बुटवल, मंसिर–
नवलपरासीको सुनवल नगरपालिका (२ मा डेढ करोड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ । एक आयोजित कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालले पशु सेवा केन्द्रको उद्घाटन गरिन्। उनले सेवा केन्द्र सञ्चालनमा ढिलाइ भए पनि अब सेवा प्रवाहमा कुनै कमी आउन नदिने बताइन् । पशु सेवा केन्द्रमा आउने गाई,भैँसी, बाख्रा लगायत जनावरलाई पशु विज्ञ डाक्टर द्वारा निःशुल्क औषधोपचार गर्ने बताइन् । पशु सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका गाई भैँसी, बाख्रा लगायत चौपायाको उपचारमा सहज हुने र पशुविज्ञ चिकित्सक द्वारा निःशुल्क औषधोपचार हुने जनाइएको छ ।
संघीय सरकार र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएको केन्द्र सञ्चालनमा आएपछि स्थानीय पशुपालक किसान निकै लाभान्वित हुने अपेक्षा गरिएको सुनवल-२ का वडाध्यक्ष राजेन्द्र यादवको भनाइ छ ।
यहाँ विसं २०७८ मा पशु सेवा केन्द्र भवन निर्माण सुरु भएको थियो । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना तथा हरिहर भवन ललितपुरको आर्थिक सहयोगमा एसियाटिक वसन्त जेभीले भवन निर्माण गरेको हो । पशु सेवा केन्द्रको काम सम्पन्न गरेर २०७९ सालमा सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । निर्माणाधिन सेवा केन्द्र समयमा सञ्चालनमा आउँदा पछिल्लो समय यहाँका धेरै पशु चोैपाया उपचार नपाएर मृत्युु भएको स्थानीय हीरालाल यादवले बताए । पशु चौपाया बिरामी हुँदा अब समयमै उपचार पाउनेमा आफूहरू विश्वस्त भएको स्थानीय जित बहादुर पौडेलले आशा व्यक्त गरे ।