
गुल्मी, साउन ‐ गुल्मीदरबार गाउँपालिका अन्र्तगत अमरअर्बाथोकमा अज्ञात व्यक्तिद्वारा किसानको गोठमै पुगेर भैंसी मारिदिएको छ । गुल्मीदरबार गाउँपालिका ५ भरुवामा शनिबार राती रमेश श्रेष्ठको गोठमा भर्खरै ब्याएको भैंसीलाई टाउकोमा हानेर मारेको स्थानीय पशु प्राबिधिक हरि कँडेलले जानकारी दिएका छन ।
पशु प्राबिधिक कँडेलका अनुसार भैंसीको टाउकोमा हतियारले हान्दा ठूलो प्वाल परेको छ । आईतबार बिहानै गोठमा पुग्दा भैंसी मृत अबस्थामा फेला परेको श्रेष्ठकी श्रीमती भावना श्रेष्ठले बताएकी छन । उनले आफुले सनिबार राती दूध दुहेर घासपात गरेर फर्कदासम्म भैसीलाई केही नभएको बताईन । श्रेष्ठले गोठमै आएर भैंसी मारेपछि आफुहरुलाई समेत सुरक्षाको खतरा बढेको बताएकी छन ।
उनले घरमा श्रीमान नभएको र बुढी सासुसहित दुई छोराछोरी मात्र भएकाले आफुहरु समेत ढुक्क भएर बस्ने अवस्था नभएको बताईन । श्रेष्ठले रातको समयमा घटना भएको हुँदा प्रहरीले राम्रोसँग अनुसन्धान गरेर दोषीलाई चाँडो भन्दा चाँडो पहिचान गर्न आग्रह गरेकी छन ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी चारपालाका प्रहरी सहायक निरीक्षक मीन बहादुर सेनको नेतृत्वमा प्रहरीटोली घटना स्थल पुगेको थियो । प्रहरीले घटनाको अबस्था र प्रकृति हेरेर फर्किएको हुँदा घटनाको बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गाउँघरमा उक्त लैनो भैसीको स्थानीय मुल्य हाल ७० देखि ७५ हजारसम्म पर्ने बताईएको छ ।