राष्ट्रिय धान दिवसः कहाँ चुक्यो सरकार

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रुपमा लिइन्छ । यस दिनलाई विगत १८ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ।
 त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि धान दिवस मनाइने गरिन्छ । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । त्यसै गरि नेपालमा पनि कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धानखेती हुँदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि आम किसान माझ अझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।
नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ।
वर्षा याममा हिलाम्य भएको शरीरमा दहि खाँदा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।
यो दिन अधिकांश नेपालीले दहि चिउरा खान्छन् । दहिको महत्व धेरै छ । यो दिन अरु दिनको तुलनामा निकै धेरै दहि खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरुले एक हप्ता अघिबाट दहिको जोहो गरेर राख्दछन् । अघि पछि कहिल्यै दहि नखानेले पनि यस दिन दहि खाने गर्दछन् । दहि नपाइएला भनेर ग्राहकहरु अघिल्लै दिनदेखि नै दहि खरिद गरेर राख्ने गर्दछन् । यस दिन बेलुकापख डेरी पसलहरुमा दहि नपुग हुने गर्दछ ।
यस दिन मानिसहरु दहि चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन् । यस दिन गाउँघरमा पनि सबैले घर घरमा आफैँले दहि जमाएर खाने गर्दछन् । शहरी क्षेत्रमा कसै कसैले आफैं जमाए पनि धेरै जसोले किनेरै दहि चिउरा खाने चलन छ। आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरु गरेर पनि यसको महत्व बढाएको छ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइं महोत्सव भनेर विगत १६ वर्षदेखि माउँदै आइएको छ । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको छ ।
आजभोलि विद्यालयका विद्याथीहरुलाई पनि दहि चिउरा खुवाउने र रोपाईंमा सहभागी गराउने गरिएको छ । यो राम्रो पक्ष पनि हो । पहिले पहिले बाजा बजाएर नाँचगान गर्दै रोपाईं गर्ने चलन थियो । त्यस्तो चलनलाई बेठी लगाउने भनिन्थ्यो । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर आजभोलि यो चलन हट्दै गएको छ ।  यस्ता चलनले निरन्तरता नपाउने हो भने हाम्रो परम्परा लोप हुँदै जान्छ । अब हामीले यसलाई देखावटी मात्र नभई उपलब्धि मुलक बनाउन सक्नुपर्छ । यसले हाम्रो कृषि प्रधान देशमा धेरै ठूलो महत्व राख्छ ।
हामीले कतिपल्ट धान दिवस मनाइयो भन्ने कुरा त्यो ठुलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के पाइयो भन्ने कुराले ठूलो महत्व राख्छ । हाम्रो देशमा सबैभन्दा धेरै उत्पादन हुने भनेकै धान हो । तर अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि धान आयात गर्दैछौं । यो दुःखद कुरा हो । अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्यो । दैनिक सयौं युवा विदेशीने अनि हामी देखावटी यस्ता कार्यक्रम गरिरहनुमा कुनै अर्थ हुँदैन । अब बिदशिएका युवालाई स्वदेशमा कसरी आकर्षीत गर्ने र विदेश जान कसरी रोक्ने भन्ने  कुरा तिर हामी लाग्न आवश्यक छ ।
कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्र मध्येमा दुग्ध क्षेत्र अर्को एक महत्वपूर्ण क्षेत्र हो । अहिले हामी करीब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धानिसकेका छौं । यस्तो अवस्थामा हामी अब कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर लाग्न आवश्यक भइसक्यो । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भनी जुन नाम छ त्यो नामलाई बचाउन लागौं र कृषि क्षेत्रको विकास नभइ अरु कुनै पनि क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन । त्यसैले हामी जसरी भए पनि कृषिका उपजहरु आयात रोकि अब निर्यात तर्फ लाग्न ढिला भइसकेको छ । हामी सबैलाई यस वर्षको असार १५ गतेले यहि शक्ति प्रदान गरोस् । सबैमा हार्दिक शुभकामना ।
अध्यक्ष : नेपाल डेरी एसोसिएसन

© 2024 krishipatra All right reserved