रुपन्देही डेरी व्यवसायी समितिद्धारा गौशालामा सहयोग

बुटवल चैत ।
शिव नगर सामुदायिक वनमा रहेको नन्दनी गौशालाको लागि रुपन्देही डेरी व्यवसायी समितिले गौशालामा नै पहिलो सहयोगको शुरुआत गरेको छ । समितिका सचीव जीवलाल न्यौपानेको जन्म दिनको अवसरमा उक्त सहयोग प्रदानको शुरुआत गरिएको हो ।
डेरी व्यवसायी समिति सचिव जीवलाल न्यौपानेले आफ्नो जन्म दिनको अवसरमा ५३८ केजी साइलेज सहयोग गरेका हुन । यसैगरी साना किसान कृषि सहकारी संस्था सेमलारबाट १४० केजी साइलेज सहयोग भएको छ ।यसैगरी कस्तुरी मिस्ठान्न भण्डार बुटवलबाट १२५ केजी साइलेज , रेखा शर्मा पर्वत डेरीबाट १०० केजी नुन तथा अनिरुद्र यादव ( सियारी) बाट ५० केजी नुन सहयोग प्रदान गरेका हुन ।
उक्त प्राप्त सहयोगलाई गौशालामा नै एक कार्यक्रम आयोजना गरि बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालज्युलाई हस्तान्तरण समेत गरिएको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले सचिव जीवलाल न्यौपानेले समाजको लागि अनुकरणीय कार्य गरेको बताए । यसैगरी रुपन्देही डेरी व्यवसायी समितिले अत्यन्तै सकारात्मक पहल गरिरहेको बताउनु हुदै सबै बुटवल वासीहरु मिलेर यो चौपाया संरक्षणको अभियानमा साथ दिन आग्रह गरे । बुटवलका सबै संघ संस्थाहरुलाई समेत सहयोग गर्न आग्रह गर्दै बाहिर सडकमा रहेका अरु गाई गोरुहरुको समेत छिट्टै व्यवस्थापन गरिने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पशुपंछी महाशाखा प्रमुख झविन्द्र बन्जाडेले डेरी व्यवसायी समितिले राम्रो कामको शुरुआत गरेको बताउनु भयो । समिति सचिव जीवलाल न्यौपानेले गाईहरुको सेवामा सधैंभरि लागिरहने बताए ।
यसैगरी रुपन्देहीमा रहेका विभिन्न संघ संस्था तथा सम्पुर्ण बुटवल बासीहरुलाई सहयोग गर्न र गौशाला आउँदा खाली हात नआउन रुपन्देही डेरी व्यवसायी समिति अध्यक्ष रामकृष्ण शर्माले आह्वान समेत गरेका छन् ।

© 2024 krishipatra All right reserved