बुटवल, भदौ । नेपालमा आल्फान्सो जातको आँप खेतीको विषयमा शुद्धोधन गाउँपालिका वडा नम्बर २ कलुवामा अन्तरक्रिया गरिएको छ । नेपालकै नमुना एकिकृत कृषिफार्म शाह कृषि फार्मको आयोजानमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालय बुटवलका महानिर्देशक याम नारायण देवकोटाले नेपालमा पछौटे जातको रुपमा रहेको अल्फान्सो आँप खेतीको संभावना उच्च रहेको बताएका थिए ।
उनले शाह कृषि फार्मका सञ्चालक नुरुद्दीन शाहले यसको परिक्षण पश्चात व्यवसायीक उत्पादन समेत गरिसकेको अवस्थामा यसको विस्तार, विकासका लागि प्रदेशको कृषि निर्देशनालय सदैभ तयार रहेको बताए ।
प्रदेशको कृषि निर्देशनालय किसानहरुको समस्या समाधानको लागि के कस्तो प्रकृतिको सहयोग गरेमा किसानले व्यवसायीक उत्पादन गर्न सक्छन भन्ने विषयमा सजग रहेको भन्दै महानिर्देशक देवकोटाले अनुदान चाहिने किसानलाई अनुदान, प्राविधिक सेवा चाहिने किसानलाई प्राविधिक सेवा, कर्जा चाहिने किसानलाई कर्जा समेत प्रवाह गर्ने कार्यमा सहजीकरण गर्न सरकार जहिले पनि तयार रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कमल खड्काक्षेत्रीले पालिकास्तरबाट पालिकामा रहेको यो फार्मको विकासको लागि जहिले पनि सहकार्य गर्न तयार रहेको बताएका थिए । बनझर जंगलको रुपमा रहेको स्थानलाई नमुना कृषि फार्म स्थापना गर्न शाह परिवारको ठुलो योगदान रहेको भन्दै उनले फार्मको विकासको लागि वडा, पालिका स्तरबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा नेपाल चेम्बर अर्फ कर्मसका प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले किसानको उत्पादन बजारीकरणमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सहजीकरण गर्नुपर्ने बताएका थिए । किसानको उत्पादनपछिको विक्रि ग्यारेन्टी लगायतका, उत्पादनमा आधारित अनुदानमा सबै निकायबाट सहजीकरण भएमा व्यवसायीक किसानहरु क्हिले पनि मारमा नपर्ने उनको भनाई थियो ।
कुमारी बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख चेतकान्त बन्जाडे जैशीले बैंक तथा वित्तीय संस्था किसानको सारथी रहेको भन्दै नेपाल सरकारबाट तोकीएको अनिवार्य कृषि कर्जा सहित अन्य बेलामा पनि किसानहरुको लागि सहज, सरल, र सुलभ कर्जा प्रदान गर्न जहलिे पनि तयार रहेको बताएका थिए ।
कार्यक्रममा लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बाबुराम भुषाल, कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव प्रसाद अर्याल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
शाह कृषि फार्मका सञ्चालक नुरुद्दीन शाहले नेपालकै नमुना फार्मको रुपमा फार्म विकास भैरहेको जानकारी दिदै पछौटे जातको रुपमा रहेको अल्फान्सो जाँतको आँपको खेती विस्तारको लािग अन्य किसानसंग सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले पूर्णरुपमा अर्गानिक कृषिजन्य बस्तु उत्पादनमा लागिरहेको जानकारी दिदै सबै किसानहरुले पूर्णरुपमा अर्गानिक उत्पादनमा विशेष जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका कृषि शाखा, वडा सचिव, स्थानीय किसान, सरोकारवाला निकाय लगायतको सहभागीता रहेको थियो ।