तरकारी खेती गर्न सिकाउने पुस्तक प्रकाशित

बुटवल, वैदेशिक रोजगारीका कारण कृषियोग्य जमिनहरु खाली रहने गरेको पछिल्लो परिवेशमा विदेशबाट फर्किएका नेपालीहरु र केही गर्छु भनेर चाहना राख्ने युवाहरुले नेपालमा कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लागि परेका उदाहरणहरु देखिन थालेका छन् ।रोजगारीको अवसर खोज्दै मानिसहरु गांउबाट शहर सर्ने क्रम पनि तिव्र छ।त्यसका साथै बढ्दो क्रममा रहेको शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गइरहेको अवस्थामा सहरका मानिसहरुमा कौसी खेतीको चाह बढ्दै गएको पाइएको छ ।
यसै परिवेशलाई मध्यनजर गर्दै लेखक डा.राजेन्द्र सापकोटा र दिपक शर्माले कौसी/करेसाबारी (तरकारी खेती प्रविधि) नाम पुस्तक बजारमा ल्याएका छन् ।
पुस्तकले कृषक, गैरकृषक,र आमनागरिकमा तरकारी र यसको महत्व, स्वास्थ्यका लागि स्वस्थ तरकारी, तरकारी खेती कसरी गर्ने, विषादी र यसका प्रभाव, अर्गानक खेती, बेमौसमी तरकारी खेती, खाद्य सुरक्षा लगायतका विषयबारे जानकारी दिने गर्दछ । तरकारी कृषिको महत्व दर्शाउने यो पुस्तक जो कसैका लागि पनि उपयोगी रहेको पुस्तकका एक लेखक शर्माले बताएका छन् ।
हाम्रो दैनिकी खानामा तरकारीको विशेष महत्व छ । तरकारी उत्पादनबाट हाम्रो खानामा पोषण तत्वको अवस्था सुधार्न सकिने र आर्थिक रुपमा आम्दानी पनि बढ्ने हुन्छ । मानिसलाई स्वस्थ रहन आवश्यक पर्ने प्रायः सबै तत्व प्रचुर मात्रामा तरकारीमा पाइन्छ ।
दैनिक रुपमा स्वस्थ र ताजा तरकारी सेवनका लागि आफ्नै घर कौसी र करेसाबारीबाट तरकारीको आवश्यकता परिपूर्ति गर्न सकिन्छ । कृषकहरुको स्तर माथि उठाउनको लागि पनि व्यवसायिक तरकारी उत्पादन एक निकै महत्वपूर्ण स्रोत हुँदै आएको छ । त्यसैले पुस्तक प्रकाशन गरिएको लेखकले बताए । यो पुस्तक कागजपत्र मिडिया प्रा.लिले बजारमा ल्याएको हो ।

 

© 2025 krishipatra All right reserved