खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ग-यो एक बर्षमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर

भैरहवा,  साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले गत आर्थिक वर्षमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्मको अवधिमा १८ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जसअन्तर्गत ३ मुद्दा नवलपरासी जिल्ला अदालत, ८ वटा मुद्दा रुपन्देही जिल्ला अदालत, ३ मुद्दा जिल्ला प्रशासन कार्यालय नवलपरासी र ४ वटा मुद्दा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलुवाईले बताए ।

आइतबार कार्यालयको सभाहलमा आयोजित आ.व. २०८०/०८१ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीमा हलुवाईले आ.व. २०८०/०८१ मा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा विक्री वितरण गरेको कसूरमा चौथो त्रैमासिकमा एउटा मुद्दा र वार्षिक अवधिमा १८ वटा मुद्दा दायर गरिएको जानकारी दिए । त्यस्तै आ.व. २०८०/०८१ को चौथो त्रैमासिकमा खाद्य स्वच्छता सर्भिलेन्सका लागि नमूना संकलन लक्ष्य ५० रहेकोमा ६२ वटा संकलन भएको र वार्षिक लक्ष्य २०० रहेकोमा २२० नमूनाहरु संकलन गरिएको हलुवाईले जानकारी दिए ।  त्यस्तै गत आ.व.मा होटल तथा रेष्टुरेण्ट अनुगमनको वार्षिक लक्ष्य ५२ पटक रहेकोमा ५४ पटक अनुगमन गरिएको उनले जानकारी दिए । उनका अनुसार यस अवधिमा दुईपटक होटल लोगो स्तरीकरण तथा नविकरण कार्यक्रम अन्तर्गत बुटवल, भैरहवा क्षेत्रका २३ वटा होटलहरु परेका थिए । त्यसै गरी आ.व. २०८०/०८१ को चौथो त्रैमासिकमा ३८ लक्ष्य रहेकोमा ४३ वटा उद्योग अनुगमन गरिएको र वार्षिक १५० उद्योग अनुगमन लक्ष्य रहेकोमा २०१ उद्योग अनुगमन गरिएको उनले जानकारी दिए । उनका अनुसार दाना उद्योग अनुगमन वार्षिक लक्ष्य १२ रहेकोमा ४ दाना उद्योग अनुगमन भएका छन् ।

संवेदनशील खाद्य पदार्थ (दुध, तेल तथा पानी) उत्पादन गर्ने उद्योग अनुगमन चौथो त्रैमासिक अवधिमा लक्ष्य ६ रहेकोमा प्रगति पनि सोही अनुसार ६ नै रहेको उनले बताए । चौथो त्रैमासिक अवधिमा ३३ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, २२ उद्योग अनुज्ञापत्र नवीकरण। वार्षिक अवधिभरमा १०६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी र १३३ उद्योग अनुज्ञापत्र नविकरण तथा १५६ नया उद्योग स्थापना गर्न सिफारिस गरिएको उनको भनाइ छ ।  कार्यालय प्रमुख हलुवाईका अनुसार गत आ.व.मा खाद्य तथा दाना बजार र उद्योग निरीक्षण अनुगमन गरी ऐन नियमानुसार चौथो त्रैमासिकमा २५ नमूनाहरु र वार्षिक अवधिमा लक्ष्य १०० रहेकोमा १०२ नमूनाहरु संकलन भएका थिए ।

‘२०८१ असार मसान्तसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त नमूनाहरुको विश्लेषण÷परीक्षण प्रतिवेदनमा ८ नमूनाहरुको प्रतिकूल पाइएको थियो, ’उनले भने । यो कार्यालयको ६ वटा जिल्ला कार्य क्षेत्र छ । कार्यालयले आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य तथा दाना ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गरी खाद्य प्रविधिको विकास तथा खाद्य पोषणको सुधारका निम्ति विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । त्यस्तै खाद्य/दाना पदार्थ विश्लेषण/परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गरी स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्दै आएको छ ।

© 2024 krishipatra All right reserved