
बुटवल, माघ ।
अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको २१ बर्ष पछि पुनः आफ्नै लालपुर्जा प्राप्त गरेको छ । साविक जिल्ला पशु सेवा कार्यालय रहेको यो कार्यालयको वि.स. २०५९ सालमा सन्धीखर्क आक्रमण हुँदा लालपुर्जा लगायतका कागजत नष्ट भएका थिए । यसरी कागजात नष्ट भएपछि स्थापना भएको विशेष नापी कार्यालयले पनि नाँपाजाँच गरेपनि लालपुर्जा भने प्रदान गरेको थिए ।
कार्यलय प्रमुख अर्घखाँचीका स्थानीय समेत रहेका विष्णु प्रसाद पौडेलको पहलबाट लामो समय देखि लालपुर्जा विहिन भएको कार्यालयको लालपुर्जा प्राप्त भएको छ ।
विगत ३ महिना देखि लालपुर्जाको लागि पहल गर्दै आएका कार्यालय प्रमुख पौडेलले केही दिन पहिला मात्रै जिल्ला मालपोत कार्यालय अर्घखाँचीबाट लालपुर्जा प्राप्त गर्न सफल भएको जानकारी दिए । कार्यालय भवन सहित १० रोपनी क्षेत्रफल रहेको यो कार्यालय को २१ बर्ष सम्म लालपुर्जा विहिन भएको थियो । कार्यलय प्रमुख पौडेलले बुटवल टुडे संगको कुराकानीमा भने–‘लामो समय देखि लालपुर्जा निस्सा विहिन भएको कार्यालयको स्थानीयहरुको सहभागीतामा सर्जिविन गरेर उहाँहरुको रोहवरमा लालपुर्जा प्राप्त गर्न सफल भएका हौ । ’
लालपुर्जा प्राप्तीका लागि स्थानीय वडा कार्यालय, नगरपालिका र मालपोत कार्यालयबाट समेत सहयोग प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । लालपुर्जा विहिन भएको कार्यालयको मालपोतकर लगायतका दैनिक प्रशासनीक काममासमेत बाधा हुदै आएको थियो । यो भन्दा पहिला जिल्ला पशु सेवा कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुखहरुले समेत लालपुर्जाका लागि पहल नगरेको पाइएको थियो ।
अर्घाखाँचीकै स्थानीय बासीन्दा समेत भएका हाल का कार्यालय प्रमुख पौडेल ले यसमा पहल गरेका हुन ।