
बुटवल, पुस । प्रदेश सरकारले सुरुवात गरेको स्मार्ट कृषि गाउँको कार्यविधि अनुसार सहकारी, समुह वा समुदायमा हस्तानान्तरण गरेर पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजानमा बुटवलमा भएको प्रदेश स्तरिय स्मार्ट कृषि गाउँ कार्यक्रम सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांसले स्मार्ट कृषि गाउँ कार्यक्रमबाट उत्पादन वृद्धि लगायत किसानको जीवनस्तरमा समेत सुधार आउदै आर्थिक बृद्धि समेत भएको भन्दै यसको पूर्णरुपमा कार्यान्वयन हुनुुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पशुविकास अधिकृत हरिनारायण चौधरीले स्मार्ट कृषि गाउँले किसानको जीवनशैलीलाई पनि स्मार्ट बनाउने गरी परिकल्पना गरिएको बताए । उनले सोही अनुसार कार्यान्वयन गएको ५ बर्षमा स्मार्ट कृषि गाउँ सहकारी, समुह मा हस्तान्तरण गर्ने कार्यविधिमा निर्दिष्ट गरेको जानकारी दिदै सरकारले गरेको लगानी स्थानी पालिकास्तरको सहकार्यमा यसलाई निरन्तरता दिनुपर्ने समेत बताएका थिए ।
सिकानको सम्पत्तीको रुपमा रहेको सूचना प्रविधि, भौतिक पुर्वाधार लगायतका सामग्रीहरुलाई पुनः समुदाय, समुह, सहकारी मार्फत सञ्चालन गर्ने गरी हस्तान्तरण गरिने उनको भनाई रहेको थियो । किसानले समुह, सहकारीमा हस्तान्तरण गर्ने विषयमा अलमल रहेको कारण उल्लेखनीय मात्रामा हस्तान्तरण नभएको परिपेक्षमा उनले यो विषयमा फोकल पर्सन, स्मार्ट कृषि गाउँ सञ्चालक समिति लगायतको विषयमा अभिमुखीकरण गरी समस्या समाधान गरी हस्तानान्तरण गर्नुपर्ने बताए ।
प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवरले पशुपंक्षि तर्फका सबै स्मार्ट कृषि गाउँको पूर्णरुपमा कार्यान्वयन हुँदा यसले किसानको उत्पादकत्व, क्रयशक्ती, सूचना प्रविधिमा पहुँच विस्तार लगायतका ठुलो फड्को मार्ने बताएका थिए । उत्पादन बढाउने, दिगोपना शुनिश्चित गर्ने लगायतका विषयमा पनि स्मार्ट कृषि गाउँको परिकल्पना रहेको भन्दै उनले कृषि गाउँलाई उत्पादनमा आधारित पोत्साहन र अनुदानमा समेत जोड दिन आग्रह गरेका थिए ।
स्मार्ट कृषि गाउँ एक निश्चित समय अवधी पछि सरकारले सहयोग गर्न छाड्ने भएको कारण किसानले आफै कमाउनको लागि उत्पादित बस्तुको लिपीबद्ध गरेर उत्पादनमा आधारित, प्रतिफलमा आधारित अनुदानमा सहभागी हुनको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा प्रदेशका १२ जिल्लाका प्रतिनिधिमुलक किसानहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका मत्स्य विकास अधिकृत तथा स्मार्ट कृषि गाउँ कार्यक्रम फोकल पर्सन रिम बहादुर सारुले प्रदेशमा रहेका पशुपंक्षी तर्फका स्मार्ट कृषि गाउँको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्देशनालयका योजना अधिकृत ऐश्वरा आचार्य, कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत आशा भण्डारी, भटेरिनरी अस्पताल पाल्पाका अधिकृत डा.नविन बस्याल, भैरहवा अधिकृत रुची श्रीवास्ताव लगायतले आ आफ्नो भनाई राखेका थिए ।