पाल्पामा सुन्तला महाेत्सव आयोजना हुदै

पाल्पा,  मङ्सिर:

सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न पाल्पाका दुई पालिकाले महोत्सव गर्ने भएका छन् । पालिकाका अधिकांश किसानले उत्पादन गरेको सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला महोत्सव गर्ने तयारी गरेका छन् ।

दुई पालिकाभित्रका पाँच सय बढी किसानले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । यहाँका किसानले उत्पादन गरेको सुन्तलाको बजार बिस्तार गर्न आगामी मङ्सिर २१ र २२ गते सुन्तला महोत्सव गर्न लागेको रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए ।

सुन्तलाको व्यावसायिक उत्पादनमा लागेका किसानलाई महोत्सवले प्रोत्साहन गर्न महोत्सव गर्न लागेको जानकारी उनले दिए । महोत्सवले सुन्तला उत्पादन गर्दाका सिकाई र अनुभव आदानप्रदान र बजारको सुनिश्चिता गर्न सकिने उनले विस्वास गरे ।

सुन्तला महोत्सवमा सुन्तलाका दाना, जुस, जाम तथा अन्य बस्तुको समेत प्रदर्शन गरिने बताए । यस्तै सुन्तलाजन्य कृषि बस्तु कागती, अमिलो, जुनार, मुन्तला पनि महोत्सवको स्टलमा राखिने जानकारी पालिकाले दिएको छ ।
सुन्तला महोत्सवमा सुन्तलाको खेती गरिरहेका र रुचि राख्ने किसानलाई सुन्तला खेती, यसको बजारीकरण, सुन्तलाबाट बन्न सक्ने बस्तु, सुन्तलामा लाग्ने रोग तथा यसबाट बच्ने उपाय र सुन्तलाजन्य बिरुवाको प्रदर्शन समेत गरिने रिव्दीकोट–७, का वडाअध्यक्ष दानबहादुर कुँवरले बताए ।

गत वर्ष रिव्दीकोट गाउँपालिकाले पहिलो पटक सुन्तला महोत्सव राखेको थियो । यस वर्ष दुई पालिकाले संयुक्त रुपमा सुन्तला महोत्सव गर्न लागेको जानकारी उनले दिए । पछिल्लो समय अन्य खेती छाडेर यस भेगका किसानले सुन्तलाको व्यावसायिक उत्पादन गर्दै आएका छन् ।

जिल्लाबाट गत वर्ष ४६ करोडको सुन्तला निर्यात हुँदा यी दुई पालिकाबाट मात्रै ७० प्रतिशत बढी सुन्तला बिक्री भएको थियो । रिव्दीकोट गाउँपालिकाको छ वटा वडामा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । यस्तै रैनादेवी छहरा गाउँपालिकाको तीन वटा वडामा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

© 2024 krishipatra All right reserved