
बुटवल, जेठ । पाल्पाको तिनाउ गाउँपालिकाका किसानहरुले गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदानको रकम नपाएको, पालिकाको संयोजनमा बुटवलमा स्थापना भएको संकलन केन्द्र भन्दा बाहिर विक्रि गर्ने किसान उत्पादनमा आधारित अनुदानमा नसमेटिएको, समयमा नै मल, विउ र कृषि प्राविधिक नपाएको भन्दै आईतबार गाउँपालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् ।
तिनाउ गाउँपालिका वडा नम्बर ६ का पुग्दी, कालीमाटी, कराङतुङ्ग, कारवानी, पाटन, डानीगैडा लगायतका स्थानबाट आएका किसानले गाउँपालिका उपाध्यक्ष लालबहादुर थापा र गउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेत लाई भेटेर ज्ञापन पत्र बुझाएका हुन ।
तिनाउँ गाउँपालिका वडा नम्बर ६ पुग्दी का किसान रेवन बहादुर कुँवरले पालिकाले विगत ३ बर्ष देखि बुटवलमा संकलन केन्द्रको संयोजन गरेपनि संकलन केन्द्रमा तरकारी विक्रि गर्दै आएका किसानबाट उल्टै सेवा शुल्क मार्फत प्रतिकिलो ४ रुपैयाँ लिदै आएको बताए । उनले तर पालिकाबाट हाल सम्म पनि एक जना पनि किसानले अनुदानको रकम प्राप्त गर्न नसकेको उनले बताएका थिए ।
अर्का किसान सुर्य बहादुर सोमैले पालिकाले हालै मात्र सार्वजनिक गरेको उत्पादनमा आधारित अनुदानको विवरणमा आफ्नो ५ सय किलो काक्रा विक्रि गरेको भएपनि सो विवरण उल्लेख नगरेको कारण पालिकाको लापरवाही भएको बताए ।
पालिकाका प्रमुख प्रसासकीय अधिकृत लेख बहादुर बस्नेतले किसानले उत्पादन गरेको तरकारीको उत्पादनमा आधारित अनुदान को लागि विक्रि गरेको विवरण राख्नको लागि सफ्टवेर नै जडान गरेर यो विषयमा काम भैरहेको जानकारी दिए । उनले हाल २ सय ७२ जना किसानहरुको विवरण संकलन भएको जानकारी दिदै छुट भएका किसानको आवश्यक निवेदनको आधारमा ढड्डाबाट विवरण संकलन गरी अनुदान दिने जानकारी दिए ।
उनले विगत ३ बर्ष देखि यो अभ्यास भएको भएपनि हाल सम्म किसानले अनुदानको रकम प्राप्त नगरेको यथार्थ भएको भन्दै यसको लागि किसानहरुबाटै व्यवस्थापन भएको बुटवलको संकलन केन्द्रबाट यथेष्ठ विवरण संकलन गरी सोही अनुसारको अनुदानबापतको रकम किसानलाई दिने तयारी गरिएको जानकारी दिए ।
पालिकाका उपाध्यक्ष लाल बहादुर थापाले अहिले पालिकाले बुटवलको हाटबजारमा रहेको एउटा सटर लिएर त्यहाँ किसानहरुबाट नै समिति निर्माण गरी व्यवस्थापन हुँदै आएको बताए । पालिकाको कार्यविधि अनुसार उत्पादनमा आधारित अनुदान दिनको लागि विक्रि वा खरिद विविरण आवश्यक पर्ने भएको कारण सोही अनुसार विवरण राख्ने काम गरेको जानकारी दिए ।
सोही विवरणको आधारमा किसानलाई कुल विक्रिको १० प्रतिशत अनुदान दिने गरी कार्यविधी निर्माण भएको बताए । उनले किसानको मागको सम्बन्धमा बसर पालिकाको बैठककमा आवश्यक सम्बोधन गरिने समेत उनले प्रतिवद्धता जनाएका थिए ।