बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरुः कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम प्रदेश सरकारले सुरु गरेको छः मन्त्री यादव

बुटवल, फागुन ।
बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो ।
यहि फागुनको १४ गतेसम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै मन्त्री अहिरले नीति निर्माता, कर्मचारी र किसान विचको तालमेल नमिल्दा कृषिमा सोचेअनुसारको प्रगति गर्न नसकिएको बताएका छन । उनले त्समाथि पनि दुस्खले काम गरेका किसानलाई हुनुपर्ने भुक्तानी रोकिनु दुस्खद रहेको भनाई बताएका थिए ।
उनले प्रदेश सरकारले किसानको हितमा काम गर्दै आएको बताउँदै उत्पादनमा आधारित अनुदान, लगायतका विषयमा प्रदेश सरकारले योजनाबद्ध विकास गर्दै आएको बताएका थिए ।

मन्त्री अहिरले कृषि कर्म गरेका किसानलाई प्रोत्साहन र आवश्यक वातावरण बनाउन मन्त्रालय लागि परेको बताउदै किसानलाई सम्मान भएनभने देशको लागि कृषि क्षेत्रको योगदान बढ्नुको साटो घट्दै राखे ।
उनले व्यवसाय र उद्यममा आफ्ना छोराछोरीलाई प्रोत्साहन गर्न पनि आग्रह गरे । मेलाको बारेमा जानकारी गराउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले नेपालमा कुल जनसंख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको र त्यसलाई सुधार गरि राष्ट्रिय अर्थतन्त्रमा योगदानमा बढोत्तरी गर्नको लागि कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणको लागि मेला आयोजना गरिएको बताएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कृषिको व्यवसायिक विकास र आधुनिकिकरणमा बुटवल उद्योग वाणिज्य संघको प्रशंसा गरे । उनले कृषिमा प्रसस्त सम्भावना भएपनि उपयुक्त वातावरण बनाउन नसक्दा देशले त्यसबाट लाभ लिन नसकेको भनाई राखेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्थाकी कृषी सचिव डा नम्रता सिंह, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पुर्वअध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराम पोख्रेल, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले भनाई राखेका थिए ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । सोही अनुसार यो मेला आयोजना गरिएको हो ।
पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिईने छ । त्यस्तै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवद्र्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराईने छ ।

कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीको जानकारी गराईने छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि ८८ वटा स्टल राखिएको छ ।
मेलामा जिवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने छ । त्यस्तै कृषिसंग सम्बन्धित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कृषिसंग सम्बन्धित सांस्कृतिक सांगितक कार्यक्रम प्रस्तुत गरिने छ ।

त्यसैगरी मेलामा भोली ११ र पर्सि १२ गते दुई दिन बाली परीक्षण शिबिर राखिने छ भने शुक्रबार नै तीन दिन माटो परीक्षण शिबिर सञ्चालन गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

यस्ताे छ बुटवलकाे एघाराै राष्ट्रिय प्रांगारिक कृषि मेला |

 

© 2025 krishipatra All right reserved