लुम्बिनी प्रदेशमा कृषिका चुनौतिहरु र संभावना

लुम्बिनी प्रदेशको भौगोलिक अवस्था
पूर्वमा पाल्पाको रामपुरदेखि पश्चिममा राजापुरसम्म र उतरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म यो प्रदेश फैलिएको छ । यस प्रदेशको कूल क्षेत्रफल २२,२८८ वर्ग किलोमिटर छ, जुन नेपालको क्षेत्रफलको १५.१ प्रतिशत हुन आउँछ । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ वटा स्थानीय तहहरू रहेका छन । ती स्थानीय तहका ९८३ वडाहरू छन् ।

राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रबाहेक यस प्रदेशको क्षेत्रफल १७,८१० वर्ग कि.मी. रहेको छ । यस प्रदेशको १२ जिल्ला मध्ये दाङको क्षेत्रफल सबैभन्दा बढी (१७.२ प्रतिशत) रहेको छ । त्यसपछिका ठूला जिल्लाहरू बाँके र रोल्पा हुन् । बाँकी अन्य जिल्लाहरूको क्षेत्रफलको हिस्सा १० प्रतिशत भन्दा कम रहेको छ । तराईको समथर भू–भागदेखि भित्री मधेस एवम् पहाडी र हिमाली भूगोल समेटेर बनेको यो प्रदेशलाई भौगोलिक आकार, प्राकृतिक स्रोतको विविधतायुक्त उपलब्धता र मानव सभ्यता एवम् संस्कृतिका दृष्टिले मिनी नेपालको रुपमा हेर्न सकिन्छ ।
यस प्रदेशको ३.१ प्रतिशत भूभाग उच्च हिमाल, ९.१ प्रतिशत उच्च पहाड, ३२.२ प्रतिशत मध्यम पहाड, २७.९ प्रतिशत शिवालिक र २७.६ प्रतिशत तराई क्षेत्र रहेको छ । उचाईका आधारमा ५०० मिटर भन्दा कम उचाई भएको क्षेत्र यस प्रदेशमा ४३.३ प्रतिशत रहेको छ भने ५००–१००० मिटर उचाई भएका क्षेत्र २०.४ प्रतिशत र १००० —२००० मिटर उचाई भएका २४.१ प्रतिशत क्षेत्र रहेको छ । २०००—३००० मिटर उचाई भएको क्षेत्र ७.४ प्रतिशत, ३०००(४००० मिटर उचाई भएको क्षेत्र ३.० प्रतिशत, ४०००—५००० मिटर उचाई भएको क्षेत्र १.६ प्रतिशत र ५००० मिटर भन्दा बढी उचाई भएको क्षेत्र ०.३ प्रतिशत जति रहेको छ ।

प्रदेशमा कृषि भूमि र उपयोगको स्थिति

यस प्रदेशमा ६५५.८२ हजार हेक्टर (२९ प्रतिशत) कृषि भूमि रहेको छ । वन क्षेत्रले १००८.७ हजार हेक्टर क्षेत्र (४५ प्रतिशत) ओगटेको छ ।साथै, बुट्यान ११८.८ हजार हेक्टर (५ प्रतिशत ) भूभागमा रहेको छ भने १३.६ हजार हेक्टर जल क्षेत्र रहेको छ । बाँझो जग्गा १०७.६ हजार हेक्टर रहेको छ जसले कूल भूभागको ५ प्रतिशत ओगटेको छ । आवासले १४ प्रतिशत भूमिको ओगटेको छ । क्षेत्रफलको हिसाबमा सबैभन्दा धेरै कृषि भुमि क्रमश दाङ्ग ( १०६९३४ हे,), कपिलवस्तु (१०४१४१ हे.), रुपन्देही (९९८९४ हे.) र बर्दिया ( ८५८०९ हे.) छ भने सबैभन्दा कम कृषि भुमि रुकुम पुर्व ( ६४८० हे.), रोल्पा ( १६४५८ हे. ) र अर्घाखाची ( २४२९२ हे.) मा रहेको छ । कृषि गणना २०६८ का अनुसार यस प्रदेशमा ६९२,९८२ कृषक परिवार रहेका छन्, जुन नेपालका कूल कृषक परिवार संख्याको १८.१ प्रतिशत हो. यस प्रदेशमा १.६ प्रतिशत किसान परिवार जग्गा नभएका छन्. यस प्रदेशमा एक कृषक परिवारसंग औसतमा ०.७ हेक्टर (१.०३ विघा) जग्गा रहेको देखिन्छ । ७६.५ प्रतिशत कृषक परिवारसंग १ हेक्टरभन्दा कम जग्गा रहेको छ ।

तिनीहरूसंग कूल जग्गाको ५४.९ प्रतिशत रहेको छ । १० हेक्टर भन्दा बढि जग्गा हुने परिवार ०.६ प्रतिशत रहेका छन्् । कृषि गणना २०६८ अनुसार यस प्रदेशमा करीब ५१ प्रतिशत कृषि भूमिमा मात्र सिंचाइ सुविधा पुगेको छ। यस प्रदेशमा साना ठूला गरी कूल ५४१ वटा सिंचाइ प्रणालीमार्फत ३१६ हजार हेक्टर भूमिमा सिंचाइ सुविधा उपलव्ध छ ।
प्रदेशमा कृषि उत्पादनको अवस्था
लुम्बिनी प्रदेशमा कृषि प्रमुख आर्थिक गतिविधिको क्षेत्रको रूपमा रहेको छ । यहाँ प्रमुख खाद्यान्न बालीको रूपमा धान, मकै, गहुँ, कोदो, फापर र जौं उत्पादन हुने गर्दछ । समग्रमा खाद्यान्नं बचत हुने प्रदेशको रूपमा रहे पनि खाद्यान्नको पहुँच समान छैन । यस प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ मा १२,२४,४९७ मे. टन धान, ४,२९,७९२ मे.टन मकै, ५,२८,०८४ मे.टन गहुँ. ११,९८५ मे.टन कोदो र ३३१० मे.टन जौ समेत गरि २२, ०१,८१७ ,मेट्रिक टन खाद्यान्न बाली उत्पादन भएको थियो । बढी धान उत्पादन गर्ने हिसाबले प्रदेशहरूको तुलना गर्दा यो प्रदेश तेस्रो स्थानमा रहेको छ भने मकै उत्पादनमा चौथो स्थानमा रहेको छ । त्यसैगरी गहुँ उत्पादनमा यो प्रदेश दोस्रो र कोदो उत्पादनमा छैठौँ स्थानमा पर्दछ । आर्थिक वर्ष २०७७÷७८ मा लुम्बिनी प्रदेशको ३,०७,१४९ हेक्टरमा धान, १,५४,९४४ हेक्टरमा मकैबाली लगाएको देखिन्छ । खाद्यान्नमा मात्र नभएर नगदे बालीमा पनि लुम्बिनी प्रदेशको उत्पादनको अवस्था राम्रो छ । यस प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ मा ७२,५३१ मे. टन तेलहन र ३,७७,९२२ मे.टन आलु उत्पादन भएको थियो ।

प्रदेशमा ५७,९०० टन तोरी उत्पादन भएकोमा दांग जिल्लामा मात्र २४,४९६ मे.टन तोरी उत्पादन भएको थियो । प्रदेशहरूबिच तुलना गर्दा तेलहन बाली उत्पादनमा यो प्रदेश पहिलो र, आलु उत्पादनमा चौथो स्थानमा पर्दछ ।
कफी खेतीका लागि राष्ट्रिय रूपमा प्रख्यात गुल्मी जिल्लाका अतिरिक्त अर्घाखाँची, पाल्पा र प्युठानमा पनि कफी उत्पादन हुने गरेको छ । आ.ब. २०७७÷७८ मा प्रदेशमा ६१ मेट्रिक टन कफी उत्पादन भएकोमा गुल्मीमा २७ मेट्रिक टन र पाल्पामा १८.५ मेट्रिक टन उत्पादन थियो । मसला बालीमा प्रमुख स्थान ओगट्ने अदुवार बेसार उत्पादनमा समेत लुम्बिनी प्रदेशको उपस्थिति राम्रो छ । गत आर्थिक वर्षमा प्रदेशमा ४२ हजार ६६१ मेट्रिक टन बेसार र १७ हजार ८५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । कपास उत्पादनमा लुम्बिनी प्रदेश अगाडी छ । गत आर्थिक वर्षमा नेपालमा कपासको कूल उत्पादन ( १४७ मे.ट. ) मध्ये १३४ मे.ट. कपास उत्पादन बाके र दांग जिल्लामा मात्र भएको थियो ।
पशुजन्य उत्पादनमा पनि लुम्बिनी प्रदेशको अवस्था राम्रै देखिन्छ । आ.ब. २०७७÷७८ मा यस प्रदेशमा ११८४८२२ गाईगोरु, १२०८१८३ भैसिराँगा, २४१९८८८ बाख्रा र १३७१२८ भेडा पालन गरेको सरकारी तथ्यांक छ । सो वर्ष प्रदेशमा ४९५,८३२ मे.ट दुध ९७,४९३ मे.ट. मासु र १५,६०६ मे. ट. माछा उत्पादन भएको देखिन्छ । पहाडी क्षेत्रमा ऊन उत्पादन र तराइमा अण्डा उत्पादनको अवस्था पनि प्रदेशमा राम्रो देखिन्छ ।
कृषि क्षेत्रमा देखिएका चुनौतिहरु
लुम्बिनी प्रदेशमा सबै किसिमका कृषि उत्पादनका सम्भावनाहरु रहेका छन् । परम्परागत किसिमले उत्पादन गर्दा पनि लुम्बिनी प्रदेशमा खाद्यान्न बचतको अवस्था छ । तर एक दशक यताका कृषिको अवस्था विश्लेषण गर्दा कृषि क्षेत्रमा थुप्रै चुनौतिहरु बढेको देखिन्छ । लुम्बिनी प्रदेशमा कृषि भुमि प्रसस्त भएपनि आवस्यक मात्रामा सिचाईको सुविधा पुगेको छैन । बल्लतल्ल ५१ प्रतिशत कृषि भूमिमा सिचाई पुगेको दावी गरिएपनि अधिकांश सिचाई प्रणालीहरु खोला खहरेमा आधारित भएकोले बाह्रै महिना सिचाई गर्न सकिदैन । बड्कापथ, बबई, सिक्टा जस्ता आयोजनाहरु कहिले पुरा हुनेहुन् भन्ने थाहा छैन । नवलपरासीको कृषिमा कायापलट गर्न सक्ने गण्डक नहर पुरिदै गएकोले सिचाईमा समस्या भएको छ । तिनाउमा आधारित सिचाई प्रणालीहरु अतिक्रमण र प्रदुषणले सिचाईको लागि अयोग्य बनिरहेको छन् । पहाडी क्षेत्रमा नदि माथिका टारहरुमा सिचाई पु¥याउन नसक्दा खेतीपाती गर्न समस्या भएको छ ।

कृषि उत्पादनको लागि चाहिने प्रमुख तत्व मलखाद हो । प्रदेशका पहाडी क्षेत्र र शहर नजिकका ग्रामिण क्षेत्रमा पशुपालन गर्न छोडिएको छ । पशुपालनमा कमि संगै प्रांगारिक मलको कमि र रासायनिक मलको माग बढिरहेको छ । खेतिपातिको बेलामा प्रदेशभरी मलखाद हाहाकार हुने गरेको छ । खुला सिमानाको कारण भारतबाट गुणस्तरहिन रासायनिक मलखाद आउने गरेको छ । यसले किसानको पैसा र माटोको उर्वराशक्तिको बर्बादी निम्त्याएको छ । लुम्बिनी प्रदेशको मुख्य कृषि क्षेत्रको दक्षिण खुला सिमाना छ । यसको फाइदा लिदै भारतबाट सस्तो मुल्यमा कृषि उत्पादन नेपालमा भित्रिने गर्छ । भारतमा उत्पादन लागत कम पर्ने भएकोले नेपाली उत्पादनभन्दा सस्तो हुन्छन, सस्तोमा पाइने उत्पादनसँग नेपाली कृषि उत्पादनले प्रतिष्प्रधा गर्न नसक्दा नेपाली कृषि उत्पादनहरु बिक्रि नभई त्यतिकै नस्ट गर्नुपर्ने बाध्यता समेत छ ।
पछिल्ला वर्षहरुमा कृषि क्षेत्रमा वन्यजतुको असर बढ्दो छ । राष्ट्रिय निकुन्ज छेउछाउ मात्र नभएर वन नजिकका सबै खेतबारीमा वन्यजन्तुले सताईरहेका छन् । वनमा वन्यजन्तुको लागि आहारा र चरणको कमीले गर्दा बाँदर, बदेल, दुम्सी, चितुवा, निलगाई हरिण, खरायो , सुगा जस्ता वन्यजतुहरु खेतबारीमा पसेर किसानका बालिनालिहरु खाने, नष्ट गर्ने घटनाहरु बढिरहेका छन् । कतिपय पहाडी क्षेत्रमा बाँदर र बँदेलको बिगबिगी बढेकोले बालीनाली जोगाउने मुस्कील भएकोले खेतीपाती गर्न छोडिएको छ । दशक अघि लहलह बाली झुल्ने पहाडका खेतबारीहरु अहिले बनमाराका झाडिले भरिएका छन् । तराइका महेन्द्र राजमार्ग चयूछौका खेतबारीमा वन्यजन्तु र छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढेपछी धेरै ठाउमा खेतहरु बाँझो देखिन थालेका छन् । बर्दियामा जंगली हात्तीले गर्दा बाली जोगाउन कठिन भैरहेको छ । पहाडी क्षेत्रमा चितुवा आतंकले गर्दा पशुपालनमा समस्या आइरहेको छ ।

लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा बजारीकरण प्रमुख चुनौती छ । किसानका उत्पादनहरु खरिद गर्ने सरकारी संयन्त्र नेपालमा छैन । भारतीय कृषि उपजले बजार कब्जा गर्दा नेपाली उत्पादनहरुले मुल्य पाउन सकिरहेका छैनन् । नेपालमा कृषि उपजले बजार नपाउदा तराईमा उत्पादन भएको धेरै धान भारत जाने गरेको छ । लुम्बिनी प्रदेशको विशिष्ट उत्पादन बेसार, अदुवा र तेजपत्ता हुन् । यी वस्तुहरुको मुख्य बजार भारत र तेश्रो मुलुक हुन् । भारतले विभिन्न बहाना बनेर अदुवा, बेसार र तेजपत्तालाई भारत निकासीमा अवरोध सिर्जना गरिरहेको देखिन्छ । प्रदेशका हिमाली र उच्च पहाडी क्षेत्रमा जडिबुटी उत्पादन र संकलन हुने गर्छ । यी जडिबुटिहरु भारत निकासी गर्न खोज्दा भारतले समस्या खडा गर्ने गरेको छ । भारतीय व्यवहारले गर्दा कतिपय अवस्थामा ठुलो परिमाणमा नेपाली अदुवा, बेसार, तेजपत्ता र जडिबुटिहरु नेपालकै गोदाममा कुहिएर नस्ट हुने गरेका छन् । कुनै समय लुम्बिनी प्रदेश कपास र उखु उत्पादनमा अब्बल मानिन्थ्यो । धागो कारकाना बन्द भएपछी कपासले बजार नपाउदा कपास उत्पादन घटेको छ र उत्पादित कपासलाई पनि बजारको अभाव छ । प्रदेशका ठुला चिनी कारखानाहरु बन्द भएका र चालु चिनी कारखानाले पनि किसानलाई उँखुको मुल्य नदिदा उखु उत्पादनबाट किसानहरु विमुख हुदैछन ।
पशुपालन कृषिको मुख्य अंग हो । अहिले शहरोंमुख क्षेत्र र पहाडमा पशुपालनमा तिब्र ह्रास आईरहेको देखिन्छ । उच्च पहाडी क्षेत्रमा चरन खर्कहरुको कमि, सामुदायिक वन समुहहरुले चरिचरणमा लगाएको रोक, महँगो दाना जस्ता कारणले पशुपालनमा समस्या आएको छ ।

कृषिमा संभावनाहरु
लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा थुप्रै समस्याहरु रहेपनि कृषि उत्पादनको अवस्था राम्रो छ, यो नै प्रदेशको लागि राम्रो अवसर हो । आ.ब. २०७७÷७८ मा प्रदेशका बासिन्दाहरुलाई आवस्यक पर्ने भन्दा ४ लाख ७५ हजार ४८७ मेट्रिक टन बढी खाद्यान्न उत्पादन भएको थियो । बचत खाद्यान्नलाई कर्णाली, बागमती र गण्डकी प्रदेशमा बेच्न सकेमा किसानहरुलाई बजार र मुल्यको कमि हुदैन । दलहन, तेलहन, फलफुल र तरकारीलाई व्यवस्थित संकलन, प्रसोधन भण्डारण र विक्रिमा राज्यले सहयोग गर्ने हो भने लुम्बिनी प्रदेशका कृषि उत्पादनहरुले देशभित नै पर्याप्त बजार र उत्पादनको सहि मुल्य प्राप्त गर्न सक्छन् ।

लुम्बिनी प्रदेशमा तिनै तहका सरकारहरुले सिँचाईलाई प्राथमिकता दिने बताईरहेका छन् र केही कामहरु पनि भैरहेका छन् । ठुला सिचाई आयोजनाहरु सम्पन्न भएमा तराईको कृषि उत्पादन अझ वृद्धि हुने निश्चित छ । पहाडी क्षेत्रमा साना सिचाई योजनाहरु सम्पन्न हुदैछन, जसले पहाडमा व्यवसायिक खेति गर्नेहरुलाई पक्कैपनि सहयोग पुग्नेछ । करार खेतीमा सहयोग, नमूना ÷ स्मार्ट कृषि गाउ घोषणा, कृषि आधुनिकिकरणमा सहयोग जस्ता कार्यक्रमहरु आइरहेका छन् । यस्ता गतिविधिहरुले लुम्बिनी प्रदेशमा आउदा दिनहरुमा कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तनको आशा गर्न सकिन्छ ।

प्रदेशमा कृषि विविधिकरण देखिएको छ, जुन कृषि क्षेत्रको लागि राम्रो अवसर हो । तराईका धेरै ठाउमा ड्रागन फ्रुटको खेति र पहाडमा किवी खेति फस्टाईरहेको छ । पश्चिम नवलपरासीमा केरा खेति र रुकुममा स्याउ तथा ओखर खेति शुरु गरिएको छ । यसले कृषिमा भविस्य खोज्नेहरुलाई उत्साहित बनाएको छ । सिचाई सुविधा कम भएका गुल्मीका बारिहरुमा तरकारी फालेर बुटवल र काठमान्डौसम्म पु¥याउन थालिएको छ । सडक छेउछाउका पहाडी वस्तीहरुमा उत्पादित तरकारी, फलफुल, कोदो, फापर, सिमि, मह. खसीबोकाहरु तराई र शहरमा पुग्न पाएका छन् । गाउँमै बसेर कृषि कर्म गर्न चाहनेहरुलाई पालिका र प्रदेश सरकारले प्रोत्साहित गर्न थालेका छन् । पाल्पामा उत्पादित खुर्सानी सिधै चाउचाउ उद्योगमा पुग्न थालेका छन् । कृषि क्षेत्रको लागि यो सुखद संकेत हो ।

केही वर्ष अघिसम्म सुनसान र गुमनाम रहेको रुपन्देहीको छपिया अहिले आन्तरिक पर्यटकहरुको रोजाई स्थान बनिरहेको छ । छपियालाई परिचित गराउने काम यहाँका माछा पोखरीहरुले गरेका छन् । माछासंग खेल्दै माछाका परिकार खाने, माछा पोखरीमा रमाउने मानिसहरुको संख्या बढ्दै छ । माछाले उकासेको ग्रामिण पर्यटन अहिले रुपन्देहीको सियारी, सुद्धोधन, तिलोत्तमामा फैलिएको छ । कृषिले पनि पर्यटन विकास गर्छ भन्ने यसले देखाएको छ । दांग पुग्ने मानिसहरु ड्रागन फ्रुटको खेतीपाती हेर्न पुग्छन, पाल्पाको दोभान पुग्नेहरु तेजपत्ता हेर्न रुचाउछन्, पाल्पाकै मित्याल पुग्नेहरुले आकर्षक अम्रिसोघारिमा फोटो खिचाउछन् । दांगको दक्षिणी क्षेत्रमा पुग्नेहरु महुवाको मदिरामा लठ्ठ्न्छिन् । दांगमा पुग्ने नयाँ मान्छेहरुको लागि बँधिया भालेको मासु चाख्नु रहर हुन्छ । पशुपालन र कृषि उत्पादनमा विविधिकरण गर्न सकेमा कृषि क्षेत्रले ठुलो संख्यामा आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न सक्छ । पर्यटकहरुको संख्या बढेमा प्रदेशमा उत्पादित कृषि उपजहरुलाई मुल्य प्राप्त गर्नेछन । अहिले निजि क्षेत्रको पहल र असंगठित रुपमा भैरहेको ग्रामिण पर्यटनलाई व्यवस्थित गर्दै लैजाने, प्रदेशमा विशिष्टीकृत कृषि पकेट क्षेत्रहरु निर्माण गरेर पर्यटकहरुलई त्यहाँसम्म पु¥याउने वातावरण तयार गर्न सकेमा नेपालमा पर्यटकहरुको संख्या, बसाइ र तिनीहरुले गर्ने खर्चको मात्र बढाउँन सकिनेछ. यसबाट कृषि क्षेत्रले मात्र नभएर पर्यटन क्षेत्रले ठुलो लाभ लिन सक्नेछ ।

लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेपनि परपरागत कृषि कर्म, सिचाई र मलखादको अभाव, बजारको अनिश्चितता, वन्यजन्तु समस्या, बसाईसराई जस्ता थुप्रै तत्वहरुले कृषि क्षेत्रमा चुनौतिहरु बढाईरहेका छन् । यी चुनौतिहरु लामो समयसम्म कायम रहेमा प्रदेशको कृषि क्षेत्र कमजोर हुने र कृषि उत्पादनहरु समेत बाहिरबाट ल्याउनुपर्ने अवस्था उत्पन्न हुनेछ ।. यति हुदाहुदैपनि पछिल्लो समयमा लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा आशालाग्दा अभ्यासहरू भैरहेका छन्, पूर्वाधार निर्माण भैरहेका छन् । कृषिलाई गुजरामुखिबाट व्यवसायमुखी र परपरागतबाट उपभोक्तामुखी बनाउन थालिएका प्रयासहरुले व्यापकता र दिगोपन पाएमा लुम्बिनी प्रदेशमा कृषिबाट नै आर्थिक समृद्धिको ढोका खुल्नेछ ।

सन्दर्भ सामग्री
१. लुम्बिनी प्रदेश स्थापनाका तीन वर्ष
२. लुम्बिनी प्रदेश प्रोफाइल
३. लुम्बिनी प्रदेशको प्रथम आवधिक योजना
४. आर्थिक सर्भेक्षण २०७८÷७९
५.STATISTICAL INFORMATION ON NEPALESE AGRICULTURE 2077/78

६.कृषि तत्था पशुपन्छी विकास मन्त्रालयको वार्षिक प्रतिवेदन २०७७/७८

yrkandel@gmail.com

© 2024 krishipatra All right reserved