अर्घाखाँची– शीतभण्डारमा राखेका लाखौँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि अनुसन्धान सुरु भएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले सुन्तला कसरी र किन कुहियो भन्नेबारे नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको जनाए ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२, पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको थियो । यसबारे अनुसन्धान पछि सत्यतथ्य बाहिर आउने घिमिरेले जानकारी दिए ।
शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि प्रतिकेजी ९० मा सुन्तलाको हिसाब गरे पनि किसानले करिब ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको ज्ञान केन्द्रले जनाएको छ । शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला किसानले राखेका थिए । सुन्तला कुहिएकाबारे कृषिमन्त्री बेदुराम भुसालले समेत चासो राखेका थिए ।
बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि किसानले घाटा ब्यहोरेका छन् नै उनीहरु चिन्तित समेत बनेका छन् । यहाँ यसअघिका दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएका थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको दुखेसो छ ।
वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने र यसपछि वास्तविकता बाहिर आउने घिमिरेको भनाई छ । ‘प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो’, उनले भने ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो । सिम्लेका सुन्तला किसानको शिवशक्ति मिश्रित किसान समूहले शीतभण्डार सञ्चालन गरेको छ ।