रुपन्देहीमा मनाईयो विश्व मत्स्य दिवसः दानव नदीमा ५० हजार भुरा छाडीयो

बुटवल , मंसिर – विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीको सियारीमा रहेको दानब नदीमा ५० हजार माछाका भुरा छाडीएको छ । २१ नोभेम्बर विश्वभर मत्स्य दिवस मनाईन्छ ।
रुपन्देहीमा पशुंपक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देही, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही, मत्स्य शुद्ध नष्ल तथा संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र रुपन्देहीको आयोजनामा मत्स्य दिवस मनाईको हो ।
दिवसको अवसरमा जैविक बिविधताको संरक्षण गर्ने उदेश्यका साथ दानब नदीमा ५० हजार माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो ।

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले माछाका भुरा दानव खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै बाढी, पहिरो र अत्याधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको भन्दै यसले जलचर र जलीय जीवको संंख्यामा क्रमिक रुपमा असर गरिरहेको बताएका थिए । उनले जलचर संरक्षणको लागि सबैजनाले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले अन्य मन्त्रालयहरुको सहकार्यमा चाँडै वातावरण सम्बन्धि कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने मन्त्री भण्डारीलाल अहिरले बताए ।
उनले भने–‘वातावरणीय सन्तुलन कायम राख्न जैविक बिविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ , त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आआफ्नो भूमिका हुन्छ ।’

बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको कारण यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रबेश सिंह कुँवरले बताए । ‘माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको छ’, उनले भने ।

पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउने गर्दछ । ति फोहोरजन्य बस्तु माछा तथा अन्य जलचरले खाएर माछाले पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईका लागि उपयुक्त मानिने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र, रुपन्देहीका प्रमुख महेशचन्द गुप्ताले बताए ।

जलीय जीव र जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय हो । बजारबाट आउने ढलको फोहोर र दुषित पानीको उपचार नगरी सिधै खोलामा मिसाउनु नहुने मत्स्य प्राविधिक बताउँछन् । जलचर जोगाउनको लागि वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइका प्रमुख नारायण काफ्लेले बताए ।

खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नूपर्ने मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए ।

माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुको सहजताका लागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरिएको छ । जैविक बिविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक छ । नत्र जीव, बनस्पती सबैको जीव चक्रमा गम्भीर समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।
दिवसमा जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देही, माछा सुपरजोन सञ्चालन समिति रुपन्देही, नेपाल मत्सय समाज काठमाण्डौ, मण्डल मत्स्य ह्याचरी फार्म र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था सहयोगी संस्थाको रुपमा रहेका थिए ।

© 2025 krishipatra All right reserved