
बुटवल, असार २ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को आयोजनामा बुटवलमा परियोजना प्रर्दशन प्रतिबिम्ब कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा आयोजनाका निर्देशक बैकुण्ठ अधिकारीले यो आयोजना सुरु भएदेखि हालसम्म गरेका बिभिन्न कामहरुबारे जानकारी गराए । आर्थिक वर्ष २०७४÷७५ देखि सुरु भएको आयोजना असार १६ गते सम्पन्न हुन लागेको उनले बताए । आयोजनाले लुम्बिनीसहित पाँच प्रदेशका २८ जिल्लाका २८९ स्थानीय तहमा गाई भँैसीको दूध, खसीबोकाको मासु, भेँडा च्याङ्ग्राको पस्मिनालगायतको उत्पादनमा लगानी गरेको उनले जानकारी गराए ।
जहाँजहाँ यो आयोजना सञ्चालन भइरहेको छ, त्यहाँ दूध उत्पादन ४० प्रतिशत र मासु उत्पादन २० प्रतिशत र बिक्री ३० प्रतिशतले वृद्धि भएको साथै देशभरकै उत्पादनमा सकारात्मक प्रभाव पारेको उनले दावि गरे । आयोजनाका निर्देशक अधिकारीका अनुसार विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलबाट सबैभन्दा धेरै १२५ वटा उपआयोजना सञ्चालन भएका छन् । यस्तै पोखराबाट ११०, हेटौँडाबाट १०६ र मोरङबाट १०५ वटा उपआयोजना सञ्चालनमा छन् । यस आयोजनाबाट सञ्चालित उपआयोजनामा नेपाली बैङ्क तथा वित्तीय संस्था, व्यक्तिगत समूह वा सहकारीले पनि लगानी गरेका छन् । आयोजनाले कुल लगानीको ५० प्रतिशत अनुदान कृषकलाई दिने गरेको निर्देशक अधिकारीले बताए । यो आयोजनाले देशभर ४ अर्ब ३३ करोड लगानी गरेकोमा लुम्बिनी प्रदेशका ७ जिल्लामा ४५ करोड बढी लगानी भएको उनले बताए ।
यस्तै, आयोजनाका प्रमुख परामर्शदाता डा.प्रभाकर पाठकले करिब ७ वर्ष यो आयोजना सञ्चालन गर्दा किसान तथा फर्मलाई के कस्ता समस्या तथा सहजता भयो पहिचान गर्ने, यो कार्यक्रमको उपलब्धी र आगामी दिनमा नयाँ आयोजना सञ्चालन गर्दा सुधार गर्नुपर्ने विषयको जानकारी लिने र किसानसँग पत्यक्ष भेट गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरीएको बताए । बिभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका ४४६ वटा उपआयोजनाको संरक्षण र सञ्चालन गर्ने दायित्व अब ३ तहकै सरकारको भएको उनले बताए । स्वदेशमै उद्यमी बनेका यूवालाई पलायन हुनबाट जोगान स्थानिय तहको महत्वपूर्ण भूमिका हुने उनले बताए ।
यस्तै, कार्यक्रममा विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलका योजना अधिकृत डा.अरुण खनालले लुम्बिनी प्रदेशका ७ जिल्लामा समूह सहकारीतर्फ ४७ वटा र निजि फर्म तथा उद्यमीतर्फ ७८ वटा गरी कुल १२५ वटा उपआयोजनाहरु सम्पन्न भएको बताए । साथै उनले यस आयोजनाले गरेका बिभिन्न गतिबिधीहरुबारे जानकारी गराएका थिए । उन्नत जातका बाख्रा, गाईभैसी खरिद, घाँस खेति तथा संरक्षण कार्यक्रम, नर्सरी स्थापना, गोठ तथा भकारो सुधार, बाख्रा संकलन केन्द्र, पशु सेवा भवन, दुध संकलन केन्द्र, साइलेज उत्पादन केन्द्र स्थापना, पशु हाटबजार, आधुनिक कृषि उपकरण हस्तान्तरण लागायत उत्पादित बस्तुको बजारीकरणका क्षेत्रमा काम गरेको उनले बताए । जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईँले यहाँका किसानले उत्पादन गरेका वस्तु विदेश निर्यात गर्नसके यसबाट किसानले अत्यधिक लाभ लिन सक्ने बताए ।
किसानले आफ्नो उत्पादनको भुक्तानी समयमा नपाउँदा समस्या देखिएको बताए । जसले गर्दा बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका किसान विस्थापित हुने अबस्था आएको बैंक तथा वित्तीय संस्थाहरुले समेत आफ्नो लगानी उठाउन नसक्दा धरासायी बनेको बताए । यस्ता आयोजना सञ्चालन गर्दा प्राविधिकलाई जोड्न नसक्दा आयोजना असफल हुने गरेको बताउँद्यै उनले प्राविधिकको व्यवस्था गरीदिन सुझाव दिए । कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशलालयका निर्देशक डा.प्रवेशसिंह कुँवरले बैंकको ब्याजदरका कारण किसान समस्यामा परी पलायन हुनुपर्ने अबस्था आएको अबस्थामा फिक्स ब्याजदरमा ऋण उपलब्ध गराउन सके सहज हुने बताए ।
उप आयोजनामा बैंकको ३० प्रतिशत लगानी अनिवार्य गर्दा किसानलाई समस्या र थप झन्झट भएको गुनासो गरेकाले आयोजनाले जति अनुदान दिनसक्छ दिने अरु किसानलाई आफै जुटाउन लगाउने हो भने किसानलाई सहज हुने उनले बताए । सञ्चालनमा रहेका उप आयोजनाको निरन्तरताका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । आगामी वर्ष पशुमा लगाइने बिभिन्न प्रकारका भ्याक्सीनहरुको अभाव नहुने उनले बताए । करोडौं लगानी गरी सञ्चालनमा आएका फर्म प्राविधिक सहयोग नपाउँदा बन्द हुने अबस्थामा पुगेकोले दक्ष प्राविधिक कर्मचारीको व्यवस्था गर्नसके त्यस्ता फर्म निरन्तर सञ्चालन गर्न सकिने धारण राखे ।
यस्तै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले उपभोक्ताको हितमा काम गर्न आग्रह गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याएर किसानलाई प्रोत्साहन गर्न सुझाव दिए । आम उपभोक्ताले प्रयोग गर्ने बस्तु गुणस्तरीय हुनुपनमा जोड दिदै उनले संस्थानले किसानलाई वषौँदेखि दुःख दिदै आएको बताए । किसानले समयमा भुक्तानी नपाउँदा थप समस्या हुने बताउँदै तत्काल भुक्तानी गर्न आग्रह गरे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बैंकले किसानलाई लगानी गर्दा स्थिर व्याजदरमा लगानी गर्नुपर्ने बताए । आफूखुसी व्याजदर बढाउँदा किसानलाई थप समस्या पर्ने उनले बताए ।
भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देहीका निर्देशक डा. दिपक भुसालले उत्पादन बढाउन संख्या मात्र भढाएर नहुने बताउँदै उन्नत जात र पशु नश्ल सुधारमा ध्यान दिन आग्रह गरे ।आयोजनाबाट पाएको ५० प्रतिशत अनुदानले व्यवसायमा फड्को मार्न सफल भएको भनाई राखेका थिए । कार्यक्रम विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलका पशु प्राविधक ठाकुरप्रसाद खड्को सहजिकरण तथा प्रशासन शाखा प्रमुख कृष्णप्रसाद पन्थीको सत्तचालनमा सम्पन्न भएको थियो ।