
बुटवल-तरकारीको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै प्रशोधन केन्द्र स्थापना गरी उन्नत प्याकेजिङ गर्ने उदेश्यले रुपन्देहीको कञ्चन गाउँपालिकामा तरकारीको मूल्य श्रृंखला परियोजना संचालन हुने भएको छ ।
कञ्चन गाउँपालिका, हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल, र सेतो गुराँस वाल विकास सेवा रुपन्देही वीच तरकारीको मूल्य श्रृंखला विकासका लागि नवीनतम विकास परियोजना सुरु गर्न त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, हेफर नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थराज रेग्मी, र सेतो गुराँस वाल विकास सेवाकी कार्यवाहक अध्यक्ष उमा भण्डारीले हस्ताक्षर गरेका हुन ।
।२६ महिनाको अवधी रहेको परियोजनाले तरकारी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र प्रशोधन केन्द्र स्थापना गर्दै उन्नत प्याकेजिङ र ब्रान्डिङ क्षमतासहित सञ्चालन गर्ने लक्ष्य राखेको छ । तरकारीको संकलन, प्रशोधन तथा बजारीकरण कञ्चन गाउँपालिकाभित्र रहेको कृषि सहकारीमार्फत संचालन हुनेछ ।
हेफर नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थराज रेग्मीले परियोजना मार्फत तरकारी उत्पादन गर्ने किसानहरूको समूह गठन र सुदृढीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उल्लेख गरे ।
रेग्मीले गुणस्तरीय र वातावरणमैत्री उत्पादन सुनिश्चित गर्न दिगो र बजारमुखी उत्पादन विधिहरूमा जोड दिइने बताए कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँपालिका भित्रका कृषकहरुको आम्दानी बृद्धी गराउन परियोजना संचालन गर्न लागिएको बताए ।।
यो परियोजनाले कञ्चन गाउँपालिकामा दिगो कृषि अभ्यासहरू एकीकृत गर्दै उत्पादन वृद्धि र बलियो बजार जडानमार्फत तरकारी खेतीमा परिवर्तन ल्याउनेछ । किसानहरूले जलवायु स्मार्ट प्रविधि र बजारमुखी उत्पादन विधिहरू अपनाएर ताजा र प्रशोधित तरकारीको भरपर्दो आपूर्ति सुनिश्चित गर्न सक्षम हुनेछन् । प्रशोधन केन्द्रले मूल्य अभिवृद्धिका लागि केन्द्रको रूपमा कार्य गर्दै किसानलाई प्रतिफल र उपभोक्तालाई गुणस्तरीय उत्पादन प्रदान गर्ने जनाइएको छ ।