्घाटन गर्दै सहकारीले सदस्यलाई बलियो बनाउने कार्य गरेर उदाहरणीय कार्यको थालनी गरेको बताउनुभयो । उहाँले सहकारीहरु आर्थिक बचत तथा ऋणका क्षेत्रमा मात्र केन्द्रीत जोखिममा पर्ने गरेको उल्लेख गर्दै इन्द्रेणीले थालेको दुध तथा दुग्धजन्य पदार्थ विक्रि कक्षको शुभारम्भ र इभि चार्जिङ स्टेशनको संचालनले सहकारीमा आई पर्ने जोखिम ह्रास हुने विचार राख्नुभयो । उहाँले सहकारीका यस्ताखालका गतिविधिले सदस्य र सहकारी संस्थाबिचको दुरी समेत हट्दै जाने बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले सहकारीहरु उत्पादनमुलक क्षेत्रमै लाग्नु पर्ने विचार राख्नुभयो । उहाँले सहकारीहरु उत्पादनको क्षेत्रमा लाग्दा सदस्यहरुको बचत सुरक्षित रहने र संस्था आर्थिक रुपमा बलियो हुने बिचार राख्नुभयो । कार्यक्रममा लुम्विनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष ज्ञानु पौडेलले सहकारीहरुले सदस्य केन्द्रीत कार्यक्रम गर्नु पर्ने बताउदै इन्द्रेणीले थालेका कार्यक्रमले बहुउद्देश्य कार्यक्रम सफल भएको बताउनुभयो ।
उहाँले लुम्बिनी विशिष्टीकृत सहकारीले गुणस्तरीय, स्वस्थकर दुध र दुग्धजन्य पदार्थ संकलन र उत्पादन गर्दै आएको जानकारी दिदै दुधका उत्पादनमा गुणस्तरीयतामा कुनै पनि किसिमको कमि नभएको उहाँले दावी गर्नुभयो । इन्द्रेणी सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बजारमा पाईने दुध तथा दुग्धजन्य पदार्थमा गुणस्तरीयताका प्रश्नहरु आउने गरेकाले गुणस्तरीय, स्वच्छ र स्वस्थवर्धक दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरणका लागि विक्रि केन्द्रको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले इभि चार्जर पहिलेनै संचालन गरि सकेको उल्लेख गर्दै सदस्यहरुलाई प्रत्यक्ष संस्थासँग जोड्न र गुणस्तरीय दुधका खानेकुरा उपलब्ध गराउन विक्रि केन्द्र संचालन गरेको जानकारी दिनुभयो । उहाँले सहकारीको बहु उद्देश्य कार्यक्रम अन्तरगत इभि चार्जिङ्ग स्टेशन र दुध तथा दुग्धजन्य पदार्थ विक्रि केन्द्र संचालनका लागि डेढ करोडबढीको लगानी गरि सकेको उल्लेख गर्दै यसअघि संचालन गरेको सदस्य केन्द्रीत लघुवित्त कार्यक्रमकालागि चार करोड बढी लगानी गरि सकेएको जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष माया गौतमको स्वागत तथा सचिव नरबहादुर रजालीको संचालनमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष डोलप्रसाद अर्याल, लुम्विनी सहकारीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, कल्याणकारीका अध्यक्ष लक्ष्मण अर्याल, इन्द्रेणीका संस्थापक अध्यक्ष भुपालकुमार श्रेष्ठ, पुर्वअध्यक्ष धुर्वकुमार धिताल, शिवलाल राना, मित्रबहादुर शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, विशिष्टिकृत सहकारीका उत्पादन प्रमुख मिना चिदी रानालगायतले इन्द्रेणी बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रका कार्यक्रम संचालन गरेकोमा शुभकामना दिनुभयो । ६३ करोड कुल पँुजी रहेको इन्द्रेणीले साढे पाँच करोड बढी बहुउद्देश्य कार्यक्रममा लगानी गरेको छ । दुई हजार एक सय शेयर सदस्य रहेका छन् ।