बुटवल, असार
बुटवल कालिकानगरमा जन्मी हुर्किएकी दुर्गा पौडेलले १७ वर्षको उमेरसम्म खेतबारीमा टेक्ने अवसर नै पाएकी थिइनन् । घरमा पाका पुस्ताले खेतीपातीको बारेमा सुनाउने अनुभव, विद्यालयमा शिक्षकले पढ़ाउदा गरेको कृषिको वर्णन र टेलिभिजन हेरेर खेतीपातीको बारेमा धेरै कुरा बताउन सक्ने भएपनि उनले आफैले खेतमा टेकेर अनुभव गर्न पाएकी थिइनन् । शनिबार बिहान भने दुर्गाले झरीमा रुझ्दै धान रोप्ने र खेतीपातीका अनेकौ कामहरुको बारेमा जान्ने अवसर पाईन् ।
उनले रोपाहारिसंग धान रोप्न मात्र सिकिनन् किसानका समस्याहरु समेत बुझ्ने अवसर पाईन् । उनलाई यो अवसर दिलाएको थियो उनि पढ्ने विद्यालय कालिका मानवज्ञान माविको ’किसानसँग विद्यार्थी’ कार्यक्रमले ।
कालिका मानवज्ञान माविमा कक्षा ९ देखि १२ सम्म अध्ययन गरिरहेका ४० जना विद्यार्थीहरु शनिबार बिहान तिलोत्तमा ८ शान्तिनगर स्थित गौरीलाल कंडेलको खेतमा पुगेका थिए । ति मध्ये अधिकांश विद्यार्थीहरु बुटवल बजारमा जन्मी हुर्केकाले धान रोपाईको बारेमा प्रत्यक्ष अनुभव गर्न नपाएका विद्यार्थीहरु थिए । विद्यार्थीहरुलाई रोपाईको जानकारी दिनको लागि किसानसँग विद्यार्थी कार्यक्रमका संयोजक दिपक बन्जाडेले विद्यार्थीहरुलाई खेतसम्म पु¥याएका थिए ।
रातीदेखि पानी परिरहेकोले विद्यार्थीहरुलाई रोपाई देखाएर मात्र फर्काउने योजनामा बन्जाडे थिए । तर विद्यार्थीहरुको उत्सुकता देखेपछी उनि स्वयम् खेतमा पसे अनि झरीको पर्वाह नगरी विद्यार्थीहरु पनि रोप्न ठिक्क पारेको खेतमा धान रोप्न पुगे । खेत रोपिरहेका रोपाहारिले बिउ गोड्ने र धान रोप्ने तरिका सिकाएपछी विद्यार्थीहरुले एक घण्टासम्म अन्य रोपाहारी सरह धान रोपे ।
खेतमा पुगेर रोपाई गर्न पाउदा आफुलाई जिम्मेवारीबोध महसुस भएको कक्षा १२ मा कानून अध्ययनरत छात्र प्रिया पाण्डेले बताईन् । उनि भन्छिन,’ कक्षामा किताब पढेर गरेको अध्ययनले कृषि उत्पादनको प्रक्रियाको बारेमा जानकारी दिएपनि किसानको मेहनत, पसिना, दुख र माटोसंगको भावनात्मक सम्बन्ध महसुस गर्न पाईएको थिएन, किसानासंगै खेतमा पुगेर रोपाई गर्दा अन्नको वास्तविक मुल्य र महत्व थाहा पाउन सकियो, यसले किसानप्रति मनमा अझ बढी सम्मान विकास भएको छ ।’
कक्षा ९ मा अध्ययनरत छात्र स्वरुप न्यौपानेले विद्यालयले संचालन गरेको किसानसँग विद्यार्थी कार्यक्रमले गाउँघरलाई बुझ्न र खेतीपाती गर्ने सिप हासिल गर्न सहयोग गरेको बताए ।
विद्यार्थीलाई रोपाई गर्ने सिप सिकाउन सहजीकरण गरेकी स्थानीय किसान माया बलालले विद्यार्थीहरुले कृषि सम्बन्धि जानकारी दिंदा निकै उत्सुकताका साथ सुनेको र रोपाई सम्बन्धि काम छिटो सिकेको बताउदै सबै विद्यालयहरुले विद्यार्थीहरुलाई खेतबारीमा नै लगेर कृषि सम्बन्धि जानकारी दिने र अभ्यास गराउने हो भने खेतीपाती गरेमा सानो भईन्छ भन्ने मानसिकतामा कमि आउने र कृषि क्षेत्रमा युवाहरु अडिने अवस्था आउन सक्ने कुरामा जोड दिईन् ।
किसानसँग विद्यार्थी कार्यक्रमका संयोजक दिपक बन्जाडेले विद्यार्थीहरुलाई कृषिको व्यवहारिक ज्ञान र सिप नहुँदा कृषि कार्य गर्न नचाहने र किसानलाई राम्रो दृष्टिले नहेर्ने प्रवृति विकसित हुँदै गएकोले विद्यार्थिहरुलीई कृषिको अवस्था, सम्भावना र समस्याहरुको जानकारी दिन, कृषि पेशाप्रति सकारात्मक बन्न र कक्षामा पढेको किताबी विषयवस्तुलाई व्यवहारिक बनाउनको लागि विद्यालयले विगत ४ वर्षदेखि किसानसँग विद्यार्थी कार्यक्रम संचालन गर्दै आएको बताए ।
किसानसँग विद्यार्थी कार्यक्रम विद्यार्थीको क्षमता विकास गर्न विद्यालय श्रोतबाट संचालन गरिने नियमित कार्यक्रम भएको र यस अन्तर्गत विद्यार्थीहरुलाई समुह बनाएर खेतीपाती, तरकारी र बागवानी, कृषि वन, पशुपंक्षीपालन, मत्स्यपालन गरिएको क्षेत्रमा स्थलगत अवलोकन गराउने, किसानसँग अन्तरक्रिया गराउने र कृषि सम्बन्धि विभिन्न विज्ञहरुलाई विद्यालयमा बोलाएर विद्यार्थीहरुसंग अन्तरक्रिया गराउने कार्य गरिरहेको विद्यालयका प्रधानाध्यापन दिनेश थापाले जानकारी दिए ।
विद्यार्थीहरुलाई रोपाई सिप सिकाउने काममा विद्यालयका शिक्षकहरु राजेन्द्र रेग्मी, डीआर पाण्डे, निशा ज्ञवाली, विष्णु कुमारी पौडेलका साथै स्थानीय कृषकहरुले सहजीकरण गरेका थिए
photo:youbraj kandel/krishipatra.com