कृषिमा संभावना बोकेको सियारी गाउँपालिका

परिचयः
लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको सियारी गाउँपालिकामा जम्मा ७ वटा वडाहरु छन् । यी वडाहरु तत्कालीन चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा गाविसहरुलाई समावेश गरी निर्माण गरिएको हो । पुर्वमा तिनाउँ नदी र ओमसतिया गा.पा. पश्चिममा दानव नदी पारि गैडहवा गा.पा. उत्तरमा सुद्धोदन गा.पा. र तिलोत्तमा न.पा. दक्षिणमा मायादेवि गा.पा. सीमाना रहेको यो गा.पा. को क्षेत्रफल ६६.१७ वर्ग किलोमिटर रहेको छ । कृषि, पर्यटन र उद्योग एवम् सेवा क्षेत्रले यस गा.पा.को अर्थतन्त्र चलायमान गराएको छ । साथै बैदेशिक रोजगारी पनि प्रमुख आम्दानीको श्रोतको रुपमा रही आएको छ । यसका साथै पछिल्लो समय यस क्षेत्रमा कृषि तथा कृषि पर्यटनको तीब्र रुपमा विकास हुन थालेको छ । त्यसमा पनि माछा पालन, मत्स्य रेष्टुरेन्ट तथा कृषि पर्यटनले यस क्षेत्रको परिचय नै माछा गाउँ बन्न पुगेको देखिन्छ ।
सियारी गिाउँपालिकाको अर्थतन्त्रः
सियारी गाउँपालिकाको अर्थतन्त्रका मुख्य आधार भनेको कृषि, वन, मत्स्यपालन, उद्योग, ग्याँस, पानी, निर्माण, थोक, खुद्रा बजार, होटल, रेस्टुरेन्ट, पर्यटन तथा सेवा क्षेत्र हुन् । पछिल्लो समय कृषि पर्यटनका लागि पनि यो क्षेत्र उर्वर भुमि बन्दै गएको छ । उपयुक्त हावापानी, माटोको बनोट तथा समतल भएको यस गाउँपालिका कृषिको लागि उपयुक्त उर्वर माटो भएको तराईको क्षेत्र भएको हुँदा गाउँपालिकामा अधिकांश घरपरिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि व्यवसायमा संलग्न रहेका छन् । खासगरी माछा पालन, गाई, भैँसी र बाख्रा पालन तथा कुखुरा पालनमा मानिसको संलग्नता बढ्दै गएको छ । यसका अतिरिक्त गाउँपालिकामा सिमेन्ट उद्योग, मील, फर्निचर उद्योग, क्रसर उद्योग आदि उद्योग पनि सञ्चालनमा छन् । यहाँका मानिसहरुले वैदेशिक रोजगारीलाई समेत आफ्नो आम्दानीको श्रोत बनाएका छन् ।

सियारी गाउँपालिकामा कृषिः
नेपालमा कुल जनसंख्याको ५०.१ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् । त्यसै गरी यस क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनको २३.९ प्रतिशत हिस्सा योगदान गरेको छ । ग्रामीण जनताको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्ने भएकाले कृषिलाई महत्वका साथ हेर्ने गरिन्छ । सियारी गाउँपालिका पनि कृषिका लागि निकै उर्वर भुमि मानिन्छ । धान, गहुँ, मकै, तोरी, आलस, मसुरो, चना, केरा, तरकारी, आलु, अदुवा, बेसार यहाँका प्रमुख एवम् सम्भावनायुक्त कृषिजन्य उत्पादनहरु हुन् । सियारी गाउँपालिकामा माछा पालन, गाई, भैँसी, बाख्र पालन, सुँगुर पालन, कुखुरा पालन, केरा एवम् उँखु खेती तथा माहुरी पालनको व्यावसायिक रुपमा विकास हुँदै गएको देखिन्छ । खास गरी कृषि अनुदान, सहुलियतपूर्ण कृषि कर्जा तथा गाउँपालिकाको आर्थिक एवम् प्राविधिक सहयोगका कारण कृषि क्षेत्रको उल्लेख्य विकास हुँदै गएको हो । यति हुँदाहुँदै पनि स्थानीय उत्पादनको बृद्धि र विकास गर्न बजारीकरणतर्फ थप ध्यान दिनुपर्ने देखिन्छ ।

माछा गाउँको रुपमा सियारी गा.पा.
भुमिगत चिसो पानी र उचित हावापानीका कारण सियारी गाउँपालिकाका अधिकांश किसानहरु मछा पालनमा संलग्न देखिन्छन् । कतिपयले सानो पोखरी त कतिपयले व्यावसायिक प्रयोजनका लागि जग्गा लिजमा लिएर नै माछा पोखरीहरु बनाएका छन् । यति मात्र होइन पछिल्लो समय यस क्षेत्रमा ठुलो क्षेत्रफलमा ठूलाठूला पोखरी राखी बोटिङ गराउने, ग्राहकहरु स्वम्ले बल्छी थापी माछा मार्ने सुविधाहरु समेत उपलब्ध गराई मत्स्य पर्यटन व्यवसाय पनि सुरु गरिएको छ । साथै माछाको परिकार मात्र पाइने रोष्टुरेन्टहरु पनि सन्चालनमा ल्याइएका छन् । यही कारणले छेउँछाउँका सहरहरुबाट मत्स्य पर्यटकहरुको बाक्लै आवतजावत हुने गरेको छ । झोल माछा, माछाफ्राइ, माछाको सेकुवा, स्टिम, ब्वाइल, माछा तावा, माछाको मःमः, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिंगर, माछाको छोइला, माछाको सुकुटी, माछाको अचार लायत विभिन्न स्वादिष्ट परिकारले पर्यटकहरुको जिब्रोलाई नै स्वादिष्ट बनाइदिने भएकाले पनि एक पटक आएक पर्यटकहरु फेरिफेरि पनि यस क्षेत्रमा आउने योजनासहित फर्कन्छन् । सियारीमा रेष्टुरेन्टहरुसँगै होमस्टेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । माछा उत्पादन राम्रैसँग खपत भएको छ । यहाँका माछा स्वादिष्ट हुने भएकाले भैरहवा, बुटवल, पाल्पा, चितवन तथा काठमाडौंमा समेत सियारीका माछाको माग बढ्दै गएको छ । यसले एकातिर रोजगारी बढाएको छ भने अर्काेतिर आम्दानी पनि बढाएको छ । साथै सियारीको परिचय पनि माछा गाउँको रुपमा स्थापित बन्दै गएको छ ।

सियारीमा कृषिको सम्भावना र आवश्यकताः
तराई, पहाड र बर्माबाट आएका मानिसहरुको संगमको रुपमा रहेको यो गाउँपालिकामा उर्जावान जनशक्ति छ । मिश्रित समुदायको बसोबास भएको हुनाले पनि यस क्षेत्रको विकासमा सिनर्जी इफेक्ट हुनसक्ने सम्भावना देखन्छ । उर्बर भुमि, भुमिगत जलको उपलब्धता, भैरहवा, बुटवल तथा सीमापरिसम्म बजारको सम्भावना भएकाले सियारी गाउँपालिकाले कृषिको प्रसस्त आशा बोकेको छ । यातायात, सञ्चार, भुमिगत जल, सिचाईं, वित्तीय पहुँच लायतका पुर्वाधारको विकासले सियारीको कृषि क्षेत्रको विकासलाई थप मलजल गरेको छ । यस गाउँपालिकामा कृषिको थप विकास गर्न नविन प्रविधिको प्रयोग गर्दै युवा जनशक्तिलाई कृषिमा आबद्ध गर्नु जरुरी छ ।
सियारी गाउँपालिकामा तुलनात्मक रूपमा हेर्दा पुरुषहरू कृषि पेशाबाट विमुख हुँदै अन्य पेशातर्फ आकर्षित भएको देखिन्छ । कतिपय बैदेशिक रोजगारमा गएकाले जमिनहरु बाँझो रहने प्रवृत्ति पनि बढ्दो छ । कृषि क्षेत्रमा आधुनिकीकरण नहुनु, बजार व्यवस्थाको अभाव हुनु, सिंचाईको सुविधाको अभाव तथा बढ्दो लागतका कारण मानिसहरु यस क्षेत्रबाट विमुख हुँदै गएका पनि छन् । त्यसैले बेलैमा कृषि विकास कार्यक्रमहरुका लागि स्थानीय एवम् प्रदेश सरकारले समेत यस क्षेत्रमा दृष्टि दिई गतिला र सिर्जनशील कार्यक्रमहरु ल्याउनु आवश्यक छ ।
कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै “व्यवसायिक कृषि पेशा अबलम्वन गरौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गर्न व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको ब्यवस्था गरिने कुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको छ । यसका साथै कृषक तथा उद्धमी, आर्थिक विकासका सारथी भन्ने नारालाई साकार बनाउन उब्जाउ जमिन बाँझो नराख्ने नीति अवलम्वनसमेत गरिएको छ । यसरी हेर्दा कृषिलाई गाउँपालिकाले महत्व दिएको देखिन्छ । तर त्यसको लागि युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गराउने, कृषिजन्य उत्पादनको बजार सुनिश्चतता गर्ने र शितभण्डारको व्यवस्था गर्नु अति जरुरी देखिन्छ । प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्दै स्थानीय स्तरमा प्रांगारिक मल उत्पादन उद्योगको स्थापना गर्ने, हाट बजारहरुलाई व्यवस्थित बनाउने, सिचाइको पहुँच बढाउने र कृषिकहरुलाई तालिम तथा विकासको कार्यक्रम संचालन गर्ने गर्नु आवश्यक छ ।

चुनौतिबीच अगाडि बढ्नुपर्ने आवश्यकताः
खुला सीमानाका कारण सुनौली र त्यसको आसपासबाट भन्सार छली भई आउने भारतीय कृषि उत्पादनले यहाँको महँगो उत्पादनलाई चुनौति दिँदै आएको छ । त्यसको चपेटामा सियारी गाउँपालिका नपर्ने कुरै भएन । त्यसैले यस क्षेत्रका किसानहरुलाई थप सुविधा दिनुपर्ने देखिन्छ । एकातिर भन्सारमा कडाइ गर्ने र अर्काेतिर किसानलाई सुविधा दिएर भए पनि कृषिलाई संरक्षण गरिनु जरुरी छ । नत्र दक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि बाहिर जानु र खेतीयोग्य जमिन बाँझो हुँदै जानुले यस क्षेत्रको कृषिलाई थप संकटमा पार्न सक्ने देखिन्छ । रेमिट्यान्स आम्दानीका खातिर हाम्रा जमिन बाँझो हुँदै जाने र त्यही रेमिट्यान्स आम्दानीबाट कृषिजन्य वस्तु आयात गरिने परम्पराले दीर्घकालमा खाद्यसंकट टार्नसक्ने क्षमताको विकास हुन सक्दैन ।
कृषिले खाद्यासंकट टार्ने मात्र होइन निर्यात बढाउने र औद्योगिक क्षेत्रलाई कच्चापद्धार्थ उपलब्ध गराउने भएकाले सियारी गाउँपालिकमा उद्योगको विकास गर्नसमेत कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । त्यसैले अब कृषि क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश एवम् केन्द्रिय सरकारको समेत भुमिकामा वृद्धि गरिनु पर्दछ । यसका लागि कृषिपूर्वाधारको विकासमा जोड, सिँचाइको सुविधा, समयमा कृषि मल, बिउबिजनको व्यवस्था, उचित भण्डारणको व्यवस्था, यातायात शुल्कमा अनुदानको व्यवस्था, कृषिबिमाको सहजता, सहुलियत ब्याजमा ऋृण उपलब्ध गराउनुका साथै श्रम र लगानी सुरक्षाको प्रत्याभूति गराउने गरी नीति तय गर्नुपर्ने देखिन्छ । अर्काे महत्वपूर्ण पक्ष भनेको उत्पादित वस्तुहरुको बजार सुनिश्चितता गर्नुपर्ने जरुरी छ । यसक लागि स्थानीय, प्रदेश एवम् केन्द्रिय सरकारले पनि चासो दिनु आवश्यक छ ।
पछिल्लो समय सियारी गाउँपालिकामा कृषि तथा कृषि पर्यटनको विकास तीब्र रुपमा हुन थालेबाट यसको विकासमा थप नीति तथा कार्यक्रमसहित पहल गर्नुपर्ने जरुरी देखिन्छ । माछा पालन, मत्स्य रेष्टुरेन्ट तथा कृषि पर्यटनले यस क्षेत्रको परिचय नै माछा गाउँ बन्न पुगेको हुँदा माछाका भुर्रा खरिदमा अनुदान, पोखरी निर्माणमा प्राविधिक सहयोग, तालिमको सुविधा, माछाको लागि आवश्यक अन्न खरिदमा छुट दिने र मत्स्य रेष्टुरेन्टहरुलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ । सम्भावना बोकेको सियारी गाउँपालिकालाई नमुना कृषि गाउँको रुपमा परीक्षण गर्दै यसबाट उपर्युक्त आर्थिक विकासको खाका निर्माण गरी अन्य स्थानीय निकायमा समेत विकासको लागि उक्त मोडल प्रयोग गर्न सकिन्छ । यसका लागि अनुसन्धान र विकासमा स्थानीय सरकारको ध्यान जानु जरुरी छ । @ ecosuraj@gmail.com

 

 

© 2024 krishipatra All right reserved