
बुटवल, ०७ माघ ।
पछिल्लो समयमा व्यवसायिक पशुपालनमा लाग्ने मानिसहरूको संख्या घट्दै गएको छ । तर देशभर उत्पादन हुने दूध मध्ये लुम्बिनी प्रदेशले १८ प्रतिशत योगदान दिएको दुुग्ध व्यवसायीहरूले जनाएका छन् ।
लुम्बिनी प्रदेशले कुल उत्पादनको बार्षिक ४ लाख ८ हजार २ सय ६ मेट्रिक टन दूध उत्पादन गर्दै आएको नेपाल डेरी एशोसीयसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने बताउँछन् । प्रदेशमा कुल उत्पादन हुने दूध देशभर उत्पादन हुने दूधको १७.९ प्रतिशत रहेको अध्यक्ष न्यौपानेको भनाइ छ । प्रदेशमा उत्पादन भएको दूध मध्ये १५ प्रतिशत मात्रै औपचारिक क्षेत्र मार्फत बजारमा आउने गरेको छ । यस्तै ३५ प्रतिशत अनौपचारिक क्षेत्र मार्फत बजारीकरण हुँदै आएको अध्यक्ष न्यौपानेको भनाइ छ । यस्तै बाँकी ५० प्रतिशत दूध भने उपभोक्ताहरूले घर–घरमा नै खपत हुने गरेको पाइएको हो ।
उत्पादन भएको दूधको बजारीकरणको लागि औद्योगिक उत्पादनमा भने कमै मात्रामा जाने गरेको पाइएको छ । जसको कारण दूधको उत्पादकत्वमा समेत मापनमा समस्या छ । किसानले उत्पादन गरेको दूधको उचित मूल्य पाएपनि त्यसको उत्पादकत्वमा बृद्धि नहुँदा समस्या सृजना भैरहेको हो ।लुम्बिनी प्रदेशमा दूध, नौनी, ध्यु बढि मौजाद भई बजार आवा भएको कारण डेरी एशोसीयसनले बजार विस्तारको लागि समेत पहल गर्दै आएको छ । एशोसीयसनले नेपालमा दूध तथा दुग्धजन्य बस्तुको खपत बढि भएको बेलामा भारतबाट आयात हुने अवैध दूध तथा दुग्धजन्य बस्तुको आयाता रोक्नको लागि समेत पहल गर्दै आएको छ ।
नेपालको कुल कुल गाहस्र्थ उत्पादनमा कृषि क्षेत्रको २४ प्रतिशत रहेकोमा दुग्ध क्षेत्रको मात्रै ९ प्रतिशत हिस्सा ओगटेको छ । दैनिक सङ्कलन उत्पादन ६२ लाख लिटर र दूध खपत ३१ लाख लिटर (उत्पादनको ५० प्रतिशत मात्रै), बजारमा आउन नसकेको दूध ३१ लाख लिटर रहेको छ ।उपत्यकामा मात्रै दैनिक १० लाख लिटर दूध खपत हुन्छ । दैनिक ७ करोड बराबरको दूध बिक्री भइरहन्छ । निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको छ भने ५० हजारले रोजगारी र निजी क्षेत्रले वार्षिक राजस्व तिर्ने रकम २ अर्ब रहेको तथ्याङ्कले देखाएको छ ।
दूध उत्पादन क्षेत्रमा ६ लाख परिवार किसान संलग्न (अप्रत्यक्ष रूपमा परिवारका ५० लाख मानिस) भएर काम गरेका छन् । उत्पादनको फर्मल सेक्टरमा आउने दूध १७ प्रतिशत छ । नेपालका डेरीलाई साना, घरेलु मझौला र ठूला उद्योग गरी चार भागमा वर्गीकरण गरिएको छ । असोजदेखि फागुनसम्म बढी दूध उत्पादन हुने र चैतदेखि भदौसम्म कम उत्पादन हुने अर्थात् सुक्खा समय रहेको नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।
#cstbutwal today