पाल्पामाकृषि थोक बजार सञ्चालनमा आएपछि छिमिकी जिल्लाका किसानमा पनि खुसी

  • थोक बजार केन्द्रबाट वार्षिक ९४ लाख ७१ हजार केजी तरकारी बिक्री गरेर १६ करोड ४९ लाख आम्दानी गर्ने लक्ष्य
  • पाल्पा- तानसेन नगरपालिका–३, होलाङ्दीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा आएपछि पाल्पाका साथै छिमेकी जिल्लाका किसानमा खुसीयाली छाएको छ । सदरमुकाम तानसेनमा तानसेन नगरपालिका–१३, बौघागुम्हास्थित मिलनसार कृषि उपज थोक बजार केन्द्र तथा तरकारी प्रशोधन मेसिन सञ्चालनमा ल्याएको हो ।
    थोक बजार केन्द्रको नेतृत्व यहाँका किसान महिलाले गरेका छन् । जिल्ला र छिमेकी जिल्लाका किसानले उत्पादन गरेका तरकारी, फलफूल लगायतका कृषि उपज यहाँ खरिद गरी संकलन गरिने सहकारीकी अध्यक्ष कमला भण्डारीले बताइन् । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध सेयर सदस्यले थोक बजार केन्द्रको सम्पूर्ण स्वामित्व लिएका छन् ।

    यस संस्थामा १ हजार बढी महिला मात्र सेयर सदस्य छन् । कृषिजन्य सामग्री धुने मेसिन रहेको छ । दैनिक ६ टन क्षमतामा धुन सकिनेगरी प्रविधियुक्त बनाइएको उनले बताइन् । यहाँ तरकारीको थोक तथा खुद्रा बिक्री पनि हुन्छ । थोक बजार केन्द्रमा १६ टन क्षमताको चिस्यान भण्डारणसमेत छ । सहकारीले निश्चित मापदण्ड पूरा गरेर थोक बजार केन्द्र सञ्चालन गर्न पाएको सहयोगी संस्था ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

    ३५ रोपनी सार्वजनिक ऐलानी पर्ती जमिनमा थोक बजार केन्द्र निर्माण गरिएको छ । थोक बजार केन्द्रबाट वार्षिक ९४ लाख ७१ हजार केजी तरकारी बिक्री गरेर १६ करोड ४९ लाख आम्दानी गर्ने लक्ष्य सहकारीको रहेको व्यवस्थापक तथा अगुवा किसान सुमित्रा रानाले बताइन् । सहकारीले जिउँदो तौलमा खसीबोका बिक्री, नश्ल सुधारका लागि बीउ बोका र पाठी बिक्री, रासायनिक मलको बिक्री, दुध डेरी सञ्चालन, थोक बजार, पशु बीमा, सुधारिएको पशु दाना बिक्री, ढुवानी, बचत तथा ऋण परिचालनको काम गर्दै आएको सहकारीकी व्यवस्थापक रानाले बताइन् ।

    यस सहकारीको कुल पुँजी ७ करोड ६ लाख ५ हजार रहेको छ । सहकारीकी अध्यक्ष भण्डारीका अनुसार विभिन्न नगर तथा पालिकामा समूह तथा सहकारीमा आवद्ध किसानहरुलाई प्रविधि तथा प्राविधिक सहयोगमार्फत् मागमा आधारित कृषि उपजको उत्पादन तथा उत्पादकत्वमा वृद्धिमा सामुहिक बजारिकरणको अभ्यासमार्फत् थोक बजार सञ्चालन गरिनेछ ।

    कृषि उपजको मूल्य अभिवृद्धिका लागि प्याकेजिङ, ग्रेडिङ, प्रशोधन गरी बजार क्षेत्रहरूमा निर्यात गर्ने लक्ष्य लिएको छ । सहकारी तथा समूहको बजारसँगको पहुँचलाई वृद्धि गर्दै किसान मैत्री र उपभोक्ता मैत्री वातावरणको सिर्जना गरिने अध्यक्ष भण्डारीले बताइन् । केन्द्र निर्माण पश्चात् कारीतास नेपालले घुम्ती कोष रकम, ६ महिनाका लागि प्राविधिक जेटिए, अदुवा ओयर हाउस, प्रशासनिक सहयोग गरेको सहकारीकी अध्यक्ष भण्डारीले बताइन् ।

    थोक बजारको प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकार, दातृ निकाय, छिमेकी जिल्लाका सरोकारवाला निकाय र निजीक्षेत्रसँग समन्वय गरिने उनले बताइन् । सहकारीले बजारको मागमा आधारित कृषि उपजहरुको संकलन, भण्डार र प्रशोधन गर्दै आएको छ । थोक बजारलाई आवश्यक पर्ने कृषि उपज संकलन, बजारको खोजी, किसानले उत्पादन गरेको कृषि उपजको उचित मुल्य कायम गर्ने काममा सहभागी छ ।

     cast:ekanipur,madhv aryal palpa 

    © 2024 krishipatra All right reserved