
बुटवल ,माघ । नेपाल सरकारका पुर्व गृह तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले स्थानीय उत्पादनको प्रर्वद्धनमा सहकारीले खेलेको भुमिका महत्वूर्ण भएको बताएका छन् । पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँपमा रहेको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारीले आयोजना गर्न लागेको तेस्रो कृषि मेला प्रर्दशनीको तयारी बैठकलाई सम्बोधन गर्दै पुर्वमन्त्री श्रेष्ठले सहकारीले स्थानीय उत्पादन, विकास तथा प्रर्वद्धनको लागि महत्पूर्ण भूमिका खेलेको भन्दै प्रसंसा समेत गरेका हुन । श्रेष्ठले उत्पादनमा आधारित, कृषि उपजसँग जोडिएका मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी जस्ता सहकारी नै किसानका सहयोगी हुन्, समृद्धिका सम्वाहक हुन् भनेर प्रशंसा गरे । कतिपय सहकारीहरूलाई नियमनको खाँचो औंल्याउदै उनले सहकारीले किसानको हितको मेला कृषि मेला गर्न लागेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष घनश्याम घिमिरेले सहकारीले गर्दै आएका कार्यको विषयमा जानकारी दिदै अघिल्लो बर्ष सहकारीले आयोजना गरेको कृषि, मेला प्रर्दशनीको विषयमा थप जानकारी समेत गराउँदै आगामी मेला सफल बनाउनको लागि सबैले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा यहि फागुन ३ गते किसानको आफ्नै मेला नाम दिएर तेस्रो कृषि मेला पर्यटन प्रर्दशनी आयोजना गर्दै छन् । ‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागिएको सहकारीका अध्यक्ष घिमिरेले जानकारी दिए । प्रर्दशनीमा प्रतियोगीतात्मक कृषि प्रर्दशनी, रैथाने बाली प्रर्दशनी, प्रतियोगीतात्मक बाख्रा, कुखुरा प्रर्दशनी, कृषि यन्त्र उपकरण प्रर्दशनी, बीऊ विजन प्रर्दशनी तथा विक्रि वितरण, नर्सरी विरुवा विक्री वितरण सहित पशुरोग निदान तथा गोबर परिक्षणको कार्यक्रम राखिएको छ । यस्तै कृषि संवाद कार्यक्रम, कृषि परिकारका स्टकलहरु, प्लान्ट क्लिीन समेत सञ्चालन गरिने र जैविक मल उत्पादन प्रर्दशनी र माटो परिक्षण समेत गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । मेलाको तानसेन नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय प्रर्वद्धकको रुपमा रहेको छ ।