
बुटवल, जेठ ।
दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई उपहार कोष सामाग्री वितरण कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको हो ।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाको आयोजना तथा हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा नौ लाख रुपैयाँ बराबरको सिचाई सामाग्री वितरण गरिएको छ ।
सिचाई सामाग्री वितरण गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेफर प्रोजेक्ट नेपाल संगको साझेदारी गर्नुको मुख्य कारण कृषि तथा पशु विकासमा आधारित सामुहिक उत्पादन÷व्यवसायिक र महिला शसक्तिकरणको क्षेत्रमा मुख्यगरी काम गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको बताए । उत्पादन संगसगै चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको बताउदै अध्यक्ष पोख्रेलले परम्परागत रुपमा पाल्दै आएको बाख्रा र भैंसी पालनलाई व्यवस्थित ढंगले अघि बढाउने र सामूहिक बजारीकरण गर्ने कार्य सुरु गरेको बताए । परियोजना मार्फत कसरी व्यवसायिक बन्ने बारे बाटो देखाउने कार्य परियोजनाले गर्ने बताउदै अध्यक्ष पोख्रेलले तरकारी व्यवसायलाई प्रभावकारी ढंगले अघि बढाउन सिचाई नभई नहुने भएकोले सिचाई सामाग्री वितरण गरिएको बताए ।
सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाद्वारा गठित वडा नम्बर ७ र ५ का महिला कृषक समूहहरुलाई सिचाई सामाग्री वितरण गरिएको हो ।
कृषि तथा पशुवस्तुको मूल्य श्रृंखलामा आधारित नविनतम विकास परियोजना अन्तर्गत सिचाई सामाग्री वितरण गरिएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष शोभा रावत क्षेत्रीले जानकारी दिइन।
गढवा गाउँपालिका वडा नम्बर ५ र वडा वडा नम्बर ७ का ५५ जना किसानले आवश्यकताको आधारमा २ इन्चको बोरिङ्ग, पम्प सेट, मोटर, डेलीभरी पाईप, ह्याण्ड पम्प लगाएतको सिचाई उपहार कोष सामाग्री वितरण गरिएको अध्यक्ष रावत क्षेत्रीले जानकारी दिए ।