विषादीमा भ्याट लगाइएको भन्दै व्यवसायीको विरोध

बुटवल, असार
सरकारले आगामी बजेटमा विषादीमा मूल्य अभिवृद्धि कर लगाएपछि देशभरका विषादी व्यवसायीले विरोध जनाएका छन् ।
विषादी व्यवसायी संघले शुक्रबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराएका छन् । १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा विषादी पंजिकरण गर्दा लाग्ने शुल्कमा ५०० देखी १००० प्रतिशत सम्म वृद्धि भएकाले त्यसको भार वस्तुको मूल्यमा पर्ने भएको छ ।
विषादी नितान्त कृषि कार्यमा प्रयोगमा आउने भएकाले किसानलाई थप भार थोपारिएको छ । विषादी व्यवसायी संघ रुपन्देहीले जिल्ला प्रशासनमा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै करको दायरा बढाउँदा अब उत्पादित उपजको लागत मूल्य झन बढ्ने जिल्ला अध्यक्ष प्रकाश अधिकारीले बताए ।
प्रदेश अध्यक्ष लाल बहादुर थापाले अवैध बाटो भएर आउने पंजिकरण नभएका विषादी प्रयोग गर्दा किसान र उपभोक्ताको स्वास्थ्यमा असर गरिरहेको बताउनुभयो । यस्तो अवस्थामा करको दायरा बढेपछि विषादीमा तस्करी झनै मौलाउने व्यवसायीहरुको दाबी छ ।
किसान तथा व्यवसायीको हित विपरित हुने यस्ता नीति उपर विमति जनाउँदै असार १४ र १५ गते रुपन्देही जिल्लाभरका कृषिसंग सम्बन्धित पसलहरु बन्द गरी सांकेतिक विरोध जनाएको विषादी व्यवसायी संघका केन्द्रिय सदस्य भानु पौडेलले बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिमा नाकामा हुने अवैध क्रियाकलाप रोक्न पहल गर्ने बताएका थिए । पंजिकरण नभएका विषादी प्रयोगमा रोक तथा दर्ता नभएका पसलहरु बन्द गराउने कार्य प्रशासनले प्राथमिकताका साथ गर्ने बताए ।

 

© 2025 krishipatra All right reserved