‘फलफूल र तरकारीमा भ्याट अव्यवहारिक’

बुटवल,  साउन ।- यस क्षेत्रका व्यवसायीहरूले तरकारी र फलफूलमा सरकारले लगाउन लागेको भ्याट अव्यवहारिक भएको बताएका छन् । जनताले दैनिक उपभोग गर्ने तरकारी, आलु, प्याज, फलफूलमा समेत कर लगाउने गरी बजेटमा उल्लेख गरेको यो विषय अव्यवहारिक भएको भन्दै जसको प्रत्यक्ष मार जनतालाई पर्ने बताएका हुन् ।
लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघले बुटवलमा आयोजना गरेको को ‘कर तथा राजश्व सम्बन्धित अन्तरक्रिया कार्यक्रम’ का बोल्दै संघका अध्यक्ष बाबुराम भुषालले सडेर जाने बस्तुमा पनि सरकारले कर लगाउन लागेको भन्दै यसले किसान देखि उपभोक्ता सम्मलाई असर पर्ने बताएका हुन ।
उनले उत्पादन गरेको किसानले स– सानो परिमाणमा उत्पादन गर्ने र बिक्री गर्ने व्यवसायीहरूले सोही किसानबाट संकलन गरी बिक्री वितरण गर्दैै आएको भन्दै जुन कार्य किसान, व्यवसायीहरूको हितमा नभएको बताएका हुन ।

चालु आर्थिक बर्षमा सरकारले आलु तथा प्याज आयातमा अनिवार्य रूपमा अन्तशुल्क (भ्याट) लागू गरेको छ । जस अनुसार स्वदेशमा नै ती बस्तु उत्पादन हुने अपेक्षा सरकारले गरे पनि व्यवसायीहरूले भने जनताले खाने तरकारीमा कर लगाउन नहुने बताउँदै आएका छन् ।
बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले किसानको पक्षमा स्थानीय पालिकाले काम गर्दै आएको बताउँदै स्वदेशमा उत्पादन बढाउनको लागि आग्रह गरिन् । उनले जमिन बाँझो राख्न नहुने यसको लागि सरकारले बाँझो जमिनको उपयोग गर्ने गरी नीति ल्याएको भन्दै सोही अनुसारको कार्ययोजना बनाएमा व्यवसायीहरू, किसानका लागि पनि सहयोग गर्न नगरपालिका तयार रहेको बताएकी थिइन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले कृषिजन्य बस्तु ५० लाख भन्दा माथिको कारोबारमा मात्रै अनिवार्य भ्याटको व्यवस्था गरिएको बताएका थिए ।

उनले स–सानो परिमाणमा उत्पादन गर्ने किसानको लागि भ्याट अनिवार्य नगरिएको भन्दै सोही अनुसार स्वदेशमा नै उत्पादन वृद्धि हुनुपर्ने सरकारको अपेक्षा अनुसार नै कार्यान्वयन गरिएको बताएका थिए ।उनले भने–‘स–सानो किसान लाई यसले असर गर्दैन, यो ठुल ठुला कारोबार गर्ने ५० लाख माथिको कारोबार गर्नेहरूको लागि मात्रै हो, जसले स्वदेशलाई नै राजस्व आम्दानी हुन्छ ।’

चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले किसानको उत्पादनमा अन्तशुल्को प्रावधान नहुनुपर्ने बताए । उनले ससानो परिणाममा किसानले उत्पादन गरेको बस्तुमा भ्याट लगाउनु आफैमा अव्यवहारिक भएको बताएका थिए । उपोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले किसानको समस्या समाधानको लागि सबैजना सरोकारवाला निकायले ख्याल गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदी, राजश्व अनुसान्धन कार्यालय बुटवलका अधिकृत होम पाण्डे, बाणिज्य कार्यालय भैरहवाका अधिकृत लक्ष्मी शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल प्रसाद कसजु, लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका पुर्व अध्यक्ष्इा वजिर शाह, केशव कुँवर, लुम्बिनी थोक बजार प्रालिका अध्यक्ष भिमकान्त पन्थि, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष गोपाल भुषाल, रूपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घमिरे, व्यवसायीहरू नरुद्दीन शाह, प्रकाश पाण्डे, अमृत भट्टराई, प्रदिपक रायन, हाट बजार व्यवसायीका अध्यक्ष टेक बहादुर जिसी, फलफूलका महासचिव मेघराज पौडेल, लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

 

© 2024 krishipatra All right reserved