
बुटवल, असोज । रुपन्देहीमा पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासकालागि आठ करोड ८२ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले बिहिबार कार्यक्रम आयोजना गरि वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशले बजेट सार्वजनिक समयमै गरेपनि कार्यक्रम सञ्चालनकालागि कार्यविधि बनेर स्वीकृत हुन समय लागेकाले मातहतका कार्यालयहरुले बल्ल कार्यक्रम सार्वजनिक गरिरहेका छन् । आवश्यकता, माग, प्रतिफलमा आधारित, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार, कृषि तथा पशुपन्छीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास लगायतका कार्यक्रलाई प्राथमिकतामा राखेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले जानकारीदिए । पोषण सुधारकालागि ग्रामीण कुखुरा पालनकालागि अधिकतम सीमा पाँच लाख तोकिएको छ ।
आवश्यकताका आधारमा कार्यक्रम गर्दा ५० हजार र बालीवस्तु प्रवद्र्धनमा अधिकतम सीमा ५ लाख राखिएको भुसालले बताए । अनुदानका कार्यक्रम लक्षित वर्गसम्म पुर्याउन स्थानीय सहकारसँग समन्वय गरेर गर्न जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले निर्देशन दिएका थिए । अझै पनि केही कार्यक्रमका कार्यविधि बन्न बाँकी छ । सूचना प्रकाशन त्यसपछि आउने प्रस्तावको स्थलगत अनुगमन, छनौट र अनुदानग्राहीसँग सम्झौता गर्न अझै कम्तिमा १ महिना समय लाग्छ । मौसमी खेती गर्ने किसानलाई मध्यनजर गरेर समयमै कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनुपर्ने किसानहरुले बताए । गत वर्ष भन्दा यो वर्ष करिव डेढ करोड बजेट कम बिनियोजन भएको छ । गत वर्ष रुपन्देहीमा आठ हजार चार सय दुई जना किसान अनुदान कार्यक्रमबाट लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको तथ्यांक छ ।