कृषि तथा पशुपालन क्षेत्रमा कुन शिर्षकमा कति बजेट ?

  1. बुटवल, जेठ ।
    लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिवार प्रदेश सभामा पेश गरेको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा कृषि क्षेत्रलाई प्रथमिकता दिएको बताएका छन् । कुन शिर्षकमा कति बजेट विनियोजन भयो त प्रदेशमा हेरौ बजेट भाषणको कृषि , पशुलान तर्फको विवरण

 

  1. किसानको हात: प्रदेशको साथ को नारालाई आत्मसात गर्दै प्रदेश भित्रका सबै जिल्लाहरुमा बाली एवं वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रमका लागि बाली र पशुपन्छीतर्फ गरी जम्मा रू. १० करोड ७२ लाख विनियोजन गरेको छु।
  2. कृषिको प्रमुख आधारको रुपमा रहेको सिंचाइलाई प्राथमिकता दिई साना सिंचाइ आयोजना मार्फत थप २५० हेक्टर सिंचित क्षेत्र विस्तार गर्दै विभिन्‍न जिल्लामा निर्माण भएका सिंचाइ आयोजनाको कमाण्ड क्षेत्रमा थप १५०० हेक्टरमा वाली सघनता वृद्धि गर्ने कार्यक्रम सञ्‍चालन गरिनेछ। यसका लागि रू. ६ करोड १६ लाख विनियोजन गरेको छु।

 

  1. स्वस्थ जीवनको आधार: माटोमा सुधार नाराका साथ माटोमा प्राङ्गारिक पदार्थ वृद्धि गरी दिगो उर्वराशक्ति कायम राख्‍न माटो व्यवस्थापन कार्यक्रमलाई थप प्रभावकारी बनाउन दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याइनेछ। प्राङ्गारिक खेतीको प्रवर्द्धन गर्न प्राङ्गारिक जिल्ला घोषणा भएको रुकुम (पूर्वी भाग)मा प्राङ्गारिक उत्पादन, प्रमाणीकरण, बजारीकरण तथा क्षमता विकास गर्दै प्राङ्गारिक कृषि उत्पादनका लागि सम्भावित अन्य क्षेत्रहरुको पहिचान गरिनेछ।

 

  1. सम्भाव्य स्थानमा व्यावसायिक तरकारी, फलफूल, उँखु, मौरी, पुष्प, च्याउ, कफी लगायतका उच्च मूल्यका बाली/वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ। त्यसैगरी व्यावसायिक बाख्रा, वंगुर, भैँसी पालनलाई प्रवर्द्धन गर्दै कृषि/पशुपन्छी विकास कार्यक्रम सञ्‍चालन गरिनेछ। यसका लागि रू. ७ करोड विनियोजन गरेको छु।

 

  1. कृषकले उत्पादन गरेको बाली/वस्तुमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छु। साथै दुग्धजन्य पदार्थ निर्यात प्रवर्द्धन गर्नका लागि आवश्यक व्यवस्था मिलाएको छु। सोका लागि रू. ६ करोड १० लाख विनियोजन गरेको छु।

 

 

  1. प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनका कारण हुने विपदबाट प्रभावित कृषकहरुको व्यवसायलाई पुनःस्थापना गर्नका लागि वस्तुगत सहायता उपलब्ध गराउनुका साथै बाली/वस्तुमा आकस्मिक रुपमा देखापर्ने रोग किराबाट संरक्षण गर्न आवश्यक व्यवस्था मिलाएको छु। यसका लागि रू. १ करोड १३ लाख बजेट व्यवस्था गरेको छु।

 

  1. प्रविधि हस्तान्तरण तथा बाली/वस्तुमा देखिने प्राविधिक समस्या समाधान गर्न नेपाल सरकार र स्थानीय तहसँगको समन्वयमा नियमित रुपमा प्राविधिक सेवा उपलब्ध गराउन प्रविधि प्रदर्शन, कृषक प्राविधिक भेटघाट, कृषक तालिम लगायतका कार्यक्रम सञ्‍चालन गरिनेछ। यसैगरी स्थानीय तहमा २५० जना प्राविधिक परिचालन कार्यलाई निरन्तरता दिएको छु। यसका लागि रू. १२ करोड ४० लाख बजेट व्यवस्था मिलाएको छु।

 

  1. पशुपन्छीमा लाग्ने विभिन्‍न संक्रामक रोग नियन्त्रण गर्न ४५ लाख डोज खोप उपलब्ध गराइनेछ साथै पशु उपचार सेवा तथा प्रयोगशाला सेवालाई विस्तार गरिनेछ। गुल्मी र अर्घाखाँची जिल्लालाई खोरेत रोगमुक्त बनाउने अभियान सञ्‍चालन गरिनेछ साथै अन्य जिल्लाहरुलाई पनि खोरेत रोगमुक्त बनाउँदै लगिनेछ। यसका लागि रू. ३ करोड ३० लाख छुट्टाएको छु।

 

  1. पशुपन्छीमा देखा पर्ने रोग तथा दुधालु पशुमा बाँझोपन निवारणका लागि खोप तथा शिविर मार्फत आधारभूत ‌औषधी निःशुल्क रूपमा उपलब्ध गराइनेछ। पशुमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न ४० हजार निःशुल्क सहित एक लाख पशुमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइनेछ। सोका लागि रू. ३ करोड ८१ लाख बजेट व्यवस्था गरेको छु।

 

  1. कृषि क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्न सीमान्तकृत, मुक्त कमैया/कम्लहरी, भूमिहीन विपन्न घरपरिवार लक्षित आयआर्जन तथा स्वरोजगारमूलक लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि रू. ५ करोड ५४ लाख बजेट विनियोजन गरेको छु।
  2. नेपाल सरकार तथा स्थानीय तहको समन्वयमा प्रदेशभित्रका स्थानीय तहमा कृषकको पहिचान र वर्गीकरणका लागि आवश्यक व्यवस्था मिलाएको छु।

 

  1. उन्नत बीउ तथा नश्लमा कृषकको पहुँच वृद्धि गर्न गुणस्तरीय बीउ, बिरुवा, नश्ल तथा मत्स्य भुरा उत्पादनका लागि स्रोत केन्द्रलाई प्रोत्साहन गर्न बीउ आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ। साथै संभाव्य स्थानहरुमा सरकारी स्रोत केन्द्रहरुको स्थापना तथा जग्गा प्राप्ती गरिनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।

 

  1. भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जग्गाको नापजाँच गर्न र जग्गाधनी दर्ता स्रेष्ता तथा पूर्जा तयारीका अभिलेख व्यवस्थापन गर्न प्रदेशभित्र रहेका मालपोत/नापी कार्यालयहरुका लागि आवश्यक रकम व्यवस्था गरेको छु।

 

 

  1. माछाको उत्पादकत्व वृद्धि तथा उत्पादन लागत कम गर्न प्राविधिक सेवा, उत्पादन सामग्री, औषधी तथा यान्त्रिकीकरणलाई प्रोत्साहन गरिनेछ। नयाँ पोखरी निर्माण, प्लाष्टिक पोखरी निर्माण, पुरानो पोखरी सुधारका लागि आवश्यक रकम विनियोजन गरेको छु। माछा पोखरी, शीत भण्डार सञ्चालनमा प्रयोग हुने विद्युत महसुलमा सहुलियत दिन आवश्यक रकम विनियोजन गरेको छु।

 

  1. लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापनको क्रममा यस राजधानी परिसरमा रहेको श्री राप्ती प्राविधिक शिक्षालयलाई श्री सरस्वती मा.वि.मा स्थानान्तरण गराँउदा सरस्वती मा.वि. को कागति खेतीमा हुन गएको नोक्सानी बापत क्षतिपूर्तिका लागि आवश्यक रकमको व्यवस्था गरेको छु ।

 

  1. बजेटमा कृषि अंश
    पिडीएफ फाईल पढ्न यहाँ क्लिक गर्नुहोला ।
  2. बजेटमा कृषि अंश पिडीएफ फाईल पढ्न यहाँ क्लिक गर्नुहोला ।

© 2025 krishipatra All right reserved