तिलोत्तमामा लम्पी स्किन रोग विरुद्ध खोप

बुटवल,  साउन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु गरेको छ । आइतबार तिलोत्तमा–२ तपाह लाइनमा रहेकी कृषक इश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरका मेयर रामकृष्ण खााणले पशुमा लाग्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे । क्षति न्यूनीकरणका लागि रोग लागेका तथा रोग लाग्नुअघि नै नगरभित्र रहेका सबै पशुलाई खोप सञ्चालन गरिएको बताउँदै उनले लम्पी स्किन जस्तै अन्य महामारले निम्तिने समस्याका लागि तयारी अवस्थामा रहनु पर्ने उल्लेख गरे ।

त्यस्तै, उपप्रमुख जगेश्वरदेवी चौधरीले रोग तथा महामारीबाथ हुने क्षति न्यनिकरणका लागि नगरका कृषकहरुलाई अनिवार्य पशु बिमा कार्यक्रममा सहभागी हुन आग्रह गरिन् । राज्यले उपलब्ध गराउने सेवाबाट कोही पनि बञ्चित नहुनेगरी कृषकलाई बिमा कार्यक्रममा सहभागी हुन र आफ्ना पशुहरुलाई आवश्यक पोखका लागि नगरपालिकासँग समन्वय गर्न आग्रह गरिन् ।

नगरपालिकाको पशु शाखाकी डा. उर्जा देवकोटाका अनुसार विशेषगरी गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण बढी देखिएको छ । तिलोत्तमामा रहेका १० देखि १२ प्रशित गाईलाई लम्पी स्किनको संक्रमण रहेको छ । नगरमा करिब ५ हजार २ सय गाई/गोरु रहेका छन् । हालसम्म ८० देखि ९० गाई/गोरु लम्पी स्किनका कारण मृत्यु भएको देवकोटाले जानकारी दिइन् । पहिलो चरणमा कृषकका गोठमा रहेका गाई/गोरुलाई खोप लगाइने छ भने नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि सञ्चालन गरेको गौशालामा समेत खोप अभियान सञ्चालन गरिने छ । तिलोत्तमा नगरपालिकाले नीति कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्ने भनि २० लाख रकम विनियोजन गरेको छ ।

© 2024 krishipatra All right reserved