
बुटवल, फागुन । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र अन्य ठुला नीजी डेरी व्यवसायीहरुले किसानले उत्पादन गरेको दुध र दुग्धजन्य बस्तु खरिद गरेर करोडौ रकम नदिएको देशभरका किसानहरु आन्दोलित भएका छन् ।
दुग्ध उत्पादक कृषि सहकारी संघ रुपन्देहीको अगुवाईमा विहिबार बुटवलमा किसानहरुले प्लेकार्ड सहित प्रर्दशन र एक घण्टा चक्का जामको प्रयास गरेका छन् । विहिबार राजमार्ग चौराहमा केन्द्रीय कार्यक्रम अनुसार एक घण्टा चक्का जाम गर्ने योजना बनाएका किसानहरुलाई भने प्रहरीले केही मिनेटमा नै हस्तक्षेप गरी सवारी साधान अवरोध गर्न दिएन । चारैतिरबाट प्रहरीबाट घेरिएका किसानहरुले सरकारविरुद्ध नाराजुलुस गरेका थिए । रुपन्देहीको तिलोत्तमान, देवदह लगायतका स्थानबाट सयौंको संख्यामा बुटवलमा आएका किसानहरुलाई प्रहरीले घेरा हालेर आन्दोलन लाई तितरवितर पारेको थियो ।
प्रहरीको अस्तक्षेपबाट केही किसानहरु घाईते समेत भएका छन् । दुग्धउत्पादक जिल्ला सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले किसानमारा सरकार भएको कारण किसानले दुख पाएको बताए । उनले प्रहरीको हस्तक्षेपबाट केही किसानहरु घाईते समेत बताएको जानकारी दिए । पहिलो चरणमा केन्द्रीय कार्यक्रम अनुसार नै दुई घण्टा चक्काजाम गर्ने योजना रहेपनि जिल्लामा १ घण्टा मात्रै चक्का जामको कार्यक्रम गर्ने योजना अनुसार अगाडी बढेपनि प्रहरीको हस्तक्षेपबाट चक्काजाम कार्यक्रम प्रभावित भएको उनको भनाई रहेको छ ।
केन्द्रीय दुग्धउत्पादक किसान सहकारी संघ सञ्चालक समितिका सदस्य समेत रहेका पाण्डेले सरकारकै उदासिनतको कारण किसान मारमा परेको बताए ।
शान्तीपूर्ण चक्काजाममा उत्रेका किसानहरु माथी बल प्रयोग भएपछि केही बेर प्रहरी र आन्दोलनरत किसान धकेलाधकेल समेत भएको थियो । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको नेतृत्वमा रहेको प्रहरी टोलीले केही कृषकलाई लछारपछार समेत गरेको थियो । चारैतर्फबाट सुरक्षाकर्मीले घेरिएपछि कृषकहरुले सकार विरुद्ध विभिन्न नारा लगाएका थिए ।किसानहरुले राज्यले आफ्नो माग पुरा नगरुन्जुल आन्दोलन जारी राख्ने बताएका छन् ।
खुल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरुले दुधको भुक्तानी तुरुन्त गर, अघोषित मिल्क होलिडे बन्द गर, भारतीय दुध नेपालमा प्रतिबन्ध गर, कृषिमन्त्री राजिनामा दे, जस्ता नारा लगाएका थिए ।
दुध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गरेका थिए । केन्द्रीय सर्कलुर अनुसार विहिबार किसानहरुले ठाउँ ठाउँमा एक घण्टा चक्काजाम गरेका हुन ।
जिल्ला दूध उत्पादन सहकारी सं रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् । दुग्ध विकास संस्थाको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ भने रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए ।
दुध उत्पादक किसानहरुले बुटवलमा गरेको शान्तिपूर्ण चक्काजाममा प्रहरी हस्तक्षेप गरेको छ । दुध बापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका माग राखी आन्दोलनरत दुध उत्पादक किसानले बुटवलमा एक घण्टा गरेको चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
बुटवलको राजमार्ग चौराहमा जम्मा भएको दुध उत्पादक किसानहरुले पुर्वपश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग लक्षित एक घण्टा चक्काजाम गरेका थिए । किसानले चक्काजाम गरेपनि नेपाल प्रहरीले जाम खुलाउन किसान माथि केही समय बल समेत प्रयोग गरेको थियो ।