
बुटवल कार्तिक । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजानमा जिल्लामा क्रियाशिल भ्याक्सीनेटर(पशुखोपकर्ता)हरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाको स्थानीय तहमा कार्यरत, नीजीरुपमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ताकोरुपमा कार्यरत रहेका र पशु स्वाथ्य प्राविधिकहरुको सहभागीता रहेको थियो ।
जिल्लाका १४ वटा पालिकाका सहभागीता रहेको कार्यक्रममा सहजीकरण गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख दिपक भुसालले नेपाल सरकार, प्रदेश सरकारले लिएको विभिन्न पशु चौपायमा लाग्ने रोगको रोकथामको लागि खोप अभियान प्रभावकारी ढंगबाट अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । रुपन्देहीमा पशु चौपायमा लगाउने खोपको अवस्था, आपुर्ती, खोप कर्ताहरुको सेवा सुविधा लागायतको विषयमा प्रकाश पार्दै प्रमुख भुसालले सबैको सहकार्यबाट खोप कार्यक्रम अभियानको रुपमा सफल हुने बताए । पछिल्लो समयमा प्रदेश सरकारले दुई वटा जिल्लामा खोरेत रोग उन्मुलन घोषण गरी काम गरिरहेको अवस्था रहेको भन्दै कार्यालय प्रमुख भुसालले रुपन्देही जिल्ला सहितका तराईका जिल्ला यसको उच्च जोखिम जिल्लाको रुपमा रहेको कारण सम्पूर्ण पशुचौपायमा खोरेत सहितका अन्य खोप लगाउन आवश्यक रहेको बताएका थिए । उनले भने–‘खोप अभियानको रुपमा अगाडी बढाउन आश्यक छ, यसमा प्रदेश सरकार संघीय सरकार सहित स्थानीय तहले समेत साथ र सहयोग गर्न आवश्यक छ । ’
कार्यक्रममा खोपको प्रयोग, भण्डारण, ढुवानी, प्राविधिक सावधान, प्रयोग पछिको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दे पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीका प्रमुख डा.भरत काफ्लेले कुनैपनि पशु चौपायारोगबाट जोगाउनको लागि सबैभन्दा ठुलो भुमिका खोपको हुुनुपर्ने बताएका थिए । खोप उत्पादन देखि लिएर भण्डारण, प्रयोगमा उच्च सावधानी अपनाउनुपर्ने भन्दै डा. काफ्लेले खोप प्रयोगमा प्राविधिकहरुले उच्च सावधानी सहित कार्य गर्नको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले पशुलाई पनि खोप लगाउनुपर्छ भन्ने धारणा देखि अहिले खोप अभियान, नियमितता सम्म आउँदा धेरै परिर्वतन आएको बताए । उनले पशु स्वाथ्य कर्मीहरुको बीमा लगायतको लागि सरकारले योजना बनाएर बीमा लागू गर्नुपर्नेमा जोड दिदै उनले उनले खोप अभियान, पशु स्वाथ्यकर्मीहरुको अफ्ठारोको विषयमा सम्बन्धीत निकायमा झकझकाउनको लागि आफु जहिले पनि सहकार्य गर्न तयार रहेको बताएका थिए । आफैमा पशु स्वाथ्य प्राविधिक समेत रहेको भन्दै जिसस प्रमुख चापागाईंले पशु स्वाथ्यकर्मीले खोप लगायतका अन्य कार्यमा उच्च सावधानी सहित सचेतनामुलक रुपमा कार्य सम्पन्न गर्नको लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनलय बुटवलका बरिष्ठ पशु चिकित्सक लोकरोज भुषाल, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भैरहवाका बरिष्ठ मत्स्य विकास अधिकृत रुची श्रीवातव, पशु विकास अधिकृत टुकराज न्यौपाने लगायतले आ आफ्नो भनाई राखेका थिए ।